सैनामैनामा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको तयारी « Khabarhub

सैनामैनामा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको तयारी

भरतपुरमा निर्माणाधीन रङ्गशालासँग नाम जुध्यो



बुटवल – लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको, ठूलो र नमूना क्रिकेट रङ्गशाला बन्ने भएको छ । रुपन्देहीको सैनामैनामा नरपालिकामा यस्तो क्रिकेट रङ्गशाला बन्ने भएको हो । नाम ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ राखिएको छ । सैनामैना नगरपालिका–७, लम्टैयामा करिब १५ बिघा जमिनमा रङ्गशाला बन्न लागेको हो ।

नगरपालिकाले रङ्गशाला निर्माणको काम अघि बढाएको छ । गत वर्ष छुट्याएको ३० लाख रुपैयाँले माटो कटाइ तथा शौचालय र ड्रेसिङ रूम निर्माण भएको छ । यस वर्ष एक करोड रुपैयाँ बजेटमा थप माटो कटाइ, तारबार र डिपिआरको काम भएको छ ।

सैनामैना नगरपालिकाले रङ्गशालाको डिपिआर तयार गरी छलफल चलाएको छ । निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोड रुपैयाँको लागत अनुमान प्रस्तुत गरिएको छ । डिपिआरमा रङ्गशाला ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल हुने जनाइएको छ ।

रङ्गशाला शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किलोमिटर उत्तरमा पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर दक्षिणतर्फ बन्न लागेको छ ।

रङ्गशाला नेपालकै सबैभन्दा ठूलो, ९० यार्डको, हुने नगरपालिकाले जनाएको छ । मङ्गलबार आयोजित छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारको सहभागितामा उक्त रङ्गशाला निर्माण सम्पन्न गर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नेपालकै गौरवको आयोजनाको रूपमा बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्ने पनि प्रदेशसभा सदस्य ढकालको भनाइ छ । खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नजिकै रहेकोले अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न सहज हुने नगरप्रमुख कार्कीको भनाइ छ । उनले यो रङ्गशाला निर्माणबाट नेपालको खेलक्षेत्र विकासमा ठूलो टेवा पुग्ने बताए । बजेट व्यवस्था गरेर यसै वर्ष ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ ।

करिब ६ महिनाको स्थलगत अध्ययनबाट रङ्गशालाको डिपिआर तयार गरिएको सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताए । रङ्गशाला व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष किशोर रानाले निर्माणाधीन रङ्गशाला सम्पन्न हुँदा क्रिकेटको माध्यमबाट सैनामैनाले राष्ट्रमा योगदान पुर्‍याउने विश्वास प्रकट गरे ।

क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर, काठमाडौँका प्रमुख इन्जिनियर सुनिल लम्सालका अनुसार सैनामैना अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्न भौगोलिकरूपले पनि उचित रहेको छ । रूपन्देही जिल्ला क्रिकेट खेलाडीहरुको उर्वरस्थल भएको र अन्तर्राष्ट्रिय विमानस्थल पनि नजिकै भएकोले खेल आयोजना र व्यवस्थापन सहज हुनेछ ।

छलफलमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, खेलाडी र सरोकारवालाहरुको सहभागिता थियो ।

धुर्मुस सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको क्रिकेट रङ्गशालको नाम पनि ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ भनिएको छ । फाउन्डेशनका अनुसार झण्डै साढे २० बिघा जमिनमा निर्माणाधीन यो रङ्गशाला अत्याधुनिक सुविधासम्पन्न र २५ हजार दर्शक क्षमताको हुनेछ ।

भरतपुरमा निर्माणाधीन रङ्गशालासँग नाम मिलेको सम्बन्धमा जिज्ञासा राख्दा सैनामैना नगर कार्यपालिका प्रवक्ता रत्नबहादुर पौडेल खत्रीले मङ्गलबार भएको छलफलमा नामका बारेमा कसैले प्रश्न नउठाएको बताए । उनले गौतम बुद्धको जन्मस्थल रहेकै प्रदेशमा र रुपन्देही जिल्लामै रङ्गशाला बन्न लागेकोले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ नाम राखेको बताए ।

खत्रीका अनुसार रङ्गशालाका लागि जग्गा खोज्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेशनबाट सीताराम कट्टेल लगायतको एक समूह सैनामैना पुगेर जग्गा हेरेको थियो । खत्रीले भने, ‘उहाँहरु (सीतारामसहितको समूह) ले हामी अन्यत्र पनि खोजी गर्दैछौँ, यो ठाउँ पनि राम्रो लाग्यो, पछि आउन सक्छौँ भनेर जानुभएको थियो तर आउनु भएन ।’

उनले नगरपालिकाले आफ्नो पूर्वयोजनाअनुसारै क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाएको बताए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : १४ बजे

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।