चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् स्थानीय « Khabarhub

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् स्थानीय


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत-जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।

वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

उक्त गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने वर्षेनी धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए। उनले भने, ‘हरेक वर्ष मानवीय क्षति नभएको वर्षनै हुँदैन ।’ उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत छ । विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन् । अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या त्यति नै छ ।

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलनसमेत छ । मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ, उनले भने । उनले भने, ‘मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छौं ।’ दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन छ । उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको उनले बताए ।

‘बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन शुरु भएपछि मदिरा चढाउने गरेका छौं’, विकले भने । अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएको बताए । एउटै गाउँमा वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताउँदै उनले फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिने बताए । झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिन्थ्यो । अहिले भने उक्त खानी बन्द छ ।

समुद्री सतहदेखि दुई हजार फिटभन्दा उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो । पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ, स्थानीय बलबहादुर क्षेत्रीले भने, ‘वर्षायामभन्दा हिउँदमा चट्याङ बढी पर्ने भएकाले स्थानीयवासी समस्यामा पर्ने गरेका छन् ।’

वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेको पीडितको गुनासो छ । वर्षेनी चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन् । उनीहरु बसाइँ सरेर स्याङ्जा, पोखरा र नजिकै रहेको स्याङ्जाको घण्टेदेउराली बजारमा गएको स्थानीय रनबहादुर परियारले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ५८ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर