काठमाडौँ— पेभिलियन मिडिया प्रालिले बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफालाई सम्मान गरेको छ ।
राजकुमार खालिफाको टोलीले नेपालका मनास्लु र लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकोमा सम्मान गरेको हो ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पेभिलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठले राजकुमार खालिफालाई सम्मान गरेका हुन् । अध्यक्ष श्रेष्ठले राजकुमार खालिफालाई उपहार प्रदान गरे ।
उक्त अवसरमा राजकुमार खालिफाले अध्यक्ष श्रेष्ठ र पेभिलियन मिडिया प्रालिलाई धन्यवाद दिए ।
राजकुमार खालिफा र उनको टोली यही अक्टोबर १५, बिहान ६ः१० बजे ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेको थियो । यसैगरी राजकुमारको टोली अक्टोबर ३ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा पुगेको थियो ।
बहराइनी राजकुमारको आरोहण टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नगरिक सहभागी थिए । उक्त टोली गत सेप्टेम्बर १६ मा काठमाडौँ आइपुगेको थियो । आरोहण टोलीलाई मिङ्मा शेर्पा र टासी शेर्पासहित ५० जना नेपाली शेर्पाहरूको टोलीले सहयोग गरेको थियो ।
हिमाल आरोहण गर्नुअघि राजकुमार खालिफाको टिम दुई महिना नेपाल बसेको थियो ।
गत अगष्ट ३० मा नेपाल सरकार मन्त्रिपरिषद बैठकले राजकुमार खालिफाको टिमलाई मनास्लु र लोबुचे हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चार्टड उडानबाट नेपाल आउन दिने निर्णय गरेको थियो ।
गत मार्च २४ मा लकडाउन भएपछि नेपालका हिमाल आरोहण गर्न अनुमति पाउने यो नै पहिलो टोली हो ।
प्रतिक्रिया