दाताहरूको सहयोगमा प्राविधिकहरूलाई राहत दिँदैछौँ | Khabarhub Khabarhub

दाताहरूको सहयोगमा प्राविधिकहरूलाई राहत दिँदैछौँ


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रण गर्न लागु भएको लकडाउनले आमक्षेत्रमा झैँ फिल्मी क्षेत्रमा पनि असर परेको छ । लकडाउनले दैनिक ज्यालादारी गर्ने फिल्म प्राविधिकहरूमा बढी मर्कामा परेका छन् ।

खाद्यान्नमा समेत संकट पर्न थालेपछि प्राविधिकको छाता संस्था ‘नेपाल चलचित्र प्राविधिक संघ’ प्राविधिकहरूलाई सहयोग गर्दैछ संघका अध्यक्ष पुष्कर लामाको अगुवाइमा दाताहरूबाट प्राप्त सहयोग सम्बन्धित प्राविधिकको घरदैलोमा पुर्‍याउने काम गर्दैछन् । यिनै लामासँग कोभिडपछि प्राविधिकहरूको अवस्था र राहत सहयोगको विषयमा खबरहबका लागि नेमिष गौतमले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ ।

कोभिड महामारीपछि फिल्मी प्राविधिकहरूको अवस्था कस्तो छ ?

कोभिडका कारण लामो समय लकडाउन भयो । लकडाउन खुल्छ भन्दाभन्दै थप्ने क्रम बढिरह्यो । यसकारण प्राविधिकहरूले सहज तरिकाले जीवन चलाउन सकेका छैनन् । श्रमजीवी फिल्मकर्मीहरूलाई पनि यही समस्या छ ।

समस्या न्यूनीकरण गर्न विभिन्न संघसंस्थाहरू लागि परेका छन् । अहिले भइरहेका पहलहरूले प्राविधिकको समस्या केही हदसम्म समाधान हुनेछ भन्नेमा आशावादी छु । प्राविधिक, नृत्यकार, द्वन्द्व कलाकारको समस्या समाधानका लागि हामीले नेतृत्वदायी भूमिकामा काम गरिरहेका छौँ ।

प्राविधिकलाई राहतको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

हामीले अहिलेसम्म प्राविधिकलाई चार पटक राहत पुर्‍याएका छौँ । कोभिडको लकडाउन शुरू भएको झण्डै २५ दिनपछि मैले एक हप्तासम्म दिनरात नभनी स्वदेश र विदेशमा रहेका नेपाली फिल्मकर्मी, समाजसेवी दाजुभाइलाई सहयोगको लागि आह्वान गरेँ । उहाँहरू सहयोगको माध्यम बनिदिनुभयो । त्यही सहयोगले हामीलाई अलिकति तनाव हटाउन सहज भएको छ । शतप्रतिशत समाधान भएको छैन ।

प्राविधिकले राहत पाउने मापदण्ड के छ ?

यो कुरामा हामी प्रष्ट छौँ । प्राविधिकहरूको दैनिकी, कुन–कुन प्राविधिकहरूको अवस्था कस्तो छ, उनीहरूको आर्थिक हैसियत कस्तो छ इत्यादि तथ्यांक चलचित्र प्राविधिक संघमा छ । त्यही अनुरूप संघको कार्यसमितिले छलफल गरेर, छनोट गरेर अति विपन्न प्राविधिक साथीहरूलाई प्राथमिकतामा राखेर हामीले राहत वितरण गरेका छौँ ।

पहिलोपटक क्याप्टेन तथा कलाकार विजय लामा र नोर्बु लामाले ५० परिवारलाई खाद्यान्न सहयोग गर्नुभयो । दोस्रोपटक नायिका सुमिना घिमिरे र उहाँका पति क्याप्टेन रोशन सापकोटाले ४० परिवारलाई, तेस्रोपटक अभिनेत्री करिश्मा मानन्धरले ३० परिवारलाई तीस–तीस किलोको चामल, दाल, चिनी, नून, ग्यासका लागि जनही १५ सय रुपैयाँ सहयोग गर्नुभयो ।

‘लप्पन–छप्पन २’ का निर्देशक मुकुन्द भट्ट, फिल्मका चिनियाँ वितरक शान्न शर्मा, प्रोडक्सन मेनेजर युवराज कार्कीले २५० प्राविधिकलाई खाद्यान्न सहयोग गर्नुभयो ।

राहत प्याकेजमा के के समावेश छ ?

राहत प्याकेजअन्तर्गत खाद्यान्नमा चामल, दाल, नून, तेल, चना छ । कतिपयले त्यसमा एक क्यारेट अण्डा र एक कार्टुन चाउचाउ पनि दिनुभएको छ । जो दाताले जसरी दिनुभएको छ, त्यो नै हामीले पारदर्शी ढङ्गले वितरण गरेका छौँ ।

सरकारबाट पनि केही सहयोग पाउनुभएको क कि ?

सरकारबाट अहिलेसम्म राहतको केही सहयोग पाएका छैनौँ । अहिलेका लागि हाम्रा सहयोगी नै हाम्रो सरकार हुन् । उहाँहरूले यो आपतकालीन अवस्थामा मन खोलेर सहयोग गर्नुभएको छ । यो समयमा सरकारले हाम्रो क्षेत्रमा अप्ठ्यारो परेको जनताका लागि अग्रसर भएर कुनै पनि कार्यक्रम र सहयोग दिएको छैन ।

संघले शुरू गरेको ‘कोभिड–१९ विपद व्यवस्थापन कोष’ को अवधारणा कसरी आयो ?

महामारीका कारण प्राविधिकहरूको अवस्था नाजुक भइरहेको छ । लकडाउन कहिले सकिन्छ भन्ने टुङ्गो छैन । सबै प्राविधिक साथीहरूलाई भौतिकरू पमा घरघरमै उपस्थित भएर नगद तथा जिन्सी उपलब्ध गराउन पनि सम्भव छैन । यस्तो समस्या समाधान गर्न हामीले कोषको शुरूवात गरेका हौँ ।

कोषमा निर्मला शर्माको पहलमा २५ हजार रुपैयाँ सहयोगबाट रकम जम्मा गर्न शुरू गरेका छौँ । अमेरिकाबाट अभिनेता जीवन लुँइटेलसहित राजवल्लभ कोइराला र निरज बराल, मुकेश आचार्य, गणेश उप्रेती, निर्देशक श्याम भट्टराई र कुसुम तामाङ दम्पती, महेन्द्र बुढाथोकी, प्रज्ज्वल गिरी, पवन गौतम, कृष्ण कोइरालाले सहयोग गर्नुभएको छ ।

अष्ट्रेलियाबाट निर्देशक तथा कलाकार अग्रज केसी, नेपालबाट अभिनेत्री जेबिका कार्की, गायक युवराज चौलागाईं, जापानबाट गिरिराज लामिछाने (पारु), अमेरिकाबाट अभिनेत्री रूपा रानाले सहयोग गर्नुभएको छ । अन्य कलाकारहरूबाट पनि सहयोग आउने क्रम जारी छ ।

हामीले सबै प्राविधिकलाई बैंकमा खाता खोल्न लगाएका छौँ । आवश्यकताअनुसार छनोट गरेर अप्ठ्यारो परेकालाई खातामै पठाउनेछौँ ।

कोभिडका कारणले प्राविधिकहरू पलायन भएका त छैनन् ?

कतिपय प्राविधिकले ‘पलायन भएँ’ भन्छन् त कतिले भन्दैनन् । चार दशकभन्दा बढी फिल्ममा काम गरिसकेका उद्धव भट्टराई (जुँगे भट्टराई) काठमाडौँको डेरा नै छोडेर सबै सामान लिई बैतडी जानुभयो । घरमा रहँदा फोक्सोको बिरामी भएपछि फेरि काठमाडौँ आउनुभयो । उहाँलाई प्राविधिक संघको सक्रियतामा उपचार गरायौँ । स्वास्थ्यमा केही सहज भएपछि घर फर्किनुभयो ।

झण्डै ३५ वर्षदेखि फिल्ममा कार्यरत सहायक छायाकार घनश्याम पुरीले चिया पसल खोल्नुभएको छ । अर्का प्राविधिक नवीन कार्कीले काठमाडौँको डेरा छोडेर घर जानुभयो । अहिलेको अवस्थामा प्राविधिकलाई वैकल्पिक व्यवसाय गर्नुपर्ने बाध्यता छ । अहिले त्यस्ता प्राविधिकहरू औँलामा गन्न सक्ने अवस्थामा मात्र हुनुहुन्छ ।

प्राविधिकलाई कोभिड खोप लगाउन के कस्तो पहल भइरहेको छ ?

खोपका लागि चलचित्र विकास बोर्डले पहल गरेको छ । नेपाल चलचित्र प्राविधिक संघको पत्रसहित म र संघका महासचिवले गत सोमबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई भेटेर प्राविधिक तथा समग्र फिल्मकर्मीका लागि खोपको लागि पहल गरेका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ ।

अहिलेको अवस्थामा कामप्रति प्राविधिकको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

यो महामारीले प्राविधिकहरू के गर्ने र कसो गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । दक्ष प्राविधिकहरूले वैकल्पिक बाटो रोज्नुभयो भने अनुकूल समयमा फिल्म बनाउदा प्राविधिक अभाव हुनसक्छ । त्यही भएर प्राविधिक जोगाउन सरकारले सोचिदिने बेला आएको छ । चलचित्र विकास बोर्ड पनि यसमा गम्भीर हुनुपर्‍यो ।

स्वदेशमा भन्दा विदेशमा बस्ने नेपाली कलाकारले प्राविधिकको सहयोगमा बढी चासो देखाएको सुनिन्छ, वास्तविकता के हो ?

यो सत्य हो । अनुपातको हिसाबले स्वदेशका भन्दा विदेशमा बस्ने नेपाली कलाकारले प्राविधिक प्रति बढी चासो देखाउनुभएको छ । अभिनेता जीवन लुँइटेलले ‘हामीलाई हिरो बनाउने भनेकै फिल्मको पछाडिका प्राविधिकहरूले हो, हामीलाई हिरो बनाउने हिरोहरूलाई अप्ठ्यारो पर्दा खेरी हामीले सकेको सहयोग गर्नुपर्छ’ भन्नुभएपछि उहाँकै पहलमा कोषमा रकम आउन थालेको हो ।

प्राविधिकलाई मानसिकरूपमा सक्षम बनाउन संघले के कस्तो काम गरिरहेको छ ?

प्राविधिकको मनोविज्ञानमा जुन डिस्टर्ब भइरहेको छ, त्यो डिस्टर्ब महसुस नहोस् भन्नका लागि मैले व्यक्तिगत रूपमा पनि सहयोग गरिरहेको छु । जो जति अप्ठ्यारामा छन्, उनीहरूलाई आफैँले परामर्श गरिरहेको छु ।

आर्थिक अभाव भएर घर जान नपाएकाहरूलाई आफूले सकेसम्म आर्थिक सहयोग गरिरहेको छु । प्राविधिकलाई ‘अहिले प्रकृतिले सबै गरिरहेको छ, यो सबै हटेपछि अवस्था राम्रो अवस्था आउँछ, आत्तिनु हुँदैन’ भनेर सम्झाइरहेको छु ।

चलचित्र विकास बोर्डले प्राविधिकको सहयोगका लागि कति चासो दिएको छ ?

‘आवश्यकता परेमा सहयोग गरौँला’ भन्ने कुरा भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १ : २७ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो