अस्पताल आउने सङ्क्रमित आधा घटे « Khabarhub

अस्पताल आउने सङ्क्रमित आधा घटे


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– महीना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना सङ्क्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अभाव । ‘आइसीयू’मा गम्भीर बिरामीको चाप । दैनिकजसो सङ्क्रमितको मृत्यु ।

अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना सङ्क्रमणको अवस्था भयावह उन्मुख छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । सङ्क्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । ‘पछिल्लो एक सातायता अस्पतालमा आधा सङ्क्रमित घटेका छन्’, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपथ्र्यो, अहिलेको सङ्ख्या १५/२० को हारीहारी छ ।’

बुधबार भने जम्मा १३ सङ्क्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शय्या अहिले खाली छन् । ‘वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ’, प्रमुख चिकित्सक पोखरेलले भने, ‘अहिले केही सहज छ, सङ्क्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।’

रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः सङ्क्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो सङ्क्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ ।

बालबालिकाका लागि छुट्टै आइसोलेशनकक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए। अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण/सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।

न्यून चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकका भरमा अस्पताल महामारीसँग सङ्घर्षरत छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि स्रोत साधनको कमी छ । कोरोनाको दोस्रो लहरयता अक्सिजनको अभाव व्यहोरेको यस अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया थालिएको छ ।

सङ्घ सरकारको लगानीमा बन्ने प्लान्टका लागि बोलपत्र टुङ्गिइसकेकाले अब सम्झौता हुन मात्र बाँकी छ । डेढ सय जति अक्सिजन सिलिण्डर पनि जोहो गरिएको अध्यक्ष रानामगरले बताए । आउने जुनसुकै अवस्थाका लागि अस्पताललाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।

सङ्क्रमणको चक्र तोड्न अहिले गाउँगाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । जसका कारण परीक्षणको दायरा पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै एक हजार छ । नौ सय बढी सङ्क्रमित होम आइसोलेशनमा छन् । लक्षणले च्याप्दै गएर स्वास्थ्यमा समस्या देखिएका सङ्क्रमित मात्र अस्पताल आउने गरेका छन् । अस्पताल आएकामध्ये पनि अधिकांश सामान्य उपचारबाट निको हुन्छन् ।

श्वासप्रश्वासमा समस्या आइ बिरामीको अवस्था गम्भीर बनेमा ‘आइसीयू’ र भेण्टिलेटरमा राखेर उपचार गरिन्छ । हालसम्म यहाँका चार हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १२ : १६ बजे

निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा निवर्तमान उपसभापति पूर्णबहादुर

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा