तराईमा साना हतियारको बिगबिगी | Khabarhub Khabarhub

तराईमा साना हतियारको बिगबिगी

सानै विवादमा पनि चल्छ गोली



काठमाडौँ– तराईका जिल्लाहरूमा अंशबण्डा, घरझगडा जस्ता सामान्य विवादमा समेत आवेगमा आएर हतियार प्रयोग गरिहाल्ने घातक प्रवृत्ति देखिन थालेको छ । व्यक्तिको हातमा अवैध हतियार पुग्दा समस्या बढ्दै गएको छ । प्रदेश २ का आठवटै जिल्ला खुला सीमानाले भारतसँग जोडिएका छन् ।

गत कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो । गोली हानेर फरार भएका आरोपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली समेत बरामद गर्‍यो ।

गत असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा ड्युटीमा खटिएका प्रहरीमाथि बन्दुकधारी समूहले आक्रमण गर्‍यो । प्रहरीको सावधानीका कारण घटनाबाट मानवीय क्षति हुन भने पाएन । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चारजनालाई अवैध भरुवा बन्दुक, चार राउन्ड गोली र एक थान खुकुरीसहित समात्यो ।

असोज १० गते सप्तरीको तिरहुतमा स्थानीय ५० वर्षीया दायमनदेवी यादवको हत्या भयो। उनको एउटा कान काटिएको र आँखा फोरिएको अवस्थामा शव फेला परेको थियो । घटनाका आरोपितहरू पक्राउ परिसकेका छन् ।

गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो । अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भयो । प्रहरी अनुसन्धानबाट स्थानीय ३६ वर्षीय रामनरेश राउत पटेलसँग सामान्य विवाद भएका कारण उनको हत्या भएको पुष्टि भयो । घटना लगत्तै फरार रामनरेश र उनका सहयोगीलाई प्रहरीले केही दिनपछि नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गर्‍यो ।

केही महिनायता देखिएका यी घटना त केही प्रतिनिधिमूकल मात्र हुन् । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार प्रदेश २ मा ससाना विवाद, आपसी रिसराग, मदिरा सेवनलगायतका कारण हत्या जस्तो गम्भीर प्रकृतिका घटना समेत हुने गरेका छन् ।

प्रवक्ता कुँवर भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा सामान्य घरझगडा, दाइजोको निहुँ अंशबण्डा, लेनदेनजस्ता विषयमा हत्यासम्मको गम्भिर अपराध हुने गरेको देखिएको छ ।’ प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको ४ महिनामा प्रदेश २ मा ज्यान सम्बन्धी ४७२ वटा मुद्दा दायर भएका छन् । यस अवधिमा २५ जनाको त हत्या नै भएको छ ।

प्रदेश २ मा ज्यानसम्बन्धी मुद्दा दर्ताको तथ्याङ्क

प्रदेश २ मा ज्यानसम्बन्धी मुद्दाका घटना हेर्दा प्रत्येक वर्ष बढेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार ८१ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा १ हजार १६६ वटा घटना दर्ता भएका थिए ।

त्यस्तै चालु आर्थिक वर्षको कार्तिकसम्मको तथ्यांक अनुसार ४७२ वटा घटना दर्ता भएका छन् ।

यसबाहेक चालु आर्थिक वर्षको कात्तिकसम्ममा प्रदेश २ मा जबरजस्ती करणी, अपहरण, सङ्गठित अपराध, डाकाचोरी, हतियार खरखजानालगायत गरी कुल २ हजार ३८४ वटा मुद्दा दर्ता भएको तथ्यांक छ ।

प्रदेश २ का जिल्लाहरूमा साना अवैध हतियारले ठूलो समस्या निम्त्याउँदै छ । गाउँघरमा सामान्य विवादमा पनि पेस्तोलको गोली चल्ने गरेको छ । भारतसँगको खुला सीमानाका कारण यस्ता हतियार नियन्त्रण गर्न कठिन हुने सुरक्षा अधिकारीहरू बताउँछन् ।

सामान्य विवादमा गोली प्रहार

प्रहरी अनुसन्धान अनुसार तराईमा सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटना हुने गरेका छन् । घटनामा कटुवादेखि स्वचालित पेस्तोलसम्म प्रयोग हुने गरेको छ । प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘प्रदेश २ का आठवटै जिल्ला भारतसँग सिमा जोडिएका छन् । खुला सीमाका कारण वारिपारिको सहज सम्बन्धले आपराधिक क्रियाकलाप गर्नेहरूलाई सहज बनाएको छ । यसले सुरक्षा चुनौती समेत बढाएको देखिन्छ ।’

जानकारहरूका अनुसार पनि तराईका जिल्लाहरूमा ससाना विवाद, रिसइबी। समान्य छलफलका क्रममा समेत पेस्तोल देखाउने र गोली हान्ने घटना नौलो होइन । नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्द भन्छन्, ‘तराईका जिल्लाहरूमा अवैध हतियारको प्रयोगका कारण हत्याहिंसा जस्ता घटना दोहोरिने गरेका छन् ।’ उनका अनुसार सामान्य झगडा र लेनदेन विवादमा हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा आधुनिक पेस्तोल प्रयोग हुनु डरलाग्दो कुरा हो ।

अवैध हतियार प्रयोग ठूलो समस्या

तराईका जिल्लाहरूमा विगतमा सशस्त्र समूहका नाममा हत्या अपहरण जस्ता थुप्रै घटना देखिएका थिए । जानकारहरूका अनुसार त्यो समयमा अबैध हतियारको प्रयोग ब्यापक रुपमा देखिएको थियो । पूर्वएआईजी चन्द भन्छन्, ‘सशस्त्र समूहबाट त्यो समयमा धेरै अपराधिक गतिविधिहरू भएका थिए । अहिले पनि त्यसको इफेक्टका रुपमा अवैध हतियारको चलखेल दोहोरिरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए । त्यसैगरी अबैध हतियारका घटनामा संलग्न संलग्न ५७ जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा यससम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन् भने २०७७/७८ कात्तिकसम्ममा १० वटा मुद्दा दर्ता भएको तथ्याङ्क छ ।

जानकारहरूका अनुसार पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो । प्रहरी अनुसन्धान अधिकारीहरूका भनाइमा लुकाउन सजिलो भएकाले साना हतियार नियन्त्रण गर्न सहज छैन ।

पूर्वएआईजी चन्द भन्छन्, ‘खुला सीमाका कारण हतियार लुकाउन र ओसार–पसार गर्न सहज हुने भएकाले तराईमा थुप्रै व्यक्तिका हातमा हतियार पुगेको छ । घरघरमा गएर साना अवैध हतियार खानतलासी गर्न कानुनी झन्झट, प्रहरी जनशक्ति र स्रोतसाधानको कमी जस्ता सकिने अवस्था छैन ।’

विज्ञहरूका अनुसार तराईमा अहिले साना हतियारको भयाबह अवस्था नभए पनि बेलैमा नियन्त्रण गर्नु आवश्यक छ । नत्र, कालान्तरमा साना हतियार समग्र सुरक्षाकै लागि ठूलो चुनौती बन्न सक्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ११ : २७ बजे

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ‘ई–लर्निङ सेन्टर’ स्थापना