सरकारको आँखा बल्ल समुदायतिर « Khabarhub

सरकारको आँखा बल्ल समुदायतिर

देशभर ४५ हजार नमुना संकलन गरेर कोरोना परीक्षण गरिँदै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा घर भएका एक बालक बिरामी परे । अभिभावकले १८ महिना उमेरका ती बालकलाई एक निजी अस्पतालमा लगे ।

यसअघि ती बालकको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । चिकित्सकहरूले फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने बताए । अस्पतालहरूले शल्यक्रिया गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्ने गरेका छन् ।

ती बालकको स्वाब लिएर कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो । ती बालक न घरबाहिर निस्केका छन् न त कुनै संक्रमितको सम्पर्कमा थिए । उनमा कसरी कोरोना संक्रमण भयो भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कन्ट्याक्ट ट्रेसिङ टोलीलाई सकस परेको छ ।

यी बालकजस्तै, काठमाडौं उपत्यकामा भेटिएका केही संक्रमितहरूको न ट्राभल हिस्ट्री छ न कोरोनाको लक्षण । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । उपत्यकामा शुक्रबारसम्ममा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यीमध्ये कतिपय विदेशबाट हवाई उद्धारमार्फत नेपाल फर्किएका व्यक्ति छन् । कतिपय काठमाडौंमै रहेकाहरू छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकामा कोरोनाको लक्षण नदेखिएका तर अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुगेकाहरूमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरूमा संक्रमण सरेको स्रोत भने भेटिएको छैन ।

डा.पाण्डेले महाशाखाले समुदायमा परीक्षण सुरु गरेको बताए । ‘काठमाडौं उपत्यकामा केही केसहरू स्रोत नै पत्ता नलागेका पनि छन्,’ डा. पाण्डेले खबरहबसँग भने, ‘यसमा हामीले विशेष निगरानी गर्नुपर्ने देखिएको छ, समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर परीक्षणको काम सुरु गरेका छौँ ।’

उनका अनुसार काठमाडौं उपत्यकामा स्रोत पत्ता नलागेका संक्रमित भेटिएका १२ ठाउँमा एकसय जनाका दरले नमुना संकलन गरी कोरोना परीक्षणको काम भइरहेको छ ।

‘उपत्यकाभित्र संक्रमण देखिएको तर संक्रमितसँग लिंक नभएका १२ स्थानमा नमुना संकलन गरेका छौँ,’ डा. पाण्डेले भने, ‘अहिलेसम्म ६७४ जनाको रिपोर्ट नेगेटिभ आयो, अन्य ठाउँहरूमा पनि नमुना संकलन गरेर गर्दैछौँ, रिपोर्ट आएपछि समुदायमा संक्रमण छ वा छैन भन्न सकिन्छ ।’

डा. पाण्डेका अनुसार समुदायमा संक्रमणको अवस्था अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले देशभर ४५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने काम सुरु गरेको हो । यसअन्तर्गत काठमाडौं उपत्यकामा मात्र ५ हजार व्यक्तिको नमुना संकलन र परीक्षण गर्ने काम बिहीबार सुरु भएको डा. पाण्डेले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्र संक्रमणको स्रोत नभेटिएका स्थानका १२ सय जनाको छुट्टै नमुना संकलन गरिएको छ । कलंकी, चावहिल, कोटेश्वर, जगाते लगायतका स्थानमा एकहजार व्यक्तिको नमुना संकलन भइसकेको छ ।

महाशाखाका सर्भिलेन्स अफिसर महेन्द्रध्वज अधिकारीका अनुसार देशभर ४५ हजारको नमुना संकलन गर्ने लक्ष्यअनुसार उपत्यकामा इपिडिमियोलोजी महाशाखाले जिम्मा पाएको छ । उपत्यकाबाहिर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति (सिसिएमसी) ले संकलन गराउने छ । उपत्यकामा महाशाखाका चार वटा टोली बिहीबारदेखि नै समुदायमा खटिएका छन् ।

काठमाडौं उपत्यकामा करिब २५ स्थानमा दैनिक २ सयदेखि २५० जनासम्मको नमुना संकलन गरी कोरोना परीक्षण सुरु गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार उच्च जोखिमका क्षेत्रका रूपमा जनताको बढी चहलपहल हुने मालपोत र यातायात कार्यालयहरू, बैंक, अस्पताल लगायतका क्षेत्रका काम गर्नेहरूको नमुना संकलन हुँदैछ ।

अस्पतालमा आकस्मिक सेवा र आइसियुमा रहेका बिरामी, क्यान्सर अस्पताल तथा डायलाइसिस सेवा भएका क्षेत्रको नमुना संकलन हुँदैछ ।

अधिकारीका अनुसार एउटा कार्यालयबाट दैनिक ५० देखि ६० जनाको नमुना संकलन गरिनेछ । फ्रन्ट लाइनका कर्मचारी र सेवाग्राही प्राथमिकतामा पर्नेछन् ।

अस्पतालमा आकस्मिक सेवा तथा आइसियुमा काम गर्ने कर्मचारी र बिरामीको नमुना संकलन हुनेछ । क्यान्सर रोगीको उपचार गर्ने र डायलाइसिस सेवा दिने अस्पतालका स्वास्थ्यकर्मी र बिरामीको पनि नमुना संकलन हुनेछ ।

काठमाडौं उपत्यकामा एक सातामा ५ हजार व्यक्तिको नमुना संकलन गरी कोरोना परीक्षण गर्ने अधिकारीले बताए । यसरी गरिएको परीक्षणले उपत्यकामा समुदायमा कोरोना संक्रमणको अवस्था थाहा पाउन सकिनेछ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत