संविधानको हुर्मत लिएर अन्ततः मुलुक जबरजस्ती निर्वाचनतिर | Khabarhub Khabarhub

संविधानको हुर्मत लिएर अन्ततः मुलुक जबरजस्ती निर्वाचनतिर



काठमाडौँ– बहालवाला प्रधानमन्त्री पदमुक्त नभई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि राजनीतिमा अन्योल सिर्जना भएको छ ।

प्रधानमन्त्रीले संविधानको कुनै धारा उल्लेख नगरी मन्त्रिपरिषदको निर्णय देखाएर गरेको ‘अनुरोध’ अनुसार २२ घण्टा समय दिएर गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भयो । संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभमा सबैभन्दा धेरै सदस्य रहेको दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मतका लागि प्रस्ताव नराखी २० दिनअगावै संविधानको हुर्मत लिए ।

संविधानको हुर्मत लिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई साथ दिइन् ।

अबका सम्भावित परिदृश्यहरु यस्ता हुन सक्छन् ।

१. कुनै चमत्कार नभए वा विपक्षी नेताहरुको घैँटामा घाम नलागे राष्ट्रपतिको आह्वान बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश हुने छैन । पेश भइहालेछ भने ‘विश्वासको मत प्राप्त गर्न सक्ने आधार’ मा एउटा अत्तो थापेर नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिबाट अस्वीकार हुनेछ ।

र, प्रतिनिधिसभा विघटनको बाटो खुला गरिनेछ । राष्ट्रपतिबाट अर्को प्रतिनिधिसभा निर्वाचनको मिति तोकिनेछ । ओली प्रधानमन्त्री पदमा निरन्तर रहनेछन् । यसरी कोरोना महामारीले निम्त्याएको संकटका बीच देशलाई जबरजस्ती निर्वाचनमा होमिनेछ ।

२. जेठ ७ गते अपराह्न ५ बज्नुअगावै सर्वोच्च अदालतमा रिट दायर हुनेछ, तत्कालै सुनुवाइ हुनेछ र अन्तरिम आदेशद्वारा राष्ट्रपतिको आह्वान बदर हुनेछ । रिट परेन वा परे पनि तत्काल सुनुवाइ भएन भने राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा १ नम्बरमा उल्लेख भएझैँ कदम चालिनेछ । यस्तो कदमविरुद्ध पनि रिट दायर भई अर्को दिन अन्तरिम आदेशद्वारा बदर हुन सक्नेछ ।

३. नम्बर २ अनुसार भए पनि २० दिनका लागिमात्रै हुनेछ । यस अवधिमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्ने छैनन् वा राखे पनि आफ्नै इच्छाअनुसार विश्वासको मत हासिल गर्ने छैनन् । अन्नतः प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनमै होमिनेछ ।

४. कुनै चमत्कार भई जेठ ७ गते अपराह्न ५ बजेपछि धारा ७६(५) बमोजिमको सरकार गठन भएछ भने पनि त्यस्तो सरकारलाई विश्वासको मत प्राप्त गर्न दिइने छैन । प्रधानमन्त्री अर्को व्यक्ति भए पनि अन्ततः अर्को ३० दिनपछि मुलुक निर्वाचनकै बाटोमा जानेछ ।

तर, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदममा अर्को प्रधानमन्त्री नियुक्त गर्ने असल मनसायको संकेत छैन ।

५. यही जेठ ७ गते नै वा अर्को २० वा ३० दिनपछि नै प्रतिनिधिसभा विघटन भए पनि निर्वाचन गराउनुपर्ने आगामी मंसिरमा हो । नयाँनयाँ भेरिएन्ट सहित कोरोना भाइरसको बढ्दो संक्रमणको वर्तमान अवस्थामा सुधार भई मंसिरमा निर्वाचन हुने सहज वातावरण नहुने सम्भावना बढी छ ।

निर्वाचन हुन नसके मुलुक राजनीतिक रूपले अँध्यारो सुरुङमा फस्न सक्नेछ । घटनाक्रमले के देखाउँछ भने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका अराजक कदमको मनसाय पनि यही हो ।

आखिर ओली किन यति अराजक भए !

अध्यक्षका रूपमा पार्टीको आन्तरिक विवाद समाधान गर्न नसकेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वभावअनुसार प्रतिनिधिसभाको राजनीतिक गणित पर्गेलेर राज्यशक्तिको दुरुपयोग गरे । संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरे ।

सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनर्स्थापित भए पनि ओलीले मान्यता दिएनन् । अदालतको आदेशअनुसार बोलाइएको प्रतिनिधिसभा अधिवेशनको एउटा पनि बैठकमा उपस्थित नभएर पुनर्स्थापनालाई मान्यता नदिएको सन्देश दिए ।

घाम जत्तिकै छर्लङ्ग छ कि ओली जसरी पनि प्रतिनिधिसभालाई औचित्यहीन र आफूले गरेको विघटन राजनीतिकरूपले उचित थियो भन्ने सावित गर्न चाहन्छन् । यसैका लागि उनी संविधानको हुर्मत लिन र अराजक गतिविधि गर्न उद्यत छन् । त्यसमा पदीय गरिमा र दायित्व विपरीत सारथि बनेकी छन् राष्ट्रपति भण्डारी ।

संसद सदस्य नरहेका सात जना मन्त्रीको नियुक्ति बदर हुने र वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको हार हुने एकै दिनको घटनाले प्रधानमन्त्री ओलीको अहङ्कार र अराजकताको पारो निर्धारित स्केलभन्दा माथि चढेको हुनुपर्छ ।

बादलको हारपछि माधव नेपाल र झलनाथ खनाल समूहसँग मेलमिपालको औचित्य सकिएको ओलीको ठहर भएको हुनुपर्छ ।

अवश्य पनि यही परिस्थितिको परिणाम हो प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट प्रयोग भएको धारा ७६(५) को ओमोघ अस्त्र ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : २५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन