“पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन” « Khabarhub

“पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन”


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपर्थ्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्छन्, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पुर्‍याउनुपर्थ्यो ।”

तनहुँको दक्षिणी भेगका रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पुर्‍याउन सकिने भएको छ ।

“अब चाहिँ सहज हुने भयो, गाडीमा २०÷३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ”, मल्लले भने, “दुःखका दिन सकियो ।” मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको बताए । “पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो”, मल्लले भने ।

ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी छन् । “पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुनेभयो ।”

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालीले पाएको थियो । सो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाईपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगकान बासिन्दालाई ठूलो राहत पुगेको बताए । “पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ”, उनले भने, “तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।”

लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । “यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ”, उनले भने, “पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिए । “बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौं”, उनले भने । गाउँपालिकाले अबको गाउँसभाबाट रु ५० लाख बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १ : ५५ बजे

सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं– ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति

एजेन्सी- भारत सरकारले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने चिन्ता

भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ।

‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड !

काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित