विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी | Khabarhub Khabarhub

विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी



काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदार जस्तो शारीरिक र मानसिक अवस्था गएको थियो, त्यस्तै अवस्थामा फर्काउन वैदेशिक रोजगार बोर्डले ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’ सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण बढ्दै जाँदा समय मृत्यु हुने र अङ्गभङ्ग हुने घटना बढेकाले यस्तो तालिम सञ्चालन गर्न लागेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले खबरहबलाई बताए ।

अभिमुखीकरण तालिममा विदेशमा काम गर्दा तनाव व्यवस्थापन गर्ने र कार्यस्थल दुर्घटनाबाट बच्ने विषय समेटिएको छ ।

कामदारले यात्राको क्रममा घरबाट निस्किएदेखि गन्तव्यमा नपुन्जेलसम्म के गर्न हुने र के गर्न नहुने भन्ने विषय पनि समेटिएको छ ।

देशगतरूपमा हावापानी, भाषा राजनीति, धर्मसंस्कृति लगायतका विषयमा पनि तालिममा समावेश छ ।

यी विषयहरू समेटिएको परिमार्जित पाठ्यक्रम वैदेशिक रोजगार बोर्डको गत मंसिर १० गतेको बैठकले स्वीकृत गरेको र चैत १ गते कार्यान्वयनमा आएको हो ।

पाठ्यक्रममा समावेश गरिएका सामग्री पढेर र बुझेर रोजगारीमा गएमा समस्यामा नपर्ने बोर्डका निर्देशक श्रेष्ठको भनाइ छ ।

‘परिमार्जित पाठ्यक्रम नतिजामुखी बनाउने उद्देश्य रहेकोले अब वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर र अङ्गभङ्ग हुनेको संख्या घट्नेछ’ उनले खबरहबसँग भने, ‘श्रमिकले आफू जान लागेको देशको बारेमा सामान्य जानकारी लिएर गएमा समस्या पर्दैन ।’

परिमार्जित पाठ्यक्रममा अडियो र भिडियो समावेश गरिएको छ । तालिम दिनको ६ घण्टाका दरले २ दिन चल्छ ।

गन्तव्य मुलुकमा पुगेपछि श्रमिकको शारीरिक र मानसिक पीडा न्यूनीकरण गर्ने विषय पनि तालिममा समावेश छ । यसमा बोर्डले करिब २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

अब अनलाइनबाटै अनुगमन

यसअघि अभिमुखीकरण तालिम दिने संस्थाले वैदेशिक रोजगार बोर्डले तोकेको मापदण्डभन्दा बाहिर गएर कक्षा सञ्चालन गर्ने र कक्षा नै सञ्चालन नगरी नाम पठाउने गरेको बोर्डका अधिकारीको भनाइ छ ।

यस्तो हुन नदिन बोर्डले अनलाइन माध्यमबाटै अनुगमन गर्ने भएको छ ।

‘विभागको व्यवस्थाअनुसार यो समयमा यति जनाले अभिमुखीकरण तालिम लिँदै छन् भन्ने जानकारी पाएपछि बोर्डमा रहेको कल सेन्टरले हेर्नेछ,’ निर्देशक श्रेष्ठले भने, ‘सीसीटीभी क्यामेरा जडान गर्न बोर्डले पत्र पठाइसकेको छ ।’

तालिममा कामदारका लागि व्यवसायमा सुरक्षा, स्वास्थ्य चेतना, वैदेशिक रोजगारी कानुन, ठगिनबाट बच्ने उपाय, कामदारले गर्नुपर्ने व्यवहार, आर्थिक कारोबार जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को नियम २० मा वैदेशिक रोजगारीमा जानुपूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रमअनुसार अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ०९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र