बर्दियामा सीमानाका कडाइ « Khabarhub

बर्दियामा सीमानाका कडाइ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ ।

सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ ।

जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा कडाइ गर्दै हरियो तरकारी, फलफूल, कोइला, तोरी र जंकफुड भित्र्याउने ढुवानीका साधनलाई तत्काललाई रोक लगाइएको प्रशासनले जनाएको छ ।

जिप्रकाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानीमा भइरहेको जाँचलाई थप कडाइ गरी बाँकेतर्फबाट आउने ती वस्तु ढुवानी गर्न तत्काललाई रोक लगाएको हो ।

त्यस्तै लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली सवारी साधन, निर्माण र अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषिमललगायत चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र गर्न पाइने जनाइएको छ ।

बाँके नेपालगञ्ज नाका जोड्ने नगरपालिका, गाउँपालिका र छिमेकी जिल्लामा कोरोना संक्रमित बढेसँगै बर्दियामा उच्च सतर्कता अपनाइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले बताए ।

त्यसैगरी बाँसगढी नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा पर्ने बाँके जोड्ने सीमानाकामा मानखोलाको पुलमा जाँच कडाइ गरिएको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए ।

त्यसै गरी कैलाली जिल्ला जोड्ने सीमानाका, राजापुर नगरपालिकाका सम्पूर्ण नाका सत्तिघाट कर्णालीको पुलबाट आउजाउ कडाइका साथ बन्द गरिएको राजापुर नगर प्रमुख शिव थारुले जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकाले पनि कैलाली जिल्ला जोड्ने बर्दियाको कर्णाली चिसापानी पुल र नगरका सम्पूर्ण नाका कडाइका साथ बन्द गरिएको नगर प्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

मधुवन नगरपालिकाले कोठीयाघाट पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ भने डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारिएको छ ।

त्यस्तै बारबर्दिया नगरपालिकाले बारबर्दिया र मधुवन नगरपालिका जोड्ने कुसुम्माघाटको झोलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । बाँकेबाट हुने आवागमन र ढुवानीमा रोक र सीमानाकामा जाँचमा थप कडाइ गरिएको बर्दियाका प्रजिअ प्रेमनाथ लामिछानेले बताए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपी आएमा त्यसको सूचना नजीकको सुरक्षा वा स्थानीय निकायमा जानकारी दिन सबैसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै कैलाली र भारततर्फका नाकामा कडाइ गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ०५ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन