बैतडीमा भेटिए दादुरा रुबेलाका बिरामी « Khabarhub

बैतडीमा भेटिए दादुरा रुबेलाका बिरामी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखा परेको छ ।

पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द- ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो  ।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कताका साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

उनले भने, ‘दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकामा पनि यस्तो लक्षण देखिए नदेखिएका बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन् ।’

दादुरा रुबेलाको सङ्क्रमण देखिएका तीनै जनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप लगाएर पनि दादुरा रुबेला सङ्क्रमण देखिएकाले यस विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘के कति कारणले उक्त रोगको सङ्क्रमण देखियो अध्ययनकै क्रममा छौँ, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन ।’

अहिले जिल्लामा तीन जनामा मात्रै दादुरा रुबेलाको सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि शिशु जन्मेको नौ महिनामा पहिलोपटक र १५ महिनामा दोस्रोपटक दादुरा रुबेला खोप लगाउने गरिन्छ ।

दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिँगान बग्ने, खोकी लाग्नेलगायत लक्षण देखापर्ने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो ।

सङ्क्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यस समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँसु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखापर्छ ।

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्धनका भागमा केही उठेका बिमिरा देखापर्छन् । ती बिमिरा करीब तीन दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् ।

यी बिमिरा पाँच–छ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जीवाणु शरीरमा प्रवेश गरेको सातदेखि १८ दिनभित्रमा लक्षण देखिन थाल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १२ : २२ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा