काठमाडौं- आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् ।
विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार ७०८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज विहान ६ बजे देखि अपराह्न ६ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसै गरी ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४ सय ६९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट सबैभन्दा बढि २ हजार २ सय ९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।
प्रतिक्रिया