मन्त्री छान्ने तनावमा रहेका प्रचण्डको बकपत्र | Khabarhub Khabarhub

मन्त्री छान्ने तनावमा रहेका प्रचण्डको बकपत्र



काठमाडौँ– नेकपा माओवादी केन्द्रले शनिबार नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार एउटा कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले यसो भने–

….म त अहिले मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरूको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा ! कल्लाई मन्त्री बनाउने कल्लाई नबनाउने ! हाम्रो उनन्पचास जना सांसद सप्पैलाई मन्त्री चाहिया छ, हामीले पाउने बढी पाइयो भने सात जना हो ।

यहाँ मन्त्री नभयो भने चैँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चैँ जबर्जस्त छ, यो अहिलेको परिपाटीभित्र । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व चैँ बदमासै हो भन्न बेरै नलगाउने ।

चार पाँच दिनदेखि म चाहिँ साँच्चै एक खालको तनावभित्र छु । सबैलाई बनाउन त मन लागेको छ नि ! सबै उनन्पचास जनालाई नै बनाउन पाए हुन्थ्यो मन्त्री ।

यसबाट के देखिन्छ, हामी हामी आदर्शको निम्ति, कुरा गर्दा आदर्शका गर्ने, ठूल्ठूला । यस्तो हुनुपर्छ क्रान्तिकारी पार्टी, यस्तो हुनुपर्छ निष्ठा, यस्तो हुनुपर्छ आदर्श ! हामी सबैले भन्ने तर चित्त चैँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन ! पाइन्छ भने ठिक छ पाइँदैन भने ठिक छैन । यस्तो छ अहिलेको कल्चर भनेको । यो आजको हाम्रो कल्चर हो…।

यो अभिव्यक्ति मन्त्री छान्ने सकसमा रहेका प्रचण्डको बकपत्र हो । प्रचण्ड साँच्चै तनावमा भएझैँ देखिन्थे । उनको अनुहारमा एक किसिमको उदासी र मलिनता झल्किन्थ्यो ।

वर्तमान सत्ता गठबन्धन एउटा विशेष परिस्थितिको उपज हो । यसलाई विशेष ढङ्गले सम्हाल्न नसके प्रतिनिधिसभा पुनर्स्थापनाको राजनीतिक औचित्यमाथि पनि प्रश्न उठ्छ ।

नेकपा माओवादी केन्द्र समेतको समर्थनमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई साता हुनै लागेको छ । प्रधानमन्त्री नियुक्त भएको छैटौँ दिन प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत हासिल गरेका देउवाले मन्त्रिपरिषद विस्तार गरेका छैनन् । चार जना मन्त्री लिएर सरकार चलाएका छन् ।

मन्त्रीहरू नियुक्त गर्न ढिलाइ हुनुले गठबन्धनको प्रभावकारिता र प्रधानमन्त्रीको कार्यकौशलमा प्रश्न उठ्न थालेको छ । वर्तमान सत्ता गठबन्धन एउटा विशेष परिस्थितिको उपज हो । यसलाई विशेष ढङ्गले सम्हाल्न नसके प्रतिनिधिसभा पुनर्स्थापनाको राजनीतिक औचित्यमाथि पनि प्रश्न उठ्छ ।

निर्वाचन आयोगमा विचाराधीन सत्ता गठबन्धनको एक घटक जसपाको विवाद निरूपणपछि मन्त्रीहरू नियुक्त हुने भनिएको छ । निर्वाचन आयोगमा जसपा विवाद निर्णयको चरणमा रहे पनि अर्को घटक सर्वोच्च अदालत गएपछि अन्योल उत्पन्न भएको छ ।

प्रकटरूपमा जे भनिए पनि खास कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपर्युक्त अभिव्यक्तिले प्रष्ट पारेको छ । प्रचण्डलाई मन्त्री छनोट गरेर सिफारिस गर्न जति कठिन भएको छ, हाराहारीमै कठिन छ देउवालाई पनि ।

प्रचण्डको अभिव्यक्तिले हाम्रा नेताहरू आफ्ना लागि काम गर्छन्, आफ्ना लागि पद खोज्छन्, राजनीतिको आदर्श त भाषण गर्नका लागि मात्रै हो भन्ने प्रष्ट पार्छ ।

यति वेला अध्यक्ष प्रचण्डसहित माओवादी कन्द्रका प्रभावशाली नेताहरूका घरमा हाम्रो जिल्लाबाट मन्त्री बनाउनु पर्‍यो भन्ने ‘प्रतिनिधि मण्डल’ र मलाई मन्त्री बनाइदिनु पर्‍यो भन्ने सांसदको घुइँचो छ ।

प्रचण्डकै भनाइ अनुसार आदर्श र क्रान्तिका जति ठूला कुरा गरे पनि सांसदहरूलाई खास चाहिएको मन्त्री पद नै हो । सांसद नरहेका नेताहरूलाई चाहिएको कुनै ठूलो नियुक्ति नै हो ।

यसै हुलबाट उम्केर पार्टी मुख्यालय पेरिस डाँडा पुगेका अध्यक्ष प्रचण्डले आफ्नो मनको बह पोखे । उक्त बहमा उनको व्यक्तिगत पीडामात्रै अभिव्यक्त छैन, नेपाली राजनीतिमा हुर्कंदो व्यक्तिवादी चरित्रको पनि पर्दाफास भएको छ । मन्त्री पद पाउन धाउनेको यो घुइँचो र मन्त्री नपाए नेतृत्वमाथि ‘सत्तोसराप’ गर्ने प्रवृत्तिलाई प्रचण्डले ‘यो आजको हाम्रो कल्चर हो’ भनेका छन् ।

प्रचण्डकै भनाइ अनुसार आदर्श र क्रान्तिका जति ठूला कुरा गरे पनि सांसदहरूलाई खास चाहिएको मन्त्री पद नै हो । सांसद नरहेका नेताहरूलाई चाहिएको कुनै ठूलो नियुक्ति नै हो ।

प्रचण्ड किन तनावमा छन् भने राजनीतिमा हुर्किंदै गरेको यस्तो खराब ‘कल्चर’ अन्त्य गर्ने सामथ्र्य उनमा छैन । यसैकारण उनी तनावमा छन् र उनको अनुहारमा उदासीनता छ ।

प्रष्ट छ, यस्तो तनावले मुलुकको वर्तमान संवेदनशील परिस्थित सम्हाल्न कठिन छ । मुलुक एकातिर कोरोना भाइरसले आक्रान्त छ भने अर्कातिर राजनीतिकरूपले निकै संवेदनशील अवस्था छ । यस्तो समयमा गठबन्धन सरकार प्रभावकारी देखिनसकेको छैन ।

आन्तरिक तनाव व्यवस्थापन गर्दै र गठबन्धनबीच कसिलो समन्वय गर्र्दै राज्य संयन्त्र बलियो र प्रभावकारी बनाउनु गठबन्धनका सबै नेताहरूको जिम्मेवारी हो । आजको परिस्थितिमा मन्त्री पद प्राथमिक कुरा होइन ।

यो गठबन्धनलाई अधिकतम प्रभावकारी र सफल बनाउने अवसर प्राप्त भएको छ । आगामी दिनका लागि एउटा असल ‘कल्चर’ स्थापित गर्ने मौका छ ।

काम देखाउन सक्ने दक्ष मन्त्री नियुक्त गर्नु आजको आवश्यकता हो । समयको यो आवश्यकता पार्टी सदस्यहरूलाई र पदका आकांक्षीहरूलाई बुझाउनु नेताको जिम्मेवारी र कर्तव्य दुवै हो । अकांक्षीहरूले पनि यही नै अन्तिम मौका हो वा मन्त्री बन्नु नै मेरो जीवनको सार्थकता हो भन्ने नठानी नेतृत्वका लागि सहज परिस्थिति निर्माण गर्न सघाउनु जरुरी छ ।

यो गठबन्धन प्रभावकारी हुन सकेन, अपेक्षित समयमा मन्त्रीहरू नियुक्त गर्न सकेन र राज्य सञ्चालनमा देखिने गरी न्यूनतम काम पनि गर्न सकेन भने प्रतिनिधिसभा पुनर्स्थापित हुनुको राजनीतिक औचित्य स्थापित हुने छैन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ५५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन