‘हाई प्रोफाइल’ क्रिकेट प्रशिक्षकको आगमन र नेपालको अपेक्षा | Khabarhub Khabarhub

‘हाई प्रोफाइल’ क्रिकेट प्रशिक्षकको आगमन र नेपालको अपेक्षा



काठमाडौँ– माघदेखि रिक्त रहेको नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्वखेलाडी तथा प्रशिक्षक डेभ वाटमोर आएका छन् । श्रीलंकन मुलका वाटमोर कम्तीमा एक वर्ष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दुई वर्ष नेपाली टोलीलाई नेतृत्व गर्न आग्रह गरिरहेको छ । विश्व क्रिकेटका शक्ति राष्ट्रको प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका उनका लागि नेपाली टीम नयाँ होइन ।

सन् २०१७ मा वाटमोर नेपाल आएका थिए । उनलाई व्याट एन्ड बल फाउन्डेसनले नेपाल बोलाइ २ हप्ता नेपाली टोलीलाई प्रशिक्षण गराएको थियो । तर, मुख्य प्रशिक्षकका रुपमा भने उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।

भारतीय प्रशिक्षक उमेश पटुवालले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट आईसीसी विश्वकप लिग २ को सिरिज काठमाडौंमा खेलाएर विदा भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक जगत टमटाले नेपाली टोली हेर्दै आएका छन् ।त्यसअघि नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा टमटा मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

नेपाली टोलीको अहिलेसम्मकै ‘हाई प्रोफाइल’ प्रशिक्षकको रूपमा  वाटमोरलाई नेपाल ल्याउने क्यानको निर्णयले नेपाली क्रिकेट समर्थकमा खुसी छाएको छ । उनीहरुले खुलेर क्यानको समर्थन गरिरहेका छन् । त्यतिमात्रै होइन बिहीबार क्यानले राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासलाई नेपाली क्रिकेटको म्यानेजर नियुक्त गरेको छ ।

नेपाली क्रिकेट टीम अहिले ‘ट्रान्जीसन फेज’ मा रहेको विश्लेषण हुँदै आएको छ । यहिँबेला क्यानले विश्व प्रशिद्ध प्रशिक्षकलाई नेपाल बोलाउने निर्णय गरेको छ । यसका लागि क्यान धन्यवादको हकदार पक्कै हो ।

यद्यपि टेस्ट राष्ट्रलाई प्रशिक्षण दिएका वाटमोरका लागि भने त्यो भन्दा तल्लो क्रिकेट लेभरको टीमलाई प्रशिक्षण दिनु चुनौतिपूर्ण हुने जानकारहरु बताउँछन् ।

बिहीबारै क्रिकेट म्यानेजर नियुक्त भएका पूर्वकप्तान विनोद दास भन्छन्, ‘क्यानले जसलाई नियुक्त गरेको छ । त्यो हेर्दा सकारात्मक नै देखिन्छ । जे हुनु पर्ने हो त्यही भएको छ । तर, अब काम गर्ने पालो टिमको हो ।’

वाटमोरमात्र नभइ क्यानले गरेका सबै नियुक्ति स्वार्थ भन्दा माथि उठेर भएको निस्कर्ष उनको छ । जुन अपेक्षासहित क्यानले नयाँ नियुक्ती गरेको छ त्यसले ७–८ महिनामा आफूलाई प्रमाणित गर्नु पर्ने चुनौती रहेको बताएका छन् ।

‘अनुभवले काम गर्नेछन् । पछिल्लो केही वर्ष उनी भारतको घरेलु क्रिकेटमा काम गरिरहेका थिए । उनले टेस्ट खेलाडी भन्दा तल्लो स्तको टिमसँग डिल गर्नु पर्ने छ,’ उनले भने, ‘क्यानले आवेदन आएका मध्ये धेरै राम्रो प्रशिक्षक छानेको छ । त्यो स्तरको प्रशिक्षक हाम्रो आवश्यकता हो ।’

नेपाल क्रिकेट टिमले २०२३ सम्मका लागि एकदिवसीय अस्थायी मान्यता पाएको छ । अब यसलाई स्थायीमा परिणत गर्न नेपालले विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्नु पर्नेछ । विश्वकप लिग २ को शीर्ष दुईमा रहन सके नेपालले विवकपको ग्लोबल क्वालिफायर खेल्नेछ भने विश्वकप लिग २ को शीर्ष चारमा रहन सके नेपालको एकदिवसीय मान्यता यथावत रहनेछ ।

६६ वर्षी वाटमोर एसियाली क्षेत्रमा सक्रिय र यस क्षेत्रका श्रीलंका, बंगलादेश र पाकिस्तान जस्ता विश्व शक्ती राष्ट्रलाई प्रशिक्षण दिइसकेका छन् ।

उनकै प्रशिक्षण कालमा श्रीलंकाले सन् १९९६ को आईसीसी विश्वकप जीतेको थियो भने बंगलादेशलाई विश्व क्रिकेटमा अब्बल टीम बनाउन उनको योगदान छ ।

पाका उमेरका उनी अहिले अहिले कत्तीको सक्रिय छन् र उनले नेपाली टोलीलाई कसरी अगाडि बढाउने छन् भन्ने कुराका लागि भने केही समय कुर्नु पर्नेछ ।

निवर्तमान प्रशिक्षक पटवालको पालामा उनले नेपाली टोलीमा धेरै युवा खेलाडीलाई अवसर दिए । जसमा कति खेलाडी टिममा पर्ने र बाहिरिने क्रम चलिरह्यो । टिम सेट नभएको नेपाल जस्तो क्रिकेटीङ राष्ट्रमा उनले कसरी टिम सेट गर्दै अघि बढ्छन् भन्ने चुनौतीको विषय हो ।

वाटमोरका लागि पहिलो सिरिज सम्भवत् ओमानमा हुने आईसीसी विश्वकप लिग २ को ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज हुनेछ ।

यदि त्यसअघि नेपालले कुनै मैत्रीपूर्ण क्रिकेट खेले उनी नेपाल आउनेछन् । वाटमोरले नेपालमा रहँदा मासिक १० हजार अमेरिकी डलर तलब पाउनेछन् । जसमा कर कटौतिसहित हुनेछ । आपसी समझदारीमा पारिश्रमिकका कुरा टुङ्ग्याइएको क्यान स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

नेपाली टिममा दुई पुस्ता अहिले रहेको छ । अब पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर र वसन्त रेग्मीहरुको पुस्ता आफ्नो खेल करियरको उत्तरार्धमा छ ।

नेपाली टोलीको स्वर्ण कालको नेतृत्व गरेका पारस खड्काले अघिल्लो वर्ष कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले कप्तानी पाएका छन् । तर, अब यी खेलाडीहरु कुनै दिन टिम बाहिर रहन गए भने नेपालको कप्तानी कसले गर्छ ? भन्ने पनि छ । तर, अव वाटमोरले नेपाली क्रिकेटको भविष्य खोज्ने विश्वास क्रिकेट क्षेत्रले गरेको छ ।

खेलाडी उत्पादनमा क्यानको अग्रसरता आवश्यक

नेपालले अब एकदिवसिय मान्यता जोगाइ राख्न विश्वकपमा क्वालिफायर हुने वा विश्वकप लिग २ मा शीर्ष चारमा रहनु पर्ने हुन्छ ।

यस्तो अवस्थामा नेपाली टिमले एकै चोट चामत्कारिक प्रदर्शन देखाउनु पर्ने हुन्छ । जुन अहिलको अवस्थामा कठिन रहेको बताउँछन् खेल पत्रकार आदर्श ढकाल ।

‘वाटमोरले खेलाडीमा भयंकर परिवर्तन गर्ने होइनन् । उनले टिममा भएका खेलाडीलाई खेलाउने मात्रै हुन् । खेलाडी हेर्न चाँही ब्याटिङ र बलिङ कन्सल्टेन्ट राम्रो ल्याउनु पर्छ,’ उनले भने, ‘प्रशिक्षकको काम टिमलाई व्यवस्थापन गर्ने हो । उनी आउने वित्तीकै खतरा बनाउँछन् भन्ने हुँदैन ।’

नेपालमा भएका खेलाडीलाई कसरी व्यवस्थापवन गरेर अगाडि बढ्छन् भन्ने नै अहिलेको जिज्ञासाको विषय हो ।

क्यानले युवा खेलाडीहरु जस्तै, कुसल मल्ल, रोहित कुमार पौडेल, सन्दीप जोरा, दिपेन्द्रसिंह ऐरी, आरिफ शेखहरुलाई जतिसक्दो धेरै खेलाएर उनीहरुलाई राम्रो बनाउनमा ध्यान दिनु पर्ने ढकालको भनाइ छ ।

नेपाली क्रिकेटका लागि राम्रो गर्न वाटमोरलाई नियुक्त गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले छोटो प्रतिक्रिया दिँदै भने, ‘नेपाली क्रिकेटलाई अगाडि बढाउन राम्रो मान्छेको खोजिमा थियौं । त्यस्तै, प्रशिक्षक पाएका छौं। जतिसक्दो धेरै खेल खेलाउने कोसिस गर्नेछौं ।’

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ४५ बजे

तिहारभरको मौसम कस्तो रहला ?

काठमाडौं– नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने