खोला बाइक तार्न हजार तिर्नुपर्ने ! | Khabarhub Khabarhub

खोला बाइक तार्न हजार तिर्नुपर्ने !

३५ किलोमिटरको भाडा हजार


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उनले एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए ।

३५ किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि एक हजार भाडा लाग्ने गर्दछ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै रु ४०० मा जान सकिने ठाउँमा अहिले एक हजार भाडा लिन थालिएको छ । बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा हुने गर्छ ।

खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिएको हुन्छ । सोही दुई किनारका काठको फलेकको सहयोगमा खोला पार गरी पारि रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का विष्णुकुमारी खत्रीले जानकारी दिए । बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबार मात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको छ ।

खोलामा पानीको बहाव बढेसँगै यस सडकमा चल्ने खच्चडहरु समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए । स्थानीय कमल पुनले भने, “यो खोलामा आफूले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।”

बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । १५ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो ।

जाजरकोट–डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नु परेको छ । नलगाड नदी र धुर्मेखोलामा पुल निर्माण नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । नलगाड नदी सानो हुँदा काठको फलेकबाट तरेर जाने यातायातका साधनहरु नदीमा पानीको बहाव बढेसँगै ठप्प भएका छन् ।

धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए । त्यतिमात्र होइन, खलङ्गा–पाँचकटिया सडकखण्ड समेत अवरुद्ध भएको छ । यो सडकखण्डको गाराराङ्सीमा पहिरोले सडक अवरुद्ध भएपछि एक महिनादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायले चासो दिएको छैन । कालीमाटी–बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्रसम्मको सडक भौतिक पूर्वाधार कार्यालयले मर्मतको काम शुरु गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ३९ बजे

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई

प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन