सगरमाथाको उचाइ चट्टानको मात्रै कि हिउँसहित ! | Khabarhub Khabarhub

सगरमाथाको उचाइ चट्टानको मात्रै कि हिउँसहित !


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाइ टुङ्गो लगाउन नेपाल र चीनबीच छलफल भइरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीका अनुसार सगरमाथाको उचाइ चट्टानका आधारमा मान्ने कि हिउँसमेतका आधारमा मान्ने भन्ने विषयमा दुई देशबीच छलफल भइरहेको छ । हाल मानिएको ८ हजार ८४८ मिटर उचाइ हिउँसहितको हो । हालसम्म संसारले यही उचाइ मानेको छ ।

चीनले चट्टानको मात्र उचाइ ८ हजार ८४४ दशमलव ४ मिटर भनेको छ ।

हिँउसहितको उचाइ मान्नुपर्ने नेपालको मान्यता छ । दुवै देशको सहमति सगरमाथाको उचाइ टुङ्गो लगाउने कामबाहेक चीनसँग कुनै पनि प्रकारको सीमा विवाद नरहेको मन्त्री ज्ञवालीले बताए ।

नेपालले सगरमाथाको उचाइ मापनको काम गरेको छ । हाल डटा प्रोसेसिङको काम भइरहेको उनले बताए । उता चीनले पनि सगरमाथाको उचाइ मापन गरेको छ ।

मन्त्री ज्ञवालीले चीनले नेपालका सात ठाउँमा सीमा मिचेको भनेर हालै आएको समाचारबारे सोमबार राष्ट्रियसभामा बोल्दै उक्त कुरा बताएका हुन् । उनले नेपाल र चीनबीच सीमासम्बन्धी कुनै समस्या नरहेको बताए ।

उनले चीनले नेपालका सात ठाउँमा सीमा मिचेको भन्ने समाचारको ‘कारखाना’ गम्भीरतापूर्वक खोजी भइरहेको बताए ।

उनले कृषि मन्त्रालयको नापी शाखाको ‘प्रतिवेदन’ उद्धृत गरेर आएको उक्त समाचार भ्रामक र दुई देशबीचको सम्बन्धमा असर पुर्‍याउने खालको रहेको बताए ।

उनले कृषि मन्त्रालयले त्यस्तो प्रतिवेदन तयार नपारेको, सीमा विवाद उसको कार्यक्षेत्र नरहेको र मन्त्रालयले नै खण्डन गरिसकेको बताए । परराष्ट्र मन्त्रालयले पनि उक्त समाचारबारे प्रष्ट पारेको उनले बताए ।

चीनले सीमा अतिक्रमण गरेको भन्ने समाचार यही असार १० गते केही सञ्चारमाध्यममा प्रकाशित भएको थियो । भोलिपल्टै कृषि र परराष्ट्र दुवै मन्त्रालयले खण्डन गरेका थिए । कृषि मन्त्रालयले त्यस्तो प्रतिवेदन नै तयार नगरेको जनाएको थियो । परराष्ट्रले पनि सोही कुरा उल्लेख गर्दै चीनसँग सीमा विवाद नरहेको जनाएको थियो ।

मन्त्री ज्ञवालीले उक्त समाचार भ्रमात्मक, गलत र बनावटी रहेको तथा समाजमा अन्योल सिर्जना भएको बताए । उक्त गलत समाचार कहाँको कारखानामा उत्पादन भयो, प्रतिवेदनको स्रोत के हो भन्ने विषयमा गम्भीरतापूर्वक खोजी भइरहेको पनि उनले बताए ।

मन्त्री ज्ञवालीका अनुसार नेपाल–चीन सीमा दार्चुला जिल्लाको टिंकरभन्दा माथि १ नम्बर सीमास्तम्भबाट सुरु हुन्छ । हाल नेपाल–चीन सीमानामा ९८ वटा सीमास्तम्भ छन् । सय वटा स्तम्भ हुने भनिएकोमा ३७ र ३८ नम्बरका स्तम्भ राखिएका छैनन् । अत्यन्त विकट ठाउँ भएकाले र कुनै विवाद पनि नभएकाले यी दुई स्तम्भ नराखिएको हो ।

मन्त्री ज्ञवालीका अनुसार नेपाल–चीन सीमा सम्झौतापछि पहिलोपटक सीमास्तम्भ खडा गर्दा ३३ नम्बरको स्तम्भ पनि राखिएको थिएन । यो स्तम्भ दोस्रोपटकमा राखिएको हो । हुँदै नभएको ३३ नम्बरको स्तम्भ हरायो भन्नु नै गलत हुने उनको भनाइ छ ।

शून्य नम्बरको स्तम्भ भने नेपाल–भारत सीमा विवादका कारणले राख्न नसकेको मन्त्री ज्ञवालीले बताए । शून्य नम्बरको स्तम्भ नेपाल–भारत–चीन त्रिदेशीय बिन्दुमा हुनुपर्छ । भारतसँग सीमा विवाद कायम रहेकाले उक्त स्तम्भ राख्न नसकिएको हो ।

भारतसँग विवाद समाधान भएपछि शून्य नम्बरको स्तम्भ राख्ने उनले बताए ।

सन् १९७९ मा भएको नेपाल–चीन सीमानाको संयुक्त निरीक्षणमा ५७ र ६२ नम्बरका स्तम्भ पनि देखिएका थिएनन् । सन् २००६ को तेस्रो संयुक्त निरीक्षणमा भने यी दुई स्तम्भ पनि फेला परे । मन्त्री ज्ञवालीका अनुसार नेपाल–चीन सीमानामा कुनै विवाद उत्पन्न नहुने गरी जिआइएस प्रणाली लागु निर्णय भएको छ र तयारी भइरहेको छ ।

सन् १९५५ मा चीनसँग दौत्य सम्बन्ध कायम भएपछि दुई देशबीच सीमा निर्धारणको प्रक्रिया अघि बढेको थियो । दौत्य सम्बन्धपछि सीमा सम्झौता भयो र सन् १९६१ मा सीमासन्धिमा हस्ताक्षर भयो । त्यसपछि बनेका प्रोटोकलहरूका आधारमा दुई देशबीच सीमा निर्धारण भई सीमास्तम्भहरू राखिए ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले संसदमा तथ्यका आधारमा छलफल हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले नेपाली मिडियाहरू व्यावसायिक बन्ने क्रममा रहेकोले कहिलेकाहीँ गलत सूचना आउन सक्ने बताए । सूचनाहरू राम्ररी पुष्टि गरेरमात्र समाचार प्रकाशित गर्न पनि उनले सञ्चारमाध्यमलाई आग्रह गरे ।

मन्त्री ज्ञवालीले गोरखाको रुई गाउँमा नेपाल–चीन सीमा निर्धारणकै क्रममा ६० घरले चीनतिर र ४० घरले नेपालतिर बस्न इच्छा गरेअनुसार भएको र चीनले सीमा नमिचेको बताए ।

अर्को एक प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भारतसँग सम्पर्कमै रहेको र कूटनीतिक वार्ताबाटै समस्या समाधान गर्ने मान्यतामा नेपाल रहेको बताए । उनका अनुसार भारतसँगको विवाद कूटनीतिक वार्ताबाटै समाधान हुन्छ, गर्नुपर्छ र गर्नसकिन्छ भन्ने मान्यता र विश्वासमा नेपाल रहेको छ ।

मन्त्री ज्ञवालीले दुई देशबीच कहिलेकाहीँ कुनै विषयमा गम्भीर मतभिन्नता पनि हुन सक्ने तर त्यसले सम्बन्धका सबै आयामहरूमा असर पु¥याउन नहुने मान्यतामा नेपाल रहेको पनि बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३३ बजे

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई

कोशी प्रदेशसभाबाट बजेट पारित, २२ महिनापछि छानिए समिति सभापति

विराटनगर– कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

काठमाडौं- भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ