अर्थविदहरू भन्छन् : मौद्रिक नीति सकारात्मक तर अपूरो | Khabarhub Khabarhub

अर्थविदहरू भन्छन् : मौद्रिक नीति सकारात्मक तर अपूरो



काठमाडौं । अर्थविदहरूले नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने खोजेको भए पनि पूर्ण नरहेको बताएका छन् ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना भाइरसबाट सिर्जना भएको प्रभाव न्यूनीकरण गर्ने पहिलो प्राथमिकताअनुसार मौद्रिक नीति आएको बताए । नीतिमा उल्लेख गरिएका कतिपय व्यवस्था पुनरपरिभाषित गर्नुपर्ने देखिएको उनले् बताए ।

क्षेत्रीले भने, ‘प्रभावित क्षेत्रलाई कसरी राहत दिने भन्ने नै छ । कम प्रभावित, मध्यम र अति प्रभावित क्षेत्रलाई भनेर पुनर्तालकीकरण गर्ने व्यवस्था व्यावहारिक छ । सबैलाई एउटै वर्गमा राख्ने हो भने नचाहिनेलाई बढी हुने र चाहिनेलाई कम हुने पनि हुनसक्छ ।’

मौद्रिक नीतिमा भनिएको जस्तो प्रभावित क्षेत्रको वर्गीकरणमा भने समस्या हुनसक्ने उनको भनाइ छ । राष्ट्र बैकले थप गहकार्य गर्न आवश्यक रहेको बताए । उनले भने, ‘२०७७ असार मसान्तसम्ममा तिर्नुपर्ने कर्जाको मिति आगामी असारसम्म पुर्‍याउने भनिएको छ । यो ठिक छ, तर अति प्रभावित, कम प्रभावित को हो भनेर कसले भन्ने हो । कर्जा प्रवाहबारे पनि गृहकार्य गर्नुपर्ने देखिएको छ ।’

पुनर्कर्जाको हकमा मौद्रिक नीतिले लिएको लक्ष्य ठिक देखिए पनि त्यसको कार्यान्वयन गर्ने पाटोमा केन्द्रीय बैंकले थप गृहकार्य गर्नुपर्ने पूर्वगभर्नर क्षेत्रीको भनाइ छ । उनले सबै क्षेत्रलाई सम्बोधन गर्ने भनिएको भए पनि यातायात क्षेत्रको नाम उल्लेख नभएको उनले बताए ।

नेपाल राष्ट्र बैकले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने उद्देश्यसहित आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने केन्द्रीय बैंकको नीतिअनुसारै हुनसक्ने पूर्वअर्थमन्त्री डा. रामशरण महतले बताए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले मौद्रिक नीति सकारात्मक रहेको तर पर्याप्त नभएको बताए । उनले भने, ‘मौद्रिक नीति भनेको आंशिक हो । मौद्रिक नीतिको काम विनिमयमा स्थायित्व, वित्तीय स्थायित्व, आर्थिक वृद्धिदरमा सहयोग र मूल्यवृद्धि नियन्त्रणमा राख्ने हो । यो भनेको मौद्रिक नीतिले गर्न सक्दैन ।’

नेपालबाट बाहिरने पैसा नियन्त्रण गर्ने र नेपालभित्र आउने पैसाल खुकुलो बनाउने मौद्रिक नीतिको उद्देश्य हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि मौद्रिक नीतिले काम गर्न नसकेको अधिकारीको ठहर छ ।

उनले भने, ‘विप्रेषण आउनका लागि प्रोत्साहन गर्नतर्फ मौद्रिक नीतिले काम गर्न सकेको देखिएको छैन । पुनर्कर्जाको विषयमा बजेटले नै भनेको जस्तो छ । केही नीति कर्जाको वर्गीकरण गरेर पछिल्लो महिनाको खराब कर्जालाई खराब कर्जा नभन्ने भनेको छ । यो सकारात्मक छ ।’ उनले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्न पनि यो मौद्रिक नीतिले सहयोग नगर्ने बताए ।

बजेटले लिएको लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल हुन कुल गार्हस्थ उत्पादनभन्दा बढी कर्जा लगानी हुनुपर्ने डा. अधिकारीको भनाइ छ । उनले भने, ‘अहिले जीडीपीको ८४ प्रतिशतमात्रै कर्जा लगानी रहेको छ । सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न अहिलेको जीडीपीभन्दा माथि कर्जा जाने अवस्था हुनुपर्छ ।’

गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा आगामी २ वर्षभित्र कृषि क्षेत्रमा वाणिज्य वैंकहरूको कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको कुल कर्जाको १० प्रतिशत रकम ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने, पर्यटन क्षेत्रमा कर्जा बढाउनुपर्ने, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई वा रोजगारी सिर्जना गर्नेहरूलाई ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

अर्थविद अधिकारीले बैंकहरूको कर्जा प्रवाहका विषयमा केन्द्रीय बैंकले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘भूकम्पका बेलाको कर्जा लगानीको प्रवृत्ति हेर्ने हो भने बैंकले कर्जा दिन चाहेको देखिएन । सहुलियतपूर्ण कर्जाको पनि हात उस्तै छ ।’

मौद्रिक नीतिमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा वाणिज्य बैंकहरूले कम्तिमा ५ सय जनालाई र राष्ट्रिय स्तरका विकास बैंकले ३ सय जनालाई कर्जा प्रवाह गर्नै पर्ने व्यवस्था समेत गरेको छ । एउटै व्यक्तिहरू वा एउटै परिवारबाट सञ्चालित बैंकहरू मर्जर गर्नै पर्ने समेत मौद्रिक नीतिमा भनिएको छ ।

मर्जरपछि अहिले कायम रहेको ६ महिनाको कुलिङ पिरियड नलाग्ने व्यवस्था समेत केन्द्रीय बैंकले मिलाएको छ । २०७७ असारसम्म चुक्ता पुँजीको २५ प्रतिशत बराबरको अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने विद्यमान व्यवस्था संशोधन गर्दै २०७९ सम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ३८ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष