बार्सिलोना शहरमा शवगृहको दर्दनाक दृश्य | Khabarhub Khabarhub

बार्सिलोना शहरमा शवगृहको दर्दनाक दृश्य


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत १६ वर्षदेखि शवको अन्त्येष्टी गर्ने काममा संलग्न जोर्डी फर्नान्डेजलाई अहिलेको जस्तो कहालीलाग्दो अवस्था देख्नुपर्ला भन्ने लागेकै थिएन । बार्सिलोना शहरमा रहेको उनको अन्त्येष्टी गृह अहिले विरक्तलाग्दो छ ।

अन्त्येष्टीका क्रममा शवलाई ‘शान्ति प्रदान गर्नु’ उनको मुख्य जिम्मेवारी हो । स्पष्ट भन्दा उनको काम अन्त्येष्टी गरिने शवलाई रीतिथितिअनुसार तयार पानु हो ।

अधिकांश शव कोरोना भाइरस अर्थात कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको आउने भएकाले उनले राम्ररी काम गर्न पाएका छैनन् ।

गत मार्च १४ मा संकटकाल घोषणा भएपछि भने अन्त्येष्टी गृहहरूका लागि कडा नियम ल्याइएको छ । कोरोना भाइरस अझ तीब्र गतिमा फैलिने जोखिमलाई ध्यानमा राखेर ल्याइएको नयाँ नियमअनुसार फर्नान्डेजको नियमित काम खोसिएको छ । आफन्तहरूलाई अन्तिम पटक मृतकको अनुहार पनि हेर्ने अवसर पनि छैन ।

अहिले कोरोना भाइरसबाट संक्रमित शव प्लाष्टिकको झोलासहित सिधै कफिनमा राखिन्छ । पहिले फर्नान्डेजले शवलाई निकै धैर्य र सावधानीपूर्वक वस्त्र पहिराइदिएर कफिनमा राख्थे ।

‘म पहिले शवको टाउकोमा सिरानी राखिदिन्थेँ किनकि त्यसपछि सदाका लागि उनीहरूलाई सिरानी चाहिन्थ्यो,’ यति भन्दै गर्दा फर्नान्डेजका आँखाबाट आँशु खसे, ‘यो सब सम्मान र स्नेह दर्शाउने बाटो न हो ।’

अहिले शवगृहमा परिणत गरिएको पार्किङ ग्यारेजबाहिर उभिएका फर्नान्डेज भन्छन्, ‘यस्तो दिन देख्नुपर्ला भनेर कहिल्यै कल्पना गरेको थिइनँ ।’ शवगृहमा परिणत गरिएको उक्त ग्यारेजमा अहिले ५ सयभन्दा धेरै शरीरहरू राखिएका छन् ।

शवदाह गृह र समाधिस्थलहरू खाली नभएका कारण शवगृहका शवहरू उठ्न सकेका छैनन् । शव बिग्रिन नदिन एअर कन्डिसन राख्नुपरेको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसका कारण हालसम्म स्पेनमा करिब १९ हजार जनाको मृत्यु भइसकेको छ । यो संख्या निकै बढी हुनसक्ने फर्नान्डेजको अनुमान छ । उनका अनुसार अरूबेला भन्दा यो समयमा ५ गुणा धेरै शव आइरहेका छन् ।

बुधबारमात्रै क्याटालोनियाका क्षेत्रीय अधिकारीहरूले पहिलोपटक कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शवदाह गृहको आधारमा सार्वजनिक गरे ।

उक्त तथ्यांकअनुसार हालसम्म त्यस क्षेत्रमा कोरोना भाइरससँग सम्बन्धित लक्षणबाट ७ हजार ९७ जनाको मृत्यु भएको छ । यो संख्या यसअघि क्याटालन स्वास्थ्य अधिकारीहरूले जारी गरेभन्दा झण्डै दोब्बर हो । त्यसअघिसम्म कोरोना भाइरसका कारण अस्पताल र नर्सिङ होममा मृत्यु भएकाहरूको मात्र लगत राखिन्थ्यो ।

धेरैजसो अवस्थामा कोरोना भाइरसका संक्रमितहरुमा ज्वरो र खोकीजस्ता अत्यन्त सामान्य लक्षण देखा पर्छन् । खासगरी वृद्धवृद्धा र मुटुको समस्या हुनेहरूलाई भने कोरोना भाइरसले निकै गम्भीर असर पुर्‍याई मृत्युकै मुखमा समेत पुर्‍याउने गर्छ ।

समाधिस्थलहरुमा एउटा शवको अन्त्येष्टी गर्दा तीन जनालाई मात्रै उपस्थित हुन दिइएको छ । फर्नान्डेजका अनुसार अन्त्येष्टीमा सहभागी आफन्तले कफिनभित्रको शव आफ्ना मान्छेको हो कि होइन भनेर छुट्याउन अनुहारसमेत राम्ररी हेर्न पाउँदैनन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका कारण हालसम्म १ लाख ३७ हजार जनाभन्दा धेरैको मृत्यु भइसकेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरू भने यो संख्या अझ धेरै रहेको विश्वास गर्छन् ।

स्पेनका अधिकारीहरूले कोरोना भाइरस महामारी उत्कर्षमा पुगिसकेको विश्वाससहित रोकथामका लागि लकडाउन र अरू खुकुलो पार्न थालेको बेला बार्सिलोनाको शवगृहमा भने शवहरु समाधिस्थल वा शवदाह गृहतर्फ जानेभन्दा पनि आउने शवको संख्या धेरै छ ।

शवदाह गृहमा अन्त्येष्टीको यति ठूलो माग छ कि शहरका सबै ४ वटा शवदाह गृह २४ सै घण्टा खुलै राख्दा पनि धान्न सकिएको छैन । अधिकारीहरू अब अस्थायी समाधिस्थलका लागि जग्गा खोज्ने विकल्पबारे सोच्न विवश छन् ।

समाधिस्थलहरुमा एउटा शवको अन्त्येष्टी गर्दा तीन जनालाई मात्रै उपस्थित हुन दिइएको छ । फर्नान्डेजका अनुसार अन्त्येष्टीमा सहभागी आफन्तले कफिनभित्रको शव आफ्ना मान्छेको हो कि होइन भनेर छुट्याउन अनुहारसमेत राम्ररी हेर्न पाउँदैनन् ।

‘हामीले आफन्तलाई मृतकको अनुहार देखाउन सक्दैनौँ भन्नुपर्दा हाम्रो हृदय नै छियाछिया हुन्छ’ फर्नान्डेज भन्छन्, ‘यो सब महामारी फैलिन नदिनका लागि हो भनेर हामी सम्झाउछौं तर यसलाई स्वीकार गर्न निकै कठिन छ ।’

यो अवस्थामा फर्नान्डेजको पनि अर्को अनुभव पनि छ । उनकी श्रीमतीकी हजुरआमा पनि कोरोना भाइरसले बितिन् । उनीहरूले पनि अन्तिमपटक हजुरआमाको अनुहार हेर्न पाएनन् ।

एअर कन्डिसन जडित ग्यारेजभित्र कारको ठाउँ नेमट्याग सहितका कफिनका बासकले ओगटेका छन् । कर्मचारी पनि व्यस्त देखिन्छन् ।

त्यहाँ गाडीको आवत जावत पनि भइरहेको छ । अस्पताल, नर्सिङ होम, आवासीय क्षेत्र लगायतका ठाउँबाट सेता गाडी आउँछन् । गाडीमा राखिएका शव ग्यारेजमा राखिन्छन् । कहिले काला गाडी आउँछन्, शवलाई उठाएर समाधिस्थल वा शवदाहगृहतर्फ लैजान्छन् ।

फर्नान्डेज र उनका साथीहरू आफ्नो काममा ध्यान दिन सक्दो प्रयास गरिरहेका छन् । कामको बोझ बढेको छ ।

‘हामी हरेक दिन मृत्यु भोगिरहेका छौँ । हामीले यसलाई स्वीकार पनि गरिसकेका छौँ । हाम्रा लागि यो सब सामान्य हो’ उनी भन्छन्, ‘तर जब तपाईं एकछिन सोच्नुहुन्छ हरेक कफिनभित्र एउटा मानिस छ, एउटा परिवार छ, एउटा कहानी छ तब त्यसले तपाईंलाई विचलित बनाउँछ ।’ –एसोसिएटेड प्रेस

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : १० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको