मोरङ- मोरङका ६ वटा स्थानीय तहले सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् ।
मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले १५ मंसिरबाट विद्यालयमा पठनपाठन सुचारु गर्ने भएका हुन् ।
मोरङका रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय सोमबारदेखि खुल्ने भएका हुन् ।
मंगलबार ६ वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखबीच विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्ने निर्णय उनीहरूले गरेका थिए ।
कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्नेछन् ।
प्रत्येक विद्यालयले विद्यार्थी–शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने लगायतका सावधानी अपनाइने छ ।
विद्यार्थी र शिक्षकलाई कोरोनाको लक्षण देखिए १४ दिनको लागि बिदामा बस्न लगाउने र पीसीआरपछि मात्रै विद्यालय आउन पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया