होला त असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण ? « Khabarhub

होला त असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीन साताअघि प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण हुने बताए ।

नेपालमा कोरोना परीक्षणको दायरा कम भएको भन्ने आलोचना खेप्नु परेपछि मन्त्री ढकालले पत्रकारहरूसँग पनि असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर परीक्षण हुने बताएका थिए ।

मन्त्री ढकालको घोषणाअनुसार मन्त्रालय, स्वास्थ्यसेवा विभाग र विभिन्न प्रयोगशालाहरू परीक्षणको दायरा बढाउने प्रयासमा जुटेका छन् । अहिले देशभरका २२ वटा प्रयोगशालामार्फत पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयले असार १२ गते विभिन्न अस्पतालहरूमा थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय समेत गरिसकेको छ ।

तयारी गरिरहेको भने पनि मन्त्रीले भनेअनुसार एकै दिनमा १० हजार नमूनाको पीसीआर परीक्षण हुनेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू नै विश्वस्त छैनन् ।

स्वास्थ्य मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र सैनिक अस्पतालमा प्रयोगशाला स्थापना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालय यी थप प्रयोगशालामा भौतिक पूर्वधार, जनशक्ति व्यवस्थापन र कोरोना परीक्षणका सामग्रीहरूको व्यवस्थापनमा जुटेको जनाइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गर्न दुई साताका लागि स्वास्थ्य सामग्री मौज्दात छ ।

उनले खबरहबसँग भने, ‘हामीसँग अहिले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री छ दैनिक १० हजार परीक्षण चाहिँ स्वाब संकलनको अवस्थाले पनि निर्धारण गर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मन्त्री ढकालको घोषणअनुसार दैनिक १० हजारका दरले पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीव्ररूपमा तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘हामीसँग अहिले २२ वटा ल्याब छन्, अर्को १० वटा ल्याब थप्न कतिपय ठाउँमा तयारी भइरहेको छ ।’

असार १५ गतेदेखि नै दैनिक १० हजार जनाको कोरोना परीक्षण हुनेमा भने प्रवक्ता डा. गौतमलाई नै शंका छ । ‘भोलिदेखि नै त के होला र तर तयारी गर्दैछौँ । कति हुन्छ कोशिस गरौँ,’ उनले भने,’ ‘भोलि १५ गते नै भएन भने पनि केही दिनमा हुन्छ । हामी तयारी गर्दैछौँ ।’

दैनिक ७ हजारभन्दा बढी परीक्षण भएन

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार असार ६ गते ७ हजार ४०६ वटा नमुना पीसीआर विधिबाट परीक्षण भएको थियो । त्यसयता दैनिक बढीमा ६ हजार ८२० र घटीमा ४ हजार ६०१ वटा नमूनाको दैनिक परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार असार ७ गते ६ हजार ८ सय, असार ८ गते ६ हजार १९८, असार ९ गते ४ हजार ९९५, असार १० गते ६ हजार ८२८, असार ११ गते ६ हजार ५४३, असार १२ गते ६ हजार ५३४ र असार १३ गते ४ हजार ६०१ वटा नमूनाको पीसीआर परीक्षण भएको छ ।

डा. गौतमका अनुसार समयमा स्वाब संकलन नहुँदा र सार्वजनिक बिदाको दिन कोरोना परीक्षणको दर कम देखिएको हो । उनले भने, ‘कहिले शनिबार हुन्छ, कहिले स्याम्पल चाहिने ठाउँमा पुगिसकेको हुँदैन, त्यसले गर्दा कम परीक्षण भएको देखिएको हो । त्यसमा म्यानेजमेन्टको पनि कुरा छ । क्यापासिटिको मात्र कुरा गरेर हुँदैन ।’

दैनिक १० हजार नमूनाको पीसीआर परीक्षण भएमा स्वास्थ्य मन्त्रालयले यसअघि बनाएको कोरोना परीक्षणको निर्देशिकामा उल्लेख भएअनुसार परीक्षण हुने डा. गौतमले बताए । उनका अनुसार विदेशबाट आएका, कोरोनाको लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको नमूना परीक्षण हुनेछ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २९ बजे

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता