यी खेलाडी जसको नाममा दक्षिण एसिया गर्व गर्छ | Khabarhub Khabarhub

यी खेलाडी जसको नाममा दक्षिण एसिया गर्व गर्छ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वनाथन आनन्द, सचिन तेन्दुलकर, मेरी कोम या ध्यान चन्द; दक्षिण एसियाली खेलकुदमा सर्वकालीन उत्कृष्ट व्यक्तित्व को हो ?

यो प्रश्नको जवाफ त्यति सजिलो छैन । त्यसो त इमरान खान, सनथ जयसुर्या, सुशान्तिका जयसिंघे, हसिम खान र जहाँगिर खान लगायत अनेकन् स्टारका आफ्नै फ्यान थिए । आजका दिनमा पनि यिनका खेलबाट लालायित हुनेहरू छन् ।

परन्तु, लामो समय आफ्नो खेलमा जगजगी मच्चाएका यी चार खेलाडीले नै शायद दक्षिण एसियाली खेलकुदका तिन उत्कृष्ट खेलाडीको कोटीमा आफूलाई लामो समय उभ्याउन सक्नेछन् ।

सन् १९६९ मा तामिलनाडुमा जन्मिएका आनन्द सन् १९८८ मा भारतका पहिलो ग्रान्डमास्टर बनेका थिए । उनी सन् २००६ मा २८०० रेटिङ पार गर्दै यो सफलता पाउने चौथो खेलाडी थिए । यस अघि क्रामेनिक, भासेलिन टोपोलोभ र गेरी कास्पारोभले यो सफलता पाएका थिए ।

यो सफलताभन्दा अघि नै आनन्द सन् २००२ मा विश्व च्याम्पियन भइसकेका थिए । एलेक्सी सिरोभलाई ६ खेलको शृंखलामा हराउँदै उनी पहिलो पटक विश्व च्याम्पियन भएका हुन् ।

यसपछि सन् २००७ मा भ्लाडिमिर क्रामेनिक, सन् २०१० मा भासेलिन टोपोलोभ तथा सन् २०१२ बोरिस गेलफान्दलाई हराउँदै आनन्द विश्व च्याम्पियन भएका थिए ।

सन् २०१३ मा म्याग्नस कार्लसनसँग पराजित हुँदै उपाधि गुमाएका आनन्दले अर्को वर्ष पनि क्यान्डिडेट प्रतियोगितामा सफलता पाउँदै कार्लसनसँगको भिडन्त त पक्का गरे तर उनी दोस्रो पटक पनि हारे । बरियता क्रममा उलटपुलट चेस खेलमा स्वाभाविक मानिन्छ । उनको हकमा पनि शीर्ष बरियता गुमाउने र पाउने क्रम कायम रह्यो । यस क्रममा उनी सबैभन्दा धेरै शीर्ष बरियतामा टिकेको २१ महिना हो ।

छिटो चेस खेल्ने खेलाडी भएका कारण बाल्यकालमा आनन्दको छवि र्‍यापिड खेलाडीका रूपमा थियो । उमेर पाको बन्दै गएपछि उनले आफूलाई क्लासिकल खेलाडीको रूपमा परिणत गरे । सन् २००३ र सन् २०१७ मा उनले फिडे र्‍यापिड चेस च्याम्पियनसिपको उपाधि जिते ।

उनले सन् १९९१–९२ मा भारतको सर्वाधिक प्रतिष्ठित राजीव गान्धी खेल रत्न अवार्ड जिते । सन् २००७ मा उनलाई भारतीय नागरिकले पाउने दोस्रो ठूलो अवार्ड पद्म भूषण प्रदान गरियो ।

चेस बोर्डका जीवनबाहेक आनन्दका अन्य थुप्रै विषय विवादित पनि बने । उनका कतिपय कामका त्यतिकै प्रशंसित पनि भए ।

सन् २०१० मा आनन्दले ओलम्पिक गोल्डक्वेस्ट स्थापना गरे । युवा खेलाडीहरूका लागि पथ प्रदर्शक बन्ने योजनाका साथ यो स्थापित भएको हो । सन् २०१० मा गुजरात विश्वविद्यालयमा उनी अतिथिको रूपमा पुगेका थिए । जहाँ एकै पटक २०४८६ खेलाडीको खेल भएर कीर्तिमान कायम भएको थियो ।

राजनीतिक चलखेलभन्दा टाढा रहने भएका कारण कारण आनन्द विवादमा आएनन् । यसैको प्रतिफल हो कि उनका प्रतिस्पर्धीका रूपमा रहेका क्रामेनिक, कास्पारोभ र कार्लसन नै सन् २०१० को विश्व च्याम्पियनसिपको तयारीमा उनका सहयोगी बनेका थिए ।

सबै चेस खेलाडीका माझ लोकप्रिय आनन्द ‘टाइगर अफ मद्रास ’को रूपमा चिनिन्छन् । ८० को दशकमा टिनएजमै रहँदा भारतीय चेसमा सनसनी फैलाएका आनन्दका लागि सन् ९० को दशकमा संसारका हेर्न लायक खेलाडी भइसकेका थिए ।

सन् १९९८ को फिडे साइकलमा उत्कृष्ट प्रदर्शन गर्दै आनन्द पहिलोपटक विश्व च्याम्पियनसिपको उपाधिनजिक पुगेका थिए । एन्तोनी कार्पोभसँगको खेलमा ३–३ को बराबरी भएपछि र्‍यापिडमा आनन्द पराजित भएका थिए ।

सन् २००० को दशकदेखि विश्व स्तरीय प्रतियोगितामा छाएका आनन्दको ओलम्पियाडमा उपस्थिति र प्रदर्शनका कारण धेरै भारतीयको असन्तुष्टि नभएको होइन । उच्च फर्ममा रहँदा भारतीयसँग सामिप्य नभएको आरोप उनीमाथि लागे पनि दक्षिण एसियाको शीर्ष खेलकर्मीको कोटीमा इतिहासले उनलाई सम्झने छ ।

आनन्दभन्दा चार वर्षपछि जन्मिएका सचिन रमेश तेन्दुलकर १०० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने संसारका एकमात्र क्रिकेटर हुन् । साथै उनी एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि हुन् ।

१५ नोभेम्बर १९८९ मा तेन्दुलकर पहिलो पटक टेस्ट टोलीमा समावेश थिए । १६ वर्षको उमेरमा उनले पाकिस्तान विरुद्धमा टेस्टमा खेल्ने अवसर पाएका थिए । उनले २४ वर्ष भारतको राष्ट्रिय टोलीमा तथा घरेलु प्रतियोगितामा मुम्बईको प्रतिनिधित्व गर्दै बिताए ।

सन् २००२ मा सचिन एलन बोर्डरपछिको दोस्रो उत्कृष्ट टेस्ट ब्याट्सम्यान तथा भिभियन रिचर्डसन पछिको दोस्रो उत्कृष्ट ब्याट्सम्यानमा सूचीकृत गरिए । उनी छैटौँ पटक विश्वकपमा सहभागी भएपछि सन् २०११ मा भारत उपाधि जित्न सफल भयो ।

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको थियो । यसै प्रतियोगितामा सचिन ‘म्यान अफ द सिरिज’ भएका थिए ।

सचिनले सन् १९९४ मा अर्जुन अवार्ड पाएका थिए । उनी सन् १९९७ मा खेल रत्न अवार्ड, सन् १९९९ मा पद्मश्री तथा सन् २००८ मा पद्म भूषण अवार्ड पाउन सफल भए । सन् २०१३ को १६ नोभेम्बरमा अन्तिम खेल खेलेको केही घण्टापछि नै भारतीय सरकारले उनलाई भारत रत्न प्रदान गर्ने निर्णय गरेको थियो ।

सचिन सन् २०१० मा क्रिकेटर अफ द इयर अवार्डसहित गेरी सोर्बर्स ट्रफी जित्न सफल भएका थिए । उनी सन् २०१२ मा भारतको माथिल्लो सदन राज्यसभाका लागि चयन भएका थिए ।

सन् २०१२ मै उनी विना सैन्य पृष्ठभूमिको पहिलो व्यक्तिको रूपमा इन्डियन एयर फोर्सको ग्रुप क्याप्टेन घोषित गरिए । सोही वर्ष उनी ‘अर्डर अफ अस्ट्रेलिया’ का मानार्थ सदस्य भए ।

सन् २०१० मा टाइम म्यागेजिनले संसारका १०० प्रभावकारी व्यक्तिको सूचीमा सचिनलाई पनि समावेश गरेको थियो । सन् २०१२ को डिसेम्बरमा उनले एक दिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । सन् २०१३ को अक्टोबरमा उनले टी २० क्रिकेटबाट पनि सन्यास घोषणा गरे ।

१६ नोभेम्बर २०१३ मा आफ्नो व्यक्तिगत दुई सयौँ टेस्टको रूपमा वेस्टइन्डिजविरुद्ध सहभागी हुँदै सचिनले खेलाडी जीवनलाई पूर्ण विराम लगाए । उनले ६६४ अन्तर्राष्ट्रिय खेलमा कुल ३४ हजार ३५७ रन प्रहार गरे ।

सन् १९७३ मा महाराष्ट्रका मराठी उपन्यासकार तथा कवि रमेश तेन्दुलकर तथा बिमा कम्पनीमा काम गर्ने रजनीका छोराका रूपमा जन्मिएका सचिन नामकरण सङ्गीतकार सचिनदेव बर्माबाट प्रभावित हुँदै गरिएको थियो ।

सचिन बाल्यकालमा झगडालु स्वभावका थिए । टेनिस खेल्न रुचाउँथे । सन् १९८४ मा दाजु अजित मार्फत सचिन चर्चित क्रिकेट प्रशिक्षक रमाकान्त आर्चेकरको सामिप्यमा पुगे ।

पहिलो परीक्षणमा प्रशिक्षक वाक्क भए पनि अजितको अनुरोधमा सचिनले अर्को मौका पाए । यसपछि उनी उक्त एकेडेमीमा आबद्ध भएका थिए ।

प्रशिक्षक आर्चेकर सचिनको प्रतिभाबाट प्रभावित हुँदै गएपछि क्रिकेटमय वातावरण भएको श्रद्धाश्रम विद्या मन्दिरमा भर्ना गर्न सल्लाह दिए । सचिन भने न्यु इङ्लिस स्कुलमा पुगे । बिहान र बेलुका भने उनले अर्चेकरसँग प्रशिक्षण गरी रहे ।

सचिन १४ वर्षको उमेरमा रणजी ट्रफीको टोलीमा रहे पनि उनले खेल्न पाएनन् । अर्को वर्ष गुजरातसँगको खेलमा शतक प्रहार गरेपछि उनका सफलताका दिन सुरु भएका थिए ।

संसारमै डरलाग्दो मानिएका फास्ट बलिङ मानिएको पाकिस्तान विरुद्धको सुरुवाती टेस्टमा वकार युनिसबाट १५ रनमा आउट भएका सचिन यसै शृंखलामा चोट पनि बोक्न पुगे । यसका बाबजुद क्रिजमा डटीरहे ।

यसपछि पेसावरमै २० ओभरको प्रदर्शन खेल भएको थियो जहाँ उनले १८ बलमा ५३ रनमात्र प्रहार गरे । यसमा अब्दुल कादिरको एकै ओभरमा प्रहार गरिएको २७ रन पनि समावेश थियो । सुरुवाती केही खेलमा दबाबमा रहेका सचिन एकाएक ९० को दशकमा संसारकै हेर्न लायक खेलाडी भइसकेका थिए ।

संसारमै प्रभाव जमाउने पहिलो दक्षिण एसियाली खेल व्यक्तित्व भने ध्यानचन्द थिए । भारतले सन् १०२८ देखि १९६४ का बीच भएका ८ ओलम्पिकमध्ये ७ मा हक्कीको स्वर्ण पदक जितेको थियो । यसमा सन् १९२८, सन् १९३२ र सन् १९३६ को टोलीमा ध्यानचन्द सबैभन्दा प्रभावशाली खेलाडी थिए ।

हक्कीका जादुगरको नामले चिनिने ध्यानचन्दमा बललाई नियन्त्रणमा राख्ने कला गजबको थियो । उनले १८५ खेलमा ५७० गोल गरेका थिए । सन् १९५६ को पद्म भूषण पाएका उनकै जन्म दिन पारेर २९ अगस्टको दिन भारतमा प्रत्येक वर्ष राष्ट्रिय खेल दिवस मनाइन्छ ।

सन् १९०५ मा सामान्य परिवारमा ध्यानचन्दको जन्म भएको थियो । राजपूत परिवारका यिनका बाबु सेनाका जागिरे भएका कारण यिनको बाल्यकाल बाबुसँगै बितेको थियो । सानोमा कुस्तीमा रुचि भएका उनी सेनामा जागिरे भएपछि हक्की खेल्न सुरु गरेका थिए ।

सन् १९२६ मा आर्मी टिममा छनोट हुँदै उनी न्युजिल्यान्ड खेल्न जाने भारतीय टोलीमा रहेका थिए । भारतका लागि संयोग नै मान्नुपर्छ कि ध्यानचन्दको उदय हुनु र ओलम्पिकमा हक्की समावेश हुनु एकै पटक भएको थियो । सन् १९२८ को आम्र्सड्रमको ओलम्पिकमै हक्की पहिलो पटक समावेश भएको हो ।

तीन ओलम्पिकमा स्वर्ण पदक जितेपछि विश्व युद्धले ओलम्पिक खेललाई पनि प्रभावित तुल्याएको थियो । सन् १९३६ मा ध्यानचन्दको नेतृत्वमा भारतले उपाधिमात्र जितेन, उनले १२ खेलमा ३३ गोल गरे । यी महान् खेलाडीको प्रतिभाबाट प्रभावित एडोल्फ हिट्लरले जर्मन नागरिकता लिन अनुरोध गरे पनि ध्यान चन्दले यस प्रस्ताव अस्वीकार गरेका थिए ।

अहिले भारतीय हक्की विगतको जति गर्वीलो छैन । परन्तु ध्यानचन्दको नाममा एउटा इज्जत हक्कीले दिएको छ । संसारमा ब्रिटिस कोलोनी भएकै समयमा भारतको यो साखको असर नेपालमा पनि नपरेको होइन । ब्रिटिस आर्मी र इन्डियन आर्मीमा अत्यन्त लोकप्रिय रहेको यो खेल नेपालमा पनि ५० को दशकमा प्रभाव रहेको जनाइन्छ ।

क्रिकेट, चेस, बक्सिङ, सुटिङ, स्क्वास र टेनिसमा केही दक्षिण एसियाली खेलाडीले संसारमा प्रभाव छाड्ने सम्भावना नदेखाएका होइनन् । लामो समय संसारमा राज गर्ने खेलाडीको भने अभाव नै छ ।

मेरी कोमको उदय सन् २००१ को आइवा विश्व च्याम्पियनसिपमा उपविजेता भएपछि सुरु भएको थियो । यसको एक वर्षपछि नै विश्व च्याम्पियन भएकी उनले ५ पटक विश्व च्याम्पियन हुने महत्त्वपूर्ण सफलता पाइन् ।

सन् २००२, सन् २००५, सन् २००६, सन् २००८, सन् २०१० र सन् २०१८ मा उनी विश्व च्याम्पियन भएकी हुन् । सन् १९८२ मा मणिपुरमा जन्मिएकी मेरी कोम नै यस्ती खेलाडी हुन् जसले सात विश्व च्याम्पियनसिप पदक मात्र होइन ६ पटक एसियन च्याम्पियन पनि भइन् ।

एसियाड र कमनवेल्थमा स्वर्ण जितेकी उनी ओलम्पिक खेलको हकमा भने सन् २०१२ मा कास्य पदक जित्न मात्र सफल भइन् । ओलम्पिक खेलमा आशाअनुरूप परिणाम नदिए पनि विश्व च्याम्पियनसिप र एसियाली च्याम्पियनसिपको प्रदर्शनको आधारमा उनलाई संसारमा प्रभाव जमाउने दक्षिण एसियाली खेलाडीको रूपमा व्याख्या गरिएको छ ।

संसारको कुल जनसंख्याको ७ प्रतिशत दक्षिण एसियामा बसोबास गर्ने गरेका छन् । संसारकै पुरानो मानव सभ्यता बोकेको यो क्षेत्र २१औँ शताब्दीमा आइपुग्दा आर्थिक विकासको सूचकांकमा मात्र होइन, विज्ञान र प्रविधिमा पनि धरै पछि पर्न थालेको छ ।

खेलकुदमा पनि यो भूगोलको प्रभाव जनसंख्याको तुलनामा धेरै कम रहेको छ । ओलम्पिक खेलकुदमा त अन्य देशमात्र होइन शक्ति राष्ट्रको रूपमा रहेको भारतको पनि जनसंख्याको आधारमा पाएको पदक संख्या हेरेर यदाकदा पश्चिमा सञ्चारमाध्यमले गर्ने गरेका छन् ।

तथापि यदाकदा क्रिकेट, चेस, बक्सिङ, सुटिङ, स्क्वास र टेनिसका केही दक्षिण एसियाली खेलाडीले संसारमा प्रभाव छाड्ने सम्भावना नदेखाएका होइनन् । यी खेलाडी झैँ लामो समय संसारमा राज गर्ने खेलाडीको भने अभाव नै छ ।

-(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : १० बजे

खुल्यो धरहरा : प्रतिव्यक्ति २ सय तिरेर चढ्न पाइने

काठमाडौं- काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ ।

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

वीरगञ्ज–  जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा

निकुञ्ज आउने पर्यटक घटे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको