भारतीय क्रिकेटको भार थेग्न सक्ने महारथीहरू | Khabarhub Khabarhub

भारतीय क्रिकेटको भार थेग्न सक्ने महारथीहरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— राष्ट्रिय टोलीको प्रदर्शनलाई आधार मान्दा भारत सबैभन्दा उत्कृष्ट क्रिकेट टोलीको रूपमा नरहन सक्छ ।

उमेर समूहको परिणाम हेर्ने हो भने भारतको शान विश्व क्रिकेटमा उचो रहेको छ । हरेक संस्करणका युथ विश्व च्याम्पियनसिपले भारतमा केही नयाँ आशा जगाउने गरेको छ । यो आशामा थप मद्दत गर्ने काम आईपीएलले गरेको छ ।

परिणाम र उत्कृष्टताको होडबाजीमा जे जस्तो भए पनि क्रेज र बजारमा रहेको प्रभावका कारण भारतीय क्रिकेटको भिन्न पहिचान रहेको छ ।

त्यसो त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) मा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावका कारण भारतीय क्रिकेटप्रति सबैको चासो रहेको छ । यसैबीच अबको भारतीय स्टार को हुने भन्ने पनि सबैको चासो हो ।

भारतीय टोली पछिल्ला तीन यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गर्न सफल भयो । सन् २०१८ को उपाधिधारी भारत सन् २०२० मा भने बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

सन् २०१६ मा भने भारत फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । पछिल्लो संस्करणको उपविजयी टोलीका केही खेलाडी गत इन्डियन प्रिमियर लिग (आइपीएल) मा पनि देखिए ।

रवि विस्नोई पन्जाबबाट खेल्दै राम्रो छाप छाड्न सफल भए । यसैगरी, कात्तिक त्यागीले राजस्थानबाट खेलेर प्रभाव जमाए । सो युवा टोलीका कप्तान प्रियम गर्गले हैदराबादबाट मध्य क्रममा ब्याटिङ गरेका थिए । राजस्थानले यशस्वी जयसवाललाई मौका दिए पनि उनी आइपीएलमा छाउन सकेनन् ।

यो भन्दा अघिल्लो संस्करणका उपाधिधारी भारतीय टोलीका धेरै खेलाडी विश्व क्रिकेटमा छाइसकेका छन् ।

सन् २०१८ मा अस्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको भारतीय युथ टोलीका प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल राष्ट्रिय टोलीमा समेत प्रवेश पाउन सफल भएका छन् । भारतीय क्रिकेटमा अबका दिनमा स्टार बन्नलायक एक खेलाडीको रूपमा उनै हेरिएका छन् ।

पन्जाबका यी खेलाडीले सन् २०१६–१७ को सिजनमा विजय हरारे ट्रफीमा पन्जाबको प्रतिनिधित्व गरेका थिए । सन् २०१७–१८ को रणजी ट्रफीमा सहभागी हुँदै लिस्ट ए डेब्यु गरेका उनी सन् २०१८ मा कलकत्ता नाइट राइडर्समा आबद्ध भए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उपस्थिति सन् २०१८ मै भएको थियो । सन् २०१७ को डिसेम्बरमा उनलाई सन् २०१८ मा हुने युथ विश्वकप क्रिकेटका लागि भारतीय टोलीका कप्तान चयन गरियो । सोही विश्वकपमा ३७२ रन प्रहार गरेका उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि घोषित भए ।

सन् २०१९ मा उनले पहिलो पटक एक दिवसीय शृंखलामा मौका पाएका थिए । न्युजिल्यान्ड विरुद्धको शृंखलाका लागि टोलीमा अटाएका गिलले सोही वर्षको जनवरी ३१ का दिन ह्यामिल्टनमा एक दिवसीय डेब्यु गरेका हुन् ।

त्यसै वर्षको अगस्टमा उनले पहिलो श्रेणीको अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने कान्छो खेलाडीको रूपमा कीर्तिमान कायम गरे ।

१९ वर्ष ३३४ दिनको उमेरमा उनले ब्रायन लारा क्रिकेट एकेडेमीको मैदानमा ‘वेस्ट इन्डिज ए’ विरुद्ध ‘भारत ए’ बाट खेल्दै २०४ रन प्रहार गरेका थिए ।

यसको एक महिनापछि दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा उनी पनि टोलीमा अटाए तर उनले कुनै खेल खेल्न पाएनन् ।

सन् २०१९ को डिसेम्बरमा गिल न्युजिल्यान्ड विरुद्धको खेलमा ‘भारतीय ए’ टोलीका कप्तान घोषित भए । उनी न्युजिल्यान्ड विरुद्धको टेस्ट शृंखलामा टोलीमा अटाए पनि खेल्न पाएनन् । उनले अस्ट्रेलियाविरुद्ध सन् २०२० डिसेम्बर २६ मा खेल्दै टेस्ट डेब्यु गरे ।

शृंखलाको दोस्रो टेस्टमा भारतले जित हात पार्दै कम ब्याक गर्नुमा उनको ठूलो भूमिका थियो । सोही टेस्टको चौथो खेलमा ९१ रन प्रहार गर्दै उनले भारतलाई शृंखला जिताएका थिए ।

शुभमन गिल, टी नटराजन, पृथ्वी शा, वरुण चक्रवर्ती, नवदीप शैनी र ईशान किसन आगामी दिनमा भारतीय क्रिकेटमा स्टार बन्न सक्ने अपेक्षा छ । यी खेलाडीले भारतीय क्रिकेटको शिर उचो बनाएका छन् ।

एउटै टुरमा टेस्ट, एक दिवसीय र टी २० मा डेब्यु गर्ने पहिलो भारतीय क्रिकेटर टी नटराजनलाई पनि आगामी दिनमा स्टार बनेर भारतीय क्रिकेटमा छाउन सक्ने खेलाडीको रूपमा हेरिएको छ ।

सिकर्मी बाबु र सामान्य फास्ट फूड स्टल चलाउने आमाका सन्तान नटराजनले आइपीएलमा हैदरावाद तथा घरेलु क्रिकेटमा तामिल नाडुको प्रतिनिधित्व गर्ने गरेका छन् । यस सत्रको आइपीएलमा सिद्धार्थ कौल र सन्दीप शर्माभन्दा नटराजनलाई प्राथमिकता दिइएकोमा सबैले आश्चर्य मानेका थिए ।

यिनको योर्कर र रिभर स्वीङले सबैलाई आश्चर्यमा पारेको थियो । भारतलाई डेथ ओभरका लागि योग्य बलरको रूपमा उनी गत आइपीएलबाटै उदाएका थिए ।

तामिल नाडुको क्रिकेटका सन् २०१४–१५ को सिजनदेखि उत्तिकै सक्रिय नटराजन सन् २०१७ को आइपीएलमा पन्जाबमा आबद्ध थिए । अर्को सत्र हैदरावादमा पुगेका उनका लागि पछिल्लो संस्करण सम्झन लायक बनेको थियो ।

अक्टोबरमा अस्ट्रेलिया भ्रमणमा गएको भारतीय टोलीले चार अतिरिक्त बलरलाई पनि लगेको थियो । यसमा नटराजन एक थिए ।

टोलीमा रहेका वरुण चक्रवर्ती घाइते भएपछि उनी टी २० टोलीमा समावेश गराइए । नवदीप शैनीले ढाडको चोट बोकेपछि नटराजन एक दिवसीय टोलीमा पनि अटाए ।

२ डिसेम्बर २०२० मा उनले अस्ट्रेलियाविरुद्ध खेल्दै एकदिवसीय डेब्यु गरेका थिए । मार्सन लाबुसांगेलाई आउट गर्दै उनी पहिलो अन्तर्राष्ट्रिय विकेट लिन पनि सफल भई हाले ।

४ डिसेम्बरमा नटराज टी २० डेब्यु पनि अस्ट्रेलियासँग खेलेर नै गरे । पहिलो खेलमा उनले ३० रन खर्चेर तीन विकेट लिए । ३० डिसेम्बरमा उनलाई टेस्ट टोलीमा पनि समावेश गरियो । १५ जनवरी २०२१ मा उनले म्याथ्यु वाडेलाई आउट गर्दै पहिलो टेस्ट विकेट लिए ।

सन् २०१८ को युथ विश्वकपका कप्तान पृथ्वी शालाई अबका नयाँ भारतीय स्टारको रूपमा हेरिएको छ । उनले दिल्लीबाट आइपीएल तथा मुम्बईबाट रण जी ट्रफी खेल्ने गरेका छन् । सन् २०१८ को अक्टोबर ४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका उनले सचिन तेन्दुलकर पछि सबैभन्दा कम उमेरमा टेस्ट शतक प्रहार गर्ने भारतीयको रूपमा कीर्तिमान कायम गरे ।

पृथ्वी डेब्युमा शतक प्रहार गर्ने कान्छा भारतीय पनि हुन् । रणजी ट्रफी र डुलिप ट्रफीमा गरेको प्रदर्शनकै आधारमा उनी सन् २०१८ को युथ विश्वकप टोलीका कप्तान घोषित भए । उनकै नेतृत्वमा फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

सन् २०१८ मा सनसनीपूर्ण प्रदर्शन गरेका कारण ब्रेक आउट स्टारको रूपमा व्याख्या गरिएका उनी खेल भावना विपरीत गतिविधिको आरोपमा सन् २०१९ को जुलाई देखि १५ नोभेम्बरसम्म प्रतिबन्धमा परे ।

सोही वर्षको ३० जुलाई मा उनलाई डोपिङको आरोपमा आठ महिनाको प्रतिबन्ध लगाइयो । उनको कफ परीक्षण शंकास्पद रहेको थियो भने फेब्रुअरीमा शैयाद मुस्ताक अल ट्रफीको समयको मूत्र परीक्षणको रिपोर्टले सबैलाई आश्चर्यमा पारेको थियो । उनको पिसाबमा टर्बुटेलाइनको मात्रा भेटियो । टर्बुटेलाइनको खेलको दौरान र अन्यत्र पनि प्रतिबन्धित छ ।

यो प्रतिबन्धभन्दा अघिका ६ महिना भने उनका लागि यादगार रहे । सन् २०१८ को अगस्टमा उनी इङ्ल्यान्ड विरुद्धको टेस्ट टोलीमा समावेश भए । उनले खेल्न भने पाएनन् । सेप्टेम्बरमा उनी वेस्ट इन्डिजविरुद्धको टेस्ट टोलीमा समावेश भए ।

४ अक्टोबर २०१८ का दिन पृथ्वीले डेब्युमा शतक प्रहार गर्दै आफूलाई भारतीय क्रिकेटका नयाँ स्टारको रूपमा चिनाए । भारतले दोस्रो टेस्ट १० विकेटले जित्यो भने शा म्यान अफ द सिरिज भएका थिए ।

सन् २०२० को ५ फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै एकदिवसीय डेब्यु गरे । सन् २०२० को अन्त्यमा अस्ट्रेलियासँगको टेस्टमा भने उनले कमजोर प्रदर्शन गरेका थिए । जीवनका यी आरोह र अवरोहका बाबजुद उनी एक प्रतिभाशाली ब्याट्सम्यान भएको कुरा सबैले स्वीकार्ने गर्ने गरेका छन् । उनले दिल्लीलाई आइपीएलको फाइनलमा प्रवेश गराउँदै नेतृत्व क्षमता पुष्टि गरिसकेका छन् ।

ड्रामा र आर्किटेक इन्जिनियरिङलाई समेतसँगै लगेका वरुण चक्रवर्ती गत संस्करणको आइपीएलबाट उदाएका अर्का स्टार हुन् ।

सन् २०१८–१९ को विजय हरारे ट्रफीमा तामिल नाडुको प्रतिनिधित्व गर्दै उनी लिस्ट ए क्रिकेटमा देखिएका थिए । उनी नौ खेलमा २२ जनालाई सिकार बनाउँदै सो सिरिजमा छाएका थिए । रणजी ट्रफीमा उनले तामिलनाडुबाटै खेलेर फस्ट क्लास डेब्यु गरे ।

सन् २०१८ को आइपीएलमा वरुण पन्जाबमा आबद्ध भए । २७ मार्च २०१९ मा कलकत्ता विरुद्ध खेल्दै उनले आइपीएल डेब्यु गरेका थिए । सुनील नारायण छाएपछि वरुणले २५ रन खर्चिए । डेब्युमा एकै ओभरमा त्यति धेरै रन खर्चिने यो खराब कीर्तिमान उनको नाममा रहेको थियो ।

कलकत्ताबाट भने सन् २०२० मा उनको प्रदर्शन उत्कृष्ट रहेको थियो । न त लेगस्पिनर न त अफस्पिनको रूपमा रहेको उनको बलिङ कलाले सबैलाई आश्चर्यमा पारेको छ । यसपछि उनलाई मिस्ट्री स्पिनरको रूपमा समेत चिनिन थालियो ।

दिल्लीविरुद्धको एकै खेलमा वरुणले २० रन खर्चेर ५ विकेट समेत लिए । यसपछि अस्ट्रेलियाविरुद्धको टी २० शृंखलाका लागि उनी छनोट भए पनि चोटका कारण खेल्न पाएनन् । इङ्ल्यान्डविरुद्ध जारी टी २० का लागि उनी छनोट भए पनि पूर्ण फिट नभएका कारण पहिलो खेल गुमाएका छन् ।

सन् १९८८ मा शुरू भएको यु–१९ क्रिकेटले १३औँ संस्करण पूरा गरिसकेको छ । यो संस्करणमा भारतले सबैभन्दा धेरै चार पटक उपाधि जितेको छ । यसैगरी, अस्ट्रेलियाले तीन र पाकिस्ताने दुई पटक उपाधि जितेका छन् ।

इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बङ्गलादेशले एकएक पटक उपाधि जितेका छन् । भारत तीन पटक फाइनलमा प्रवेश गरिसकेको छ ।

पछिल्ला तीन संस्करणमै फाइनल प्रवेश गरेका कारण अबको भारतको राष्ट्रिय टोलीका बारे धेरैको चासो बढेको हो । युवा विश्वकपको यो उत्कृष्ट परिणामकै कारण भारतमा एकपछि अर्को स्टारको उदय हुने सम्भावना संसारले देखेको हो ।

विगतमा युवा विश्वकपमै उत्कृष्ट प्रदर्शन गरेका ऋषभ पन्त राष्ट्रिय टोलीमा पनि छाए । तर, सरफराज खान र मायंक डगार भने युवा विश्वकपमा छाए पनि त्यसपछि भने त्यति सफल देखिएनन् ।

मतलब, भारतीय राष्ट्रिय टोलीको जर्सी भिरेर अन्तर्राष्ट्रिय क्रिकेटमा छाउन उनीहरू असमर्थ रहे । यो क्रम ईशान पोरेलमा पनि केही हदसम्म देखियो । युवा विश्वकप विजयी टोलीका यी बलरलाई आइपीएलमा पन्जाबले बेन्चमा नै राखेको थियो ।

उल्लेखित खेलाडीबाहेक नवदीप शैनी र ईशान किसन पनि आगामी दिनमा भारतीय क्रिकेटमा स्टार बन्न सक्ने खेलाडीका रूपमा हेरिएका छन् ।

सन् २०१८ कै युवा विश्वकप टोलीका सदस्य शिवं माभी र कमलेश नगरकोटीले गत संस्करणको आइपीएलमा कलकत्ताबाट खेल्दै प्रभाव जमाए । यसका साथमा अन्य थुप्रै युवा क्रिकेटर राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका छन् ।

भविष्यको बारे ठोकुवा गर्नु पक्कै कठिन हो । तर, शुभमन गिल र टी नटराजन लगायतले भारतीय टोलीमा स्थान जमाउँदै नयाँ संरचनामा भारतीय क्रिकेटलाई लैजाने छन् । अब बन्ने टोलीको संरचना नै शायद सन् २०२३ को विश्वकप क्रिकेटसम्म रहनेछ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ४० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई