काठमाडौँ– बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शंकर भट्टले किटानी जाहेरी दिएका छन् ।
शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । दिनेशविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने प्रहरीले जनाएको छ ।
दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको २१ माघमा विद्यालयबाट घर फर्कदै गर्दा हत्या भएको थियो ।
आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने भनिए पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कुकुर आउँदैछ भनेपछि भागेका थिए दिनेश
भागरथीको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त १६ वर्षीय दिनेशले प्रहरीको तालिमप्राप्त कुकुरले सुँघेर अभियुक्त पत्ता लगाउँछ भन्ने सुनेपछि भागेको बयान दिएका छन् । घटनामा अनुसन्धान गर्न डिआइजी आफैँ कुकुरसहित आउँदैछन् भन्ने हल्ला सुनेका उनले आफू आत्तिएर गोरु चराउन जंगल गएको प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रहरीको तालिम प्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाउँछ भन्ने सुनेपछि डरले गोरु चराउने बहाना गरेर हिँडेको उनले बताएको प्रहरीले जनाएको छ ।
२ वर्षअघि कञ्चनपुरको भिमदत्तनगरकी निर्मला बलात्कारपछि हत्या प्रकरणमा भएको गल्ती र कमजोरी यस अनुसन्धानमा नदोहोरियोस् भनेर शुरूदेखि नै निकै संयमित भएको प्रहरीले यस घटनामा मिहिन ढंगले अध्ययन गरेको थियो ।
भागरथीको बलात्कारपछि हत्या घटनामा सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनाको तेस्रो दिन माघ २३ गते शुक्रबार आफैँ घटनास्थल पुगेका थिए ।
शुरूको अनुसन्धानमा प्रहरीसमक्ष दिनेशले अनुसन्धान अधिकृतलाई झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक स्वभाव, चिढिने, झर्कने जस्तो व्यवहार देखाएका थिए ।
प्रहरीले क्लोज रिङमा राखेका बखत शुरूमा निडर र आत्मविश्वाससहित बेलेको अभियुक्त क्रमश गल्दै गएका थिए । अनेक प्रमाणसँग पुष्टि भएपछि फागुन ४ गते प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
प्रतिक्रिया