काठमाडौँ- प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो २ बजे डाकिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।
सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने कोसिस गरिरहेका छन् ।
देउवाले बुधबार एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुँदै विश्वासको मतका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले जसपाको ठाकुर-महतो पक्षसँग छलफलको तयारी गरेको स्रोतले जनाएको छ ।
सबै पक्षसँगको परामर्शमा संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।
प्रतिक्रिया