छोरो नफर्किए पनि पार्क र संग्रहालय हेर्न पाए हुन्थ्यो « Khabarhub

छोरो नफर्किए पनि पार्क र संग्रहालय हेर्न पाए हुन्थ्यो



गोरखा– पच्चीस वर्ष भयो । गोरखाको बारपाक सुलिकोट गाउँपालिका—८, माथिल्लो जराङकी ७० वर्षीया सरीमाया रम्तेलका आँखा अझै ओभाएका छैनन् । हरेक दिन आफ्नो छोराको तस्विर उनको आँखामा आइरहन्छ ।

२०५२ साल फागुन १४ गते स्कुल गएका उनका छोरा दिलबहादुर रम्तेल फर्किएनन् । उनी स्थानीय बह्माचारिणी निम्नमाध्यमिक विद्यालयमा चार कक्षामा पढ्थे ।

तत्कालीन विद्रोही माओवादीले सशस्त्र युद्ध सुरु गरेको १४ दिनमात्रै भएको थियो । विद्यालयका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पक्राउ गर्न प्रहरी विद्यालयमै आइपुग्यो । आफ्ना हेडसरलाई प्रहरीले समाउन खोजेपछि विद्यार्थीहरूले रोक्ने प्रयास गरे ।

प्रहरीले हेडसरलाई लग्यो । विद्यार्थीहरू पछ्याउँदै गए । अलिक पर डिगाम भन्ने ठाउँमा पुगेपछि विद्यार्थीको भिडमै ताकेर प्रहरीले गोली चलायो । गोली लागेर दिलबहादुरको तत्काल मृत्यु भयो । सात कक्षामा पढ्ने अर्का विद्यार्थी रामप्रसाद भट्टलाई पनि गोली लाग्यो । उनी बाँच्न सके ।

दिलबहादुर ११ वर्षका थिए । उनी द्वन्द्वको पहिलो शिकार भए । माओवादीले दिलबहादुरलाई जनयुद्धकै प्रथम शहीद घोषणा गर्‍यो ।

दिलबहादुरलाई न त माओवादी जनयुद्धको बारेमा थाहा थियो, न राजनीति न हेडसरको कुनै कसुर । सशस्त्र द्वन्द्वमा १७ हजार जनाभन्दा बढीको ज्यान गयो । गोरखाका मात्रै १८८ जनाको मारिए, २० जना अझै बेपत्ता छन् ।

अहिले दिलबहादुरका बाबुआमा वृद्धअवस्थामा छन्, बुबा सेते ७६ वर्षका र आमा सरीमाया ७० वर्षकी । बालक छोरा मारिएपछि माओवादीहरूले सेते र सरीमायालाई धेरै सपना देखाए ।

माओवादीको जनयुद्ध सकियो । गोरखाकै माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भए । माओवादीका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री भए ।

सर्वहारा वर्गको मुक्तिको खातिर भएको भनिएको जनयुद्धको सार अझै भेटेका छैनन् रम्तेल दम्पतीले । माओवादीले देखाएको सपना पूरा नभएपछि उनीहरूको मन कुँडिएको छ । जनयुद्ध गरेका माओवादीहरू यतिबेला तितरबितर छन् । ठूलो हिस्सा तत्कालीन नेकपा एमालेमा विलय भयो । अरू चोइटाहरू अस्तित्वविहीन छन् ।

रम्तेल दम्पतीका एक छोरी र तीन छोरामध्ये दिलबहादुर कान्छा थिए । जेठा छोरा अलग्गै बस्छन् । विदेशमा बस्ने माइला छोरा हालैमात्र घर आइपुगेका छन् । कोरोना संक्रमणको जोखिमका कारण १५ दिन क्वारेन्टाइनमा बसेर उनी घर पुगे ।

राज्यले माओवादी द्वन्द्वमा ज्यान गुमाएका शहीद परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेअनुसार रम्तेल परिवारले पनि पायो । अन्य केही शुभचिन्तकहरूबाट फाटफुट आर्थिक सहयोग पनि पाए रम्तेल दम्पतीले ।

हालसम्म आइपुग्दा माओवादीको जनयुद्धका घटनाहरू स्मृति दिवसको औपचारिकतामा सीमित छन् । तत्कालीन माओवादीबाट निर्वाचित बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट भने दिलबहादुरका बाबुआमालाई भेटिरहन्छन् ।

भट्टले पनि जनयुद्धकालमा आफ्ना दुई दिदीबहिनी गुमाएका थिए । उनी आफू शहीद परिवारको भएकाले नभई आफ्नो ‘पर्फर्मेन्स’ का कारणले पार्टीमा जिम्मेवारी पाएको बताउँछन् ।

‘आदर्शवादी कुरा गरेर मात्रै नहुने रहेछ, समग्र राज्यको परिस्थितिले गर्दा सबै कुरा भनेजस्तो नहुने रहेछ,’ भट्ट भन्छन्, ‘निकै ठूलो लक्ष्य लिएर जनयुद्धमा गएका थियौँ तर लक्ष्यमा पुग्न सकेका छैनौँ ।’

समग्र जनताको जीवनस्तर नबढ्दासम्म शहीदहरूले खोजेको कुरा नपुग्ने भट्टको बुझाइ छ । भन्छन्, ‘भौतिक विकासका कुराहरू पनि त्यो स्तरको परिस्थिति नभई जीवनस्तरमा पनि परिवर्तन आउँदैन ।’

विचार र राजनीतिमा खाँरिदै गाउँपालिका अध्यक्ष बन्न पुगेका भट्टलाई झैँ वृद्ध रम्तेल दम्पतीलाई राज्य व्यस्थाका बारेमा के थाहा ! उनीहरूको बालक छोरो अनाहकमा मारियो ।

शहीदप्रतिको दृष्टिकोण पार्टीको कुरामात्र नभई राज्यको नीतिमा भर पर्ने गाउँपालिका अध्यक्ष भट्ट बताउँछन् । अरू शहीद परिवारले भन्दा दिलबहादुरको परिवारले राम्रो सहयोग पाएको उनको दाबी छ । राज्यबाट पाउने सुविधामा कुनै कमी नगरेको उनको भनाइ छ ।

संग्रहालयको पर्खाइमा रम्तेल परिवार

२०७५ फागुन १४ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद समृति पार्क तथा गाउँपालिका कार्यालय शिलान्यास गरे । गोरखाकै नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का सहितको टिम प्रचण्डसँगै हेलिकप्टर चढेर सुलिकोट पुगेको थियो ।

गाउँपालिकाको भवन बन्यो तर पार्क निर्माणले पूर्णता पाएन । दिलबहादुर रम्तेलका नाममा स्मृति पार्क बनाउने भनेर उनको घर नजिकै ९ रोपनी जग्गा खरिद गरी निर्माण थालनी गरिए पनि काम अघि बढेको छैन ।

पार्कबारे गाउँपालिका अध्यक्ष भट्ट भन्छन्, ‘स्मृति पार्क भनेको ठाउँमा बारबेरको काम भयो । डीपीआर तयार गरेका छौँ । संघीय सरकारको पर्यटन साझेदारीको बजेटमा प्रस्ताव पनि गरेका छौँ । बजेट पर्‍यो भने डीपीआर अनुसारको काम गर्ने भनेका छौँ ।’

उनका अनुसार पार्कमा एउटा संग्रहालय हुनेछ जसमा जनयुद्धमा प्रयोग भएका सामग्रीहरू राखिनेछन् । दिलबहादुरको शालिक पनि हुनेछ । रम्तेल दम्पती अब त्यही पार्क र संग्रहालय निर्माणको पर्खाइमा छन् । छोरो त फर्किने छैन तर पार्क र संग्रहालय हेर्न पाए मनमा शान्ति हुने थियो भन्छन् सेते र सरीमाया ।

भूकम्पको केन्द्रबिन्दु

बारपाक सुलिकोट गण्डकी प्रदेशको एतिहासिक तथा प्राचीनतम महत्वको गाउँपालिका हो । यो गाउँपालिकामा साविकका बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझ, लाकुरिबोट, ताकुकोट, पाचखुवा देउराली र पन्द्रुङ गाविस समेटिएका छ ।

२०७२ सालको शक्तिशाली भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक नै थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : १२ बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।