अक्सिजन बिनै दशपटक सगरमाथा चढेका ‘हिमचितुवा’ आङरिता | Khabarhub Khabarhub

अक्सिजन बिनै दशपटक सगरमाथा चढेका ‘हिमचितुवा’ आङरिता


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘हिमचितुवा’को नामबाटसमेत परिचित आङरिता शेर्पाले १५ वर्षको उमेरदेखि भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका थिए । सानो उमेरमा भने उनी चौरी चराउने, सामानहरु तिब्बत लगेर विक्री गर्ने तथा खेतिपातीको हेरचाह गर्ने गर्थे ।

अक्सिजनको सहाराबिना सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गरी दुई पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल आङरिता कलिलो उमेरमा नै आफू अनाथ बन्न पुगेको र परिवार पाल्नुपर्ने बाध्यताले पर्वतारोहण क्षेत्रमा लागेको बताउँछन् ।

१० पटकसम्म अक्सिजनको सहाराबिना सगरमाथाको आरोहण गर्नु चानचुने कुरा होइन । शुरुमा उनलाई पनि अक्सिजन बिना सगरमाथा आरोहण गर्नु सहज थिएन । तर, सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै उनी सगरमाथाको शिखरमा पुग्न सफल भए ।

धौलागिरी हिमाल आरोहणका लागि शुरुमा उनी कम उचाईको भरियाका रुपमा सामेल भएका थिए । पछि उनले खुट्टामा जुत्ता र अन्य आरोहणका उपकरण बिनै धौलागिरीको क्याम्प ३ सम्म पुग्नुपर्ने भयो ।

धौलागिरीको क्याम्प ३ को सफल आरोहणपछि उनमा नयाँ उत्साह थपिसकेको थियो । उनले त्यसपछि अझ माथिल्लो उचाईसम्म पुग्ने निधो गरे । तर, उनीभन्दा ‘ठूलाबडा’ ले उनमा ‘अनुभव’ नरहेको भन्दै क्याम्प २ भन्दा माथि लैजान नमानेपछि उनको धोको पूरा भएन ।

आत्मविश्वास र क्षमताका बावजुद समयले सँधै साथ भने नदिएको उनी सुनाउँछन् । आरोहण अभियानका क्रममा आफू अपमानको पात्र बन्नुपरेका किस्सा पनि उनीसँग धेरै छन् । तर, जे जस्तो अवस्था र परिस्थिती आएपनि उनले हिम्मत भने कहिल्यै हारेनन् ।

उनको भाग्यको ढोका बल्ल त्यतिबेला खुल्यो, जब स्विट्जरल्याणको आरोहण दलले उनलाई धौलागिरी हिमाल आरोहणका लागि बढी उचाईसम्म साथै जाने भरियाका रुपमा सामेल हुन प्रस्ताव गर्यो । उनका लागि यो सपनाजस्तै थियो । त्यसयता उनी दुई पटक धौलागिरीको शिखर पुगिसकेका छन् ।

उनका लागि पर्वतारोहण क्षेत्रमा यो निकै ठूलो उपलब्धी थियो । यही आरोहणबाट आफ्नो आत्मविश्वास बढेको उनी सुनाउँछन् ।
समयक्रमसँगै उनले बेलायती सेनाको सगरमाथा आरोहण अभियानका क्रममा सगरमाथाको क्याम्प ४ सम्म पुग्न सफल भए ।

उनी सगरमाथाको क्याम्प ४ सम्म पुग्नुलाई आफ्नो सफलताको कोशेढुंगा नै मान्छन् । सगरमाथाको शिखरमा पुग्ने उनको सपना भने सन् १९८३ मे ७ मा आएर बल्ल पुरा भयो । यतिबेला उनी जर्मन–अमेरिकी आरोहण अभियानका साथ सगरमाथाको उकालोे चढेका थिए ।

पर्वतारोहणका क्रममा भएका केही गम्भीर दुर्घटना पनि उनको मष्तिष्कमा आउने गर्छ । सन् १९८४ मा उनका साथी जोसेफ डेमजान सगरमाथाको शिखरमा पुगेर फर्किदै गर्दा बाटैमा मृत्यु भएको घटना उनको मानसपटलमा ताजै छ ।

तरपनि यस्ता दुर्घटनाले उनलाई विचलित भने बनाएन, उनी पर्वतारोहणका क्षेत्रलाई निरन्तरता दिई नै रहे । यसैक्रममा उनले नर्वेजियन आरोही एर्न नएसलाई वसन्त ऋतुको समयमा सगरमाथाको शिखर पुग्न सहयोग गरे ।

पदयात्राका क्रममा पर्यटकहरु खुम्बु हिमझरनालाई घुमेर पार गर्दै । सगरमाथाको आरोहण गर्नुअघि हरेक आरोहीले कम्तीमा २ पटक खुम्बु झरना घुमेर पार गर्नुपर्छ ।

कुनै औपचारिक शिक्षा वा आरोहीको कुनै तालिम बिना उनले पर्वतारोहणका क्षेत्रमा नाम चलेको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई साथ दिन थाले । समयक्रमसँगै उनी भरियामात्र रहेनन् उनले गाइडका रुपमा आफ्नो अनुभवलाई उपयोग गर्न शुरु गरे । यससँगै उनले १९८६ तथा १९८७ का बीच स्पेनी, अमेरिकी, जर्मन, चिलियन लगायतका आरोहण दलसँग चो ओयु, कञ्चनजंघा, मकालु दोश्रो लगायतका हिमालको आरोहण गर्न सफल भए ।

सन् १९८७–८८ को हिउँद याममा दक्षिण कोरियाली आरोहण दलका साथ सगरमाथाको आरोहण उनको जीवनको एकमात्र हिउँद याममा सगरमाथाको आरोहण हो । उनी सगरमाथाबाट ओर्लिने क्रममा त्यसबेला खराब मौसमका कारण आफू र एकजना कोरियाली अरोही आरोहण दलका अन्य सदस्यसँग छुट्टिएको कुरा सम्झन्छन् । अत्यन्त चिसो मौसममा ज्यानलाई तातो बनाउन उनीहरुले त्यहाँ एरोबिक गरेर रात कटाएको अनुभव पनि उनीसँग छ ।

सगरमाथाको शिखर आरोहणका लागि तालिम गर्दै आरोहीहरु । तालिममा आरोहीहरु सगरमाथा अरोहण गर्दा प्रयोग गर्ने उपकरण चलाउन सिक्छन् ।

त्यसको १० महिनापछि १० अक्टोबर १९८८ मा उनी क्याटालन आरोहण दलका साथ सगरमाथाको शिखरमा पुगे । त्यसपछि सन् १९९० मा नेपाली सेनाको आरोहण दलका साथ सगरमाथाको शिखरमा पुगे भने सन् १९९२ मा चिलीको पहिलो सफल पर्वतारोहण दलसँग सगरमाथाको चुचुरोमा पुगे । त्यस्तै, उनले सन् १९९३ मा स्पनेको आरोहण दलसँग पनि सगरमाथा पुगिसकेका छन् ।

उनले एक पटक मात्र तिब्बतको उत्तरी मोहडाबाट सगरमाथाको आरोहण गरेका छन् । सन् १९९५ को वसन्त ऋतुमा रुसी–इन्गुसेटियन आरोहण अभियान दलका साथ उनी उत्तरी मोहडाबाट सगरमाथा पुगेका थिए । अक्सिजनको सहाराबिना उनको पछिल्लो सगरमाथा आरोहण भने सन् १९९६ मा भएको थियो । त्यसबेला उनले स्विडेनको पहिलो आरोहण दलका साथ सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।

पर्वतारोहण क्षेत्रमा निकै लामो अनुभव रहेका आङ्रिता शेर्पाले काठमाडौंमा आफ्नै ट्रेकिङ कम्पनी खोलेका छन् । यससँगै उनका दुई छोराहरु करसाङ र छेवाङले पनि उनकै पदचाप पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ६ : ३१ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा