चितवन- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् ।
मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा उठाउनेहरु पनि प्रशस्तै छन् । लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरु हुन थालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरु बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।
लकडाउनको समयमा आममानिसहरु घरभित्रै बसिरहेका बेला केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रुपाखेतीले बताए ।
उनका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब २ सय जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको छ ।
पक्राउ पर्नेमा एक जना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्ति समेत छन् ।
सुनसानको मौका छोप्दै निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा माछा मार्ने र निकुञ्जमा संरक्षित घासहरु काट्न आउनेहरु बढेको उनले बताए । “लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरुको सङख्या बढेको छ”, उनले भने , “यस्तो शून्य समयमा तस्करहरु समेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौं ।”
लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीन वटा घडियाल गोही मारिएका थिए । निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए ।
गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए । नारायणी र राप्तीमा २ सय ५० वटा घडियाल गोही छन् । गोही प्रजनन् केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्ने गरेको छ ।
बुधवार मात्रै निकुञ्जमा गैडा मृत भेटिएको थियो । “निकुञ्जमा रहेका अधिकांश कर्मचारी कार्यक्षेत्रमै खटिएका छन्”, उनले भने , “चौविसैं घण्टा विशेष निगरानी गरिराखेकै छौं ।”
अहिले विभिन्न गतिविधि बढ्दै गएपछि विभिन्न विधिबाट गस्तीलाई थप सक्रिय बनाएको नेपाली सेनाको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले बताए ।
प्रतिक्रिया