अक्सिजन ग्यास उद्योगमा संक्रमितका आफन्तको भिड « Khabarhub

अक्सिजन ग्यास उद्योगमा संक्रमितका आफन्तको भिड



बुटवल— रुपन्देहीको तिलोत्तमाका दिलीप कार्की अक्सिजन खोज्दै ओमसतिया गाउँपालिकास्थित ‘लुम्बिनी अक्सिजन इन्डस्ट्रिज’ को गेटमा पुगे । चार घण्टा कुर्दा पनि भित्र छिर्न पाएनन् । उनी जस्ता अरू पनि उद्योगको गेटबाहिर थिए ।

‘बुबालाई कोरोना संक्रमण भएको छ, अस्पताल पुर्‍याउँदा बेड खाली थिएन, अहिले घरमै हुनुहन्छ,’ दिलीपले भने, ‘बुबालाई अक्सिजन चाहिएको छ, केही उपाय नलगेपछि उद्योगमै आएको हुँ ।’

अक्सिजन उद्योगको गेटमा सैनामैनास्थित ‘पदमपाणि योग तथा प्राकृतिक चिकित्सालय’ को ‘अस्थायी कोरोना अस्पताल’ बाट आएका अर्जुन बिक पनि कुरेर बसेका थिए । अस्पतालको बेडमा ४० जना बिरामीलाई अक्सिजन चाहिएको उनले बताए । ‘कहिले के पाउने हो पत्तो छैन,’ उनले भने, ‘अस्पतालबाट धेरै पहल भए पनि अक्सिजन पाउन सकिएन ।’

उद्योगबाट अक्सिजन वितरण व्यवस्थापन राम्ररी नभएको उनको गुनासो छ । रुपन्देहीमा तीन वटा उद्योगबाट उत्पादन हुने अक्सिजनले अहिलेको माग धान्न सकेका छैनन् ।

गेटमा घण्टौँ कुरेर बस्नेहरूको गुनासो छ– पहुँच हुनेले उद्योगबाटै अक्सिजन ओसारेका छन् ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । अस्पतालमा समयमै अक्सिजन नपुग्दा संक्रमितको गएको आफन्तहरूको गुनासो छ । अस्पतालले संक्रमितलाई आवश्यक पर्ने अक्सिजन आफैँ व्यवस्थापन गर्नू भनेपछि आफन्तहरू अक्सिजन उद्योगसम्म पुग्ने गरेका छन् । उद्योगमा अक्सिजन खोज्नेहरूको भिड लाग्ने गरेको छ ।

लुम्बिनी अक्सिजन इन्डिस्ट्रिजका म्यानेजर लेखनाथ भट्टराईका अनुसार अन्य समयमा दैनिक आठ घण्टा चलाउने गरेको उद्योग अहिले चौबिसै घण्टा चलाउँदा पनि माग धान्न सकिएको छैन ।

‘उद्योगको क्षमता प्रतिघण्टा १२ वटा सिलिन्डर भर्ने हो । यस हिसाबले हामीले २४ घण्टा चलाउँदा २८८ सिलिन्डर रिफिल गरेर वितरण गरिरहेका छौँ,’ उनले भने, ‘बाहिर बिरामीका आफन्तहरू अक्सिजन पाइएन भनेर चिन्तित हुनुहुन्छ तर हामी आफुले सकेसम्मको उत्पादन गरिरहेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार प्रहरीमार्फत वितरण हुने व्यवस्था गरिएको उनले बताए ।

भट्टराईले विद्युत आपूर्तिमा हुने गडबडीका कारण उत्पादनमा समस्या हुने गरेको बताए । उनले भने, ‘बिरामीको ज्यान बचाउन दिनरात चलाएर उत्पादनमा लागेको छौँ तर विद्युत पटकपटक काटिँदा ढिलो भएको छ ।’

विद्युत आपूर्ति नियमित गरिदिन उनको आग्रह छ ।

यता ‘लुम्बिनी अक्सिजन उद्योग’ ले पनि एक घण्टामा १२ वटा सिलिन्डर भर्ने गरेको छ । उद्योगका म्यानेजर अर्जुन क्षेत्री भन्छन्, ‘अक्सिजन लिन बाहिर लाइन लागेको छ तर यहाँबाट प्रहरी प्रशासनको रोहबरमा सिलिन्डर अस्पालमा पुग्ने गरेको छ’ ।

उनले पनि विद्युत आपूर्ति पटक पटक बन्द हुँदा अक्सिजन उत्पादनमा समस्या पर्ने गरेको उनले गुनासो गरे । सामान्य अवस्थामा ८ घण्टा चल्ने गरेको यो उद्योग पनि २४ घण्टा चलेको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अक्सिजन जिल्लामा रहेका तीनवटा उद्योगहरू ‘शंकर अक्सिजन ग्यास प्रालि’, ‘लुम्बिनी अक्सिजन इन्डस्ट्रिज’ र ‘लुम्बिनी अक्सिजन उद्योग प्रालि’ प्रहरीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । औद्योगिक क्षेत्रका फलाम उद्योगहरूमा अक्सिजन सिलिन्डर दिन निषेध गरिएको छ ।

तीन वटा उद्योगले प्रत्येक २४ घण्टामा १ हजार १२६ थान अक्सिजन सिलिण्डर दिने प्रतिबद्धता जनाएका छन् । उद्योगहरूको प्रतिबद्धता अनुसार स्थानीय प्रशासनले अस्पतालका लागि कोटा निर्धारण गरेको छ । प्रशासनको कोटाले १६ घण्टा पनि धान्न नसक्ने अस्पतालका अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ५५ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले