काठमाडौँ– टोकियो ओलम्पिकको दोस्रो साता चलिरहँदा चीनको अग्रता कायम छ । डाइभिङ, टेबल टेनिस, भारोत्तोलन र ब्याडमिन्टनमा स्वर्ण जितेको चीन पौडीमा पनि विगतको भन्दा धेरै सुधारिएको अवस्थामा छ ।
चीनका पकड र प्रभाव रहेका केही खेलको स्वर्ण पदकको फैसला सोमबार पनि हुनेछ । स्वाभाविक रूपमा आज साँझसम्म चीनको अग्रता कायम रहनेछ । यो अग्रता अझ बढ्न पनि सक्नेछ ।
सोमबार जिम्न्यास्टिकमा पुरुषमा भोल्ट र रिङ तथा महिलामा फ्लोरको स्पर्धा हुनेछ । फ्लोरमा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड रहेको थियो । उनको अनुपस्थितिमा फ्लोरको उपाधि होड खुला भएको छ ।
एथ्लेटिक्समा पुरुष लङ जम्प र महिला सय मिटर हर्डल्सको उपाधि बिहानको सत्रमा टुङ्गो लाग्नेछ । महिला हर्डल्समा प्युरेटीकाको स्वर्ण सम्भावना प्रबल रहेको छ ।
महिला डिस्कस थ्रो, पुरुष ३ हजार मिटर स्टीपल चेज र महिला ५ हजार मिटर दौडको स्पर्धा सोमबार हुनेछ । यी तीन पदकको टुङ्गो लाग्दा दुई मध्यम दूरीका दौडमा अफ्रिकी महादेशका खेलाडीको पकड रहने सम्भावना प्रबल रहेको छ ।
ब्याडमिन्टनको महिला डबलको फाइनलमा चिनिया जोडीले इन्डोनेसियाका खेलाडी तथा पुरुष एकलको फाइनलमा चीनका चेङ लोङले डेनमार्कका अलेक्जेन्डर भिक्टरसँग प्रतिस्पर्धा गर्नेछन् ।
ट्र्याक साइक्लिङमा महिला स्प्रिन्टको स्वर्ण पदकको टुङ्गो सोमबार लाग्नेछ । यो स्पर्धामा युरोपेली खेलाडीकै प्रभाव रहने छ । इक्वेस्ट्रियनमा जम्पिङ टिम र व्यक्तिगत इभेन्टिङ जम्पको फाइनल हुनेछ ।
सेलिङमा महिला स्किफ र पुरुष स्किफको पदको टुङ्गो लाग्नेछ । सुटिङमा पुरुषको २५ मिटर रेपिड फाइर पिस्तोलको फाइनल हुने छ । यसैगरी ५० मिटर राइफल थ्री पोजिसनको पनि फाइनल हुनेछ ।
भारोत्तोलनको महिला ८७ किलो र ८७ किलो भन्दामाथिको स्पर्धामा फाइनल हुन छ भारोत्तोलनमा चीनलाई बलियो मानिएको छ ।
रेस्लिङमा पुरुष ६० किलोको फाइनल हुने छ । जापानका केन्चिरो फुमिता र क्युबाका ओर्टा साचेज बीच यो स्पर्धामा उपाधि भिडन्त हुनेछ । फ्री स्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलिन ग्रेले जर्मनीकी रोटर फोकनको सामना गर्ने छिन् ।
महिला फुटबलको सेमिफाइनल खेल पनि सोमबार हुनेछ । अमेरिकाले क्यानडाको सामना गर्नेछ भने स्विडेनले अस्ट्रेलियासँग खेल्नेछ । क्यानडाले यसअघि बलियो टोली ब्राजिललाई हराएको थियो ।
सोमबार सुटिङका स्पर्धा सकिने छन् । योसँगै टोकियो ओलम्पिकमा थ्री बाइ थ्री बास्केटबल, पौडी, आर्चरी, फेन्सिङ, जुडो तेक्वान्दो, रोइङ, रग्बी, सर्फिङ, टेनिस र ट्रायथलनका सम्पूर्ण स्पर्धा सकिएका छन् ।
ब्याडमिन्टनमा पनि सोमबारको खेल अन्तिम हो । एकपछि अर्को अस्वाभाविक प्रदर्शन देखिएको ओलम्पिकमा महिला सय मिटर हर्डल्समा प्युरेटिकाकी जस्टिन कमाचोले विश्व कीर्तिमान कायम गर्न सक्ने अनुमान धेरैको छ । –एसेन्सीहरूको सहयोगमा
प्रतिक्रिया