पोखरेललाई मुख्यमन्त्री पदबाट 'खारेज' गरेको चार दलको घोषणा | Khabarhub Khabarhub

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा



बुटवल— लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आरोप लगाउँदै उनलाई मुख्यमन्त्री पदबाट खारेज गरेको जनाएको हो ।

गठबन्धनले अहिलेको सरकार अवैधानिक ठहर गरी प्रदेशभरि बहिष्कार गर्न आम जनसमुदायमा अपिल पनि गरेको छ ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरी शपथग्रहण गराउने प्रक्रिया असंवैधानिक भएको गठबन्धनको ठहर छ । गठबन्धनले संविधानअनुसार प्रदेशसभामा टेबुल गर्न बाँकी रहेको अविश्वासको प्रस्ताव अघि बढाउन विषेश अधिवेशनको माग पनि गरेको छ ।

आज चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गरेर गठबन्धनले बहुमत सदस्यहरू माथि प्रहरी दमन गरी अल्पमतलाई मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदेश प्रमुखले शपथ गराएको आरोप लगाएको छ ।

संविधान विपरीत मुख्मन्त्री पदमा नियुक्त गरेर लोकतन्त्रको धज्जी उडाउँदै निरंकुश शासनको चरित्र प्रदर्शन गरेको गठबन्धनको आरोप छ । गठबन्धनले घटनाको भर्त्सना पनि गरेको छ ।

गठबन्धनले गैरकानूनी, असंवैधानिक र स्वेच्छाचारी कदम चालेको आरोपमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ ।

गठबन्धनले नेकपा एमालेले सांसद विमलाकुमारी खत्रीको हस्ताक्षर किर्ते गरेको आरोप पनि लगाएको छ ।

मुख्यमन्त्रीको असंवैधानिक नियुक्त र शपथग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयअगाडि शान्तिपूर्ण विरोधमा रहेका महिला सांसदमाथि प्रहरीले संवेदनशील अङ्गहरूमा समेत हातपात गरेको आरोप लगाउँदै गठबन्धनले दोषिमाथि कानूनी कारबाहीको माग राखेको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर देखाएर मुख्यमन्त्री बनेको आरोप लगाए ।

पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार भेन्टिलेटरमा रहेको टिप्पणी गरे ।

कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडियाले संविधान विपरीत प्रदेश प्रमुखले काम गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरे ।

पोखरेलले अराजनीतिक तरिकाले मुख्यमन्त्री पदको शपथ लिएर प्रजातन्त्रको इतिहासमा कालो टीका लगाएको टिप्पणी गरे ।

संसद छल्न पोखरेलले राजीनामाको नाटक गरेको कनोडियाको आरोप थियो । उनले आफूहरूको गठबन्धनमा ४२ जना सांसद रहेको दाबी गरे ।

गठबन्धनले नेकपा एमाले परित्याग गरेका भनिएका सांसद दृगनारायण पाण्डेयलाई राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : २२ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत