काठमाडौँ– एउटा सामान्य चुम्बक कारखानाका कामदार जर्ज मेसी र उनकी श्रीमती सेलिया कुकुटिनी । त्यसो त, दक्षिण अमेरिका लामो समय युरोपेली उपनिवेशमा थियो ।
युरोपले उपनिवेश मात्र बनाएन, दक्षिण अमेरिकाको सामाजिक र सांस्कृतिक जीवन युरोपको प्रभावमा थियो । साथमा मिश्रित संस्कृतिको शुरूवात पनि धेरै अघि भएको थियो, दक्षिण अमेरिकामा ।
जर्ज मेसीको पुर्खा स्पेनिस र इटालियन मूलका थिए अनि कुकटिनीका पुर्खा इटालियन । यिनका चार सन्तानका लागि अर्जेन्टिना, इटाली र स्पेन सबै आफ्ना गाउँ जस्तै थिए ।
जर्ज मेसीका चार सन्तान मध्यकै तेस्रो लियानेल मेसीले सानो छँदा अर्जेन्टिनाको न्यु वल्ड ब्वाइजमा तहल्का मच्चाएका थिए । स्पेनको काटालानमा पनि आफन्त थिए । लियोनेल मेसी सन् २००० मा उतै पुगे ।
मेसी यसपछि संसारकै पायनियर बार्सिलोनाको फुटबल एकेडेमीमा आबद्ध भए । दुई दशकको अन्तरालमा फुटबलको दुनियाँमा जिउँदो इतिहास बने । उनका समर्थकको भाषामा ‘मोर दान ह्युमन विङ’ भए ।
तिनै मेसी आफूले लामो समय बिताएको बार्सिलोना छाडेर मङ्गलबार साँझ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भए । उनी बार्सिलोनासँग २१ वर्षको आबद्धता छाडेर दुई वर्षका लागि फ्री ट्रान्सफरको रूपमा पीएसजी पुगेका हुन् । उनको वार्षिक तलब ३ करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
पीएसजीमा आबद्ध भएपछि मेसीले नयाँ खेल जीवन शुरू गर्न पाएकोमा खुसी लागेको बताएका छन् । क्लब अध्यक्ष नासेर अल खलाफीले मेसीको उपस्थिति आफूले चाहेको जस्तो भएको र यो दुवै पक्षका लागि उपलब्धिमूलक भएको जनाएका छन् ।
उनले मेसीको उपाधिको भोक अझै नमेटिएको र यसका लागि पीएसजी उपयुक्त रोजाइ भएको पनि बताएका छन् ।
मेसीले सन् २०१९ मै ट्रान्सफरको लागि अनुरोध गरेका थिए । मेसीको यो अनुरोधसँगै म्यानचेस्टर सिटी, इन्टर मिलान र बार्सिलोना उनीप्रति इच्छुक थिए । बार्सिलोनाले मेसीलाई अर्को एक वर्ष खेल्न मनाएको थियो । क्लबमा बढ्दै गएको आर्थिक समस्याका कारण अहिले भने बार्सिलोनाले मेसीलाई राख्न चाहेन ।
बार्सिलोनामा रहँदा मेसीले चार पटक च्याम्पियन्स लिग र १० पटक ला लिगाको उपाधि जित्यो । नेइमार, एमबापे र मेसीको संयोजनमा लीलेसँग घरेलु लिगको उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा पीएसजी रहेको छ ।
यो सम्भावना प्रबल मानिएको छ । साथमा युरोपेली प्रतियोगिता पनि पीएसजी बलियो मानिने छ ।
मेसीले बार्सिलोनामा आफूलाई स्थापित गराउन शुरूवाती दिनमा ठूलो संघर्ष गरे । फुटबल स्टारको ड्रिम क्लबमा २१ वर्ष अघि प्रशिक्षण लिँदा पनि उनले फुटबल नियमित खेल्न पाउने पक्का थिएन । धेरैको मन जित्दै मेसी २००३ मा पहिलो पटक क्लबको पहिलो रोजाइको सदस्य बने ।
सोह्र वर्ष २३ दिनको उमेरमा उनी एफसी पोर्टोविरुद्ध बार्सिलोनाको जर्सीमा मैदानमा ओर्लेका थिए । सन् २००३ को नोभेम्बरमा जब उनको उपस्थिति देखियो, तत्कालीन स्टार रोनाल्डिन्होले आफूभन्दा मेसी राम्रो खेलाडी रहेको प्रतिक्रिया दिए ।
मेसी सन् २००५ मा मेसी पहिलो पटक बार्सिलोनाको शुवाती ११ को खेलाडीमा परे । बार्सिलोनामा यो फड्को मारेसँगै उनले युभेन्ट्स विरुद्ध गरेको प्रदर्शन अझै स्मरणीय मानिन्छ । सीमित संख्यामा मात्र विदेशी खेलाडी मैदानमा उपस्थित हुन पाउने प्रावधानका कारण मेसीले शुरूवाती दिनमा अप्ठेरो झेल्नु परेको थियो ।
त्यसो त बार्सिलोनामा त्यो समयमा पनि एके से एक स्टार थिए । यसैबीच उनले स्पेनको नागरिकता स्वीकार गरे । यसपछि नियमित स्थान पाएका मेसीले सामुयल इटो र रोनाल्डिन्होसँग मिलेर त्रिपक्षीय आक्रमणको जिम्मेवारी लिए । संसारकै स्टार फरवार्ड भएका कारण उनले दायाँ विङको जिम्मेवारी लिएका थिए ।
सन् २००६ र ०७ को सिजनमा उनी संसारकै एक उत्कृष्ट फुटबलरको कोटीमा राखिए । सन् २००७ मार्च १० मा रियल म्याड्रिडसँग ३–३ गोल भएको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसपछि उनको तुलना संसारका महान् खेलाडी डिएगो म्यारोडोनासँग हुन थाल्यो ।
सन् २००८ मा रोनाल्डिन्होले बार्सिलोना छाडे पछि १० नम्बर जर्सी मेसीले पाए । त्यही वर्ष उनी नयाँ सम्झौता गर्दै क्लबमा सबैभन्दा बढी तलब लिने खेलाडी भए । २००८ र ०९ को सिजनमा उनले ५१ खेलमा गोल गरे ।
मेसी, इटो र थिएरी हेनरीसँगको समन्वयमा जम्मा सय गोल भएको थियो । राइकार्ड स्थानमा पेप गुवार्डीओलको आगमनसँगै मेसीको भूमिका पनि फेरिएको थियो । यो नयाँ भूमिकासँगै मेसीले कहिल्यै पछाडि हेर्नु परेन ।
सन् २०१० मा उनले फुटबलको प्रतिष्ठित बालोन डी ओर अवार्ड पाए । यसपछि ६ पटक ‘बालोन डी ओर’ अवार्ड पाएका मेसीसँग वर्तमानमा कसैको पनि तुलना हुँदैन ।
पीएसजीमा उनको सामु केही प्रश्न तेर्सिने छन् । यसबीचमा केही पारिवारिक विवाद र कर छलीको आरोपको सामना गरेका मेसीको पीएसजी आगमनसँगै क्लबमा पाउने भूमिका र क्लबको खेल शैलीप्रति धेरैको चासो रहेको छ । नेइमार, एमबापे र मेसीको समन्वयले कत्तिको सफलता दिलाउने हा, त्यो पनि धेरैका लागि प्रतीक्षाको विषय बनेको छ । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया