चिनियाँ खोप 'भेरोसेल’ लाई आपतकालीन प्रयोगको मात्रै छ अनुमति | Khabarhub Khabarhub

चिनियाँ खोप ‘भेरोसेल’ लाई आपतकालीन प्रयोगको मात्रै छ अनुमति



काठमाडौँ— चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान नेपाल आइपुग्यो ।

चीन सरकारको ‘सिनोफार्म’ अन्तर्गतको ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट’ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट नेपाल ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरिन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिनेछ ।

नेपाल ल्याइएको यो चिनियाँ खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले आमप्रयोगको लागि अनुमति दिएको छैन । क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याइएको छ ।

डब्ल्युएचओले मान्यता नै नदिएको यो खोप प्रयोग गर्नु कतिको उपयुक्त होला ?

यस प्रश्नमा खबरहबसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘एस्ट्राजेनेकाको कोभिसिल्ड पनि शुरूमा आपतकालीनका लागि मात्र थियो, पछि स्वीकृति दिएको हो । अहिले ल्याउन लागिएको खोप पनि आपतकालीन प्रयोगकै लागि हो, अहिले यो खोप १२ देखि १५ वटा देशमा प्रयोग भइरहेको छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई विमानस्थलमा चीनले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप हस्तातरण गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । तस्वीर-रासस

डा. गौतमले डब्ल्युएचओको अनुमति नभए पनि खोप प्रगोग गर्न पाइने बताए । उनले भने, ‘उत्पादन गरेको देशले अनुमति दिएर प्रयोग भइसकेको खोप प्रयोग गर्न कुनै कानूनी बाधा अड्चन आउँदैन ।’

उनका अनुसार नेपालले चाँडै यो खोप दिन शुरू गर्नेछ । खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान सञ्चालन गर्ने उनले बताए ।

खोप ल्याउनुअघि प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । चिनियाँ खोपमा औषधि व्यवस्था विभागले पनि आपत्कालीन प्रयोगको मात्रै अनुमति दिएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार विभागले अहिलेसम्म भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ लाई मात्रै आमप्रयोगको अनुमति दिएको छ । चीनियाँ खोप भेरोसोल आपतकालीन प्रयोगको अनुमति छ । केसीका अनुसार चिनियाँ खोप क्लिनिक ट्रायलमै रहेकाले मापदण्ड पूरा गरेर मात्र यो खोपको प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रा.डा. सुजनबाबु मरहट्ठा अहिले नेपाल आएको चिनियाँ खोपको सबै क्लिनक प्रक्रिया पूरा नभए पनि प्रयोग गर्न उपयुक्त भएकाले आपत्कालीन प्रयोग गर्न पाइने बताउँछन् । उनी भन्छन्, ‘यो खोप प्रयोगमा आए पनि कति प्रभावकारी छ भन्ने आइसकेको छैन, प्रयोगका लागि उपयुक्त भएकाले, यो खोपले असर गर्दैन ।’

कतिपय मुलुकले चिनियाँ खोपले असर निम्त्याएको भन्दै परीक्षणमा समेत रोक लगाइएका छन् । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५० दशमलव ४ प्रतिशतमात्रै प्रभावकारी देखिएको जनाइएको थियो । त्यसयता यसको प्रभावकारिता अध्ययनबारे आधिकारिक रिपोर्ट बाहिर आएको छैन ।

जनस्वास्थ्यविद् डा. अनुप सुवेदीका अनुसार अहिले नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड र चिनियाँ भ्याक्सिनको संरचना नै फरक छ । उनका अनुसार चिनियाँ भ्याक्सिन भाइरसको समग्र संरचनालाई ‘इनएक्टिभेट’ गरेर बनाइएको हो । यसको प्रभावकारिताको तुलनात्मक अध्ययनबारे केही जानकारी छैन ।

विशेष विमानमा ढुवानी

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल ल्याउन भाडामात्रै २ करोड रुपैयाँभन्दा बढी लागेको छ । नेपाल वायु सेवा निगमका अनुसार चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार रुपैयाँ भाडा लागेको हो ।

चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछि नेपाल सरकारले चीनबाट खोप ल्याउन विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनले खोप अनुदानमा दिएको र नेपालले भाडा व्यहोरेर ढुवानी गरेको बताए । छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप आफैँ नेपाल ल्याइदिएको थियो ।

खोप लैजान दबाब दिएको दियै

नेपाल सरकारले चिनियाँ दूतावासको पटक–पटकको दबाबपछि यो खोप ल्याएको हो । नेपाल सरकारले मागे पनि चीन सरकारले खोपको क्लिनिकल ट्रायलका कागजात उपलब्ध गराएन । बरु, खोप तुरुन्त नलगे पछि उपलब्ध हुन नसक्ने चेतावनी दियो ।

चिनियाँ खोप आपूर्तिका विषयमा प्रश्न उठाउँदै परराष्ट्र मन्त्रालयले गत माघमा पत्र पठाएपछि चीनले तत्काल खोप लैजान ताकेतासहितको पत्र पठाएको थियो । खबरहबलाई प्राप्त पत्रअनुसार नेपालले माग गरेको आपूर्ति कम्पनीको कागजात पछि उपलब्ध गराइने तर खोप तरुन्तै लैजानु पर्ने कुरा उल्लेख थियो ।

यस विषयमा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई चेतावनीपूर्ण जवाफ पठाए पनि परराष्ट्रले मागेका कागजात बारे भने कुनै जवाफ दिएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । तस्वीर- रासस ।

गत माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको तीन लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो । माघ २३ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्तामा चीनले थप पाँच लाख डोज खोप दिने भनिएको थियो ।

चीनले नेपाललाई खोप लैजान ताकेता मात्र गरेन, नेपालस्थित चिनियाँ दूतावासले यही चैत २ गते विज्ञप्ति जारी गरेर चिनियाँ खोप लगाउनेलाई भिसा दिने नीति पनि सार्वजनिक गर्‍यो ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले ती भिसा आवेदकहरूलाई सहजीकरण गर्नेछ जसले चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिएका हुनेछन् ।’ यसबारे नेपाल सरकार मौन छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ लाख मात्रा खोप लगाइसकिएको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप बाँकी छ ।

भारतसँग नेपालले खरिद गरेको सिरम इन्स्टिच्युटको ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा आएको छैन । यो खोप कहिले आउँछ भन्ने टुङ्गो छैन ।

यो पनि पढौँ

कोभिड खोपमा नेपाललाई चीनको चर्को दबाब

कोरोनाविरुद्धको खोप तुरुन्तै लैजान नेपाललाई चीनको ताकेता (पत्रसहित) 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर