दुई महिनापछि काममा फर्किन पाउँदा खुसी कामदार « Khabarhub

दुई महिनापछि काममा फर्किन पाउँदा खुसी कामदार



काठमाडौँ । जेठ महिनाको चर्को घाम । हातमा पञ्जा, शिरमा फेटा र मुखमा मास्क लगाएका महिलाहरू वाग्मती नदी किनारमा बगैँचा बनाइरहेका छन् ।

अनुहारमा चिटिचिट पसिना निकाल्दै १२ जना महिला बगैँचामा दुबो मिलाउँदै छन् । दुबो राख्न घाँस काट्ने र खनेर माटो सम्याउने काममा दुई जना पुरुष लागेका छन् ।

लकडाउनका कारण दुई महिना घरमा बसेर काममा निस्किएका हुन् उनीहरू । बज्रयोगिनी नर्सरीले महिला कामदारलाई ब्युटीफिकेशनको काम गर्न आग्रह गरेअनुसार उनीहरू वाग्मती आइपुगेका हुन् ।

वाग्मती कोरिडर अन्तर्गत अहिले गोकर्णबाट गुहेश्वरीसम्म बगैँचा बनाउने काम भइरहेको छ । वाग्मती करिडोरको जिम्मेवारी कालिका र लामा कन्स्ट्रक्सनले पाएका छन् । यसअन्तर्गत बज्रयोगिनी नर्सरीले १४ जना कामदार लगाएर बगैँचा बनाउन थालेको हो ।

नर्सरीले सबै महिला कामदारलाई काममा फर्काएपछि उनीहरूको मुहारमा खुसी छाएको छ । लकडाउनमा पनि सरकारको कोरोनासम्बन्धी मापदण्ड पालना गर्दै वाग्मती ब्युटीफिकेसनको काम गरिरहेकी छिन् जोरपाटीकी सङ्गीता राई ।

कोरोना भाइरस नफैलियोस् भनेर सरकारले देशमा लकडाउन गरेको छ, सबैजना घरभित्रै सुरक्षित बस्नसमेत सरकारले आग्रह गरेको छ तपाईंलाई थाहा थिएन र ?

‘रोगले भन्दा भोकले सताएपछि काम नगरेर के गर्नु !’ लकडाउनका कारण दैनिक काम गरेर खाने मजदुरहरू भोकमारीमा परेको छ,’ सङ्गीताले भनिन्, भनिन्, ‘लकडाउन भनेर के गर्नु घरमा छोराछोरी छन्, तिनीहरूलाई के खुवाउनु ! आफू के खाने ?’

जेठ महिनाको चर्को घाम । हातमा पञ्जा, शिरमा फेटा र मुखमा मास्क लगाएका महिलाहरू वाग्मती नदी किनारमा बगैँचा बनाइरहेका छन्

उमेरले चार दशक पार गरेकी सङ्गीता नर्सरीमा काम गरेर गुजारा चलाइरहेकी थिइन् । देश लकडाउन भएपछि नर्सरी पनि बन्द भयो । करिब दुई महिनामा भान्सामा खानेकुरा सबै रित्तिएको उनको गुनासो छ ।

‘छोरी यसपालि एसईई दिने तयारीमा थिइन्’ उनले निराशाको स्वरमा भनिन्, ‘छोरो होटलमा काम गथ्र्यो, त्यो पनि बन्द भयो ।’

यही बेलामा नर्सरीले काम गर्न बोलायो । सङ्गीतालाई ठूलो राहत पाएको महसुस भयो । उनी वाग्मतीमा काम गर्न आएको दुई साता हुन लागेको छ ।

सरकारले कारोना भाइरस नियन्त्रण गर्न लकडाउन गरे पनि दिनदिनै काम गरेर खाने मजदुरका लागि केही नगरेको मूलपानीकी अप्सरा राईको गुनासो छ । लकडाउन गरेपछि एकपटक राहत दिए पनि त्यसले काम चलेको भोकमारीले सताएको उनको भनाइ छ ।

अप्सराको स्थायी घर खोटाङ हो । लकडाउनको कुरा थाहा पाएपछि उनी घर जान चाहन्थिन् तर सम्भव भए । उनले भनिन्, ‘लकडाउनले घर जान पाइएन, काठमाडौँमा बस्न गाह्रो भइसक्यो ।’कोरोना भाइरसको महामारी रोक्न लकडाउनबाहेक अन्य कुनै विकल्प खोज्न सरकारलाई उनको सुझाब छ ।

‘लकडाउन गरेर मजदुर भोकै छन्, खोइ हेरेको ?’ प्रश्न गर्दै अप्सराले भनिन्, ‘सरकारले राहत दिन सकेन,  हामीलाई रोगको भन्दा भोकको चिन्ता छ ।’

कोरोना लाग्छ भनेर सङ्गगीता, अप्सरा, उनीहरूका साथीहरू दुई महिना घरभित्रै बसे । खानेकुरा सकिँदै गएपछि उनीहरू भोकै मरिने हो कि भनेर डराउन थालेका थिए । काम गर्न बोलाएपछि खुसी भए । जोगिएर काम गर्न पाउँदा उनीहरूको आत्मबल बढेको छ ।

एक जनाले कमाएर परिवार पाल्नुपर्ने अवस्थामा लामो समयसम्म लकडाउन हुँदा ठूलो समस्या भएको उनीहरूको भनाइ छ । मजदुरलाई काम गर्ने बाटो खुलाइदिन सरकारलाई उनीहरूको आग्रह छ ।

‘लकडाउनले देशभर हामीजस्ता मजदुर बेरोजगार बनेका छन्,’ सङ्गीताले भनिन्, ‘कम्तीमा ज्यालामजदुरी गर्ने बाटो खुलाइदिनु पर्‍यो सरकारले ।’

व्यवसाय छोडेर बगैँचामा

गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा बस्ने सन्तोष थापा पनि अहिले वाग्मती ब्युटीफिकेशनको काममा छन् ।

केही वर्षदेखि फर्निचर व्यवसाय गर्दै आइरहेका थापा लकडाउनमा व्यवसाय ठप्प भएपछि वाग्मतीतिर प्रवेश गरेको बताउँछन् ।

‘आफ्नै व्यवसाय छ तर लकडाउनले बन्द भएको साढे दुई महिना हुन लागिसक्यो’ उनले भने, ‘कोठामा पनि कति बस्नु ! काम गर्‍यो भने खाना पनि पाइन्छ भनेर आएको ।’

लकडाउन यसरी लम्बिँदै जान्छ भनेर आफूले नसोचेको र घर फर्कनसमेत नपाएको थापाको भनाइ छ । अब लकडाउन अवधिभर वाग्मतीमा बगैँचा बनाउने काममा खट्ने उनको सोच छ ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : १३ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन