गंगालालमा आकृतिको मृत्यु प्रकरण : उजुरी दिन जाँदा उल्टै थर्काउँछ प्रहरी ! « Khabarhub

गंगालालमा आकृतिको मृत्यु प्रकरण : उजुरी दिन जाँदा उल्टै थर्काउँछ प्रहरी !




काठमाडौं– मुटु रोगको उपचारका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी पाँच वर्षीया बालिका आकृति कुमारी साहको मृत्यु भएको १० दिन भइसकेको छ ।

मुटुसम्बन्धी समस्या भएकी आकृतिको बैशाख १७ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकृतिको ओपन हार्ट सर्जरी गरेको थियो । शल्यक्रिया भएको १ साता पछि अस्पतालले आकृतिको मृत्यु भएको भन्दै अभिभावकलाई शव लिन बोलायो ।

तर, गलत समूहको रगत दिएर छोरीको मृत्यु भएको भन्दै आकृतिका बाबु रामप्रवेश साहले छोरीको शव लिन मानेनन् ।

छोरीलाई गलत समूहको रगत दिने चिकित्सकलाई कारबाही नभएसम्म अस्पतालबाट शव नउठाउने अडान आफन्तले राखेपछि अस्पतालले महानगरीय प्रहरी बृत्त महाराजगञ्जको सहयोगमा शव त्रिवि शिक्षण अस्पताल लगेको थियो ।

आकृतिका बाबु रामप्रवेश र आमा पिङ्की साह अस्पतालले गलत समूहको रगत दिएर छोरीको मृत्यु भएको भन्दै अस्पताललाई कारबाही गर्नुपर्ने माग राख्दै १० दिनदेखि विभिन्न निकायमा धाइरहेका छन् । तर, आफूहरुको गुनासो कुनै पनि निकायले नसुनेको आकृतिका बाबु रामप्रवेशले खबरहवलाई बताए ।

चिकित्सकले गलत समूहको रगत दिँदा छोरीको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले उजुरी समेत लिन नमानेको रामप्रवेशको गुनासो छ ।

‘१० दिन भयो न्यायका लागि धेरै ठाउँमा गयौं, अहिलेसम्म कसैले पनि उजुरी लिन मान्दैनन्,’ रामप्रवेशले भने, ‘छोरीको मृत्युले बुढी (श्रीमती पिङ्की)को आँखा अझै ओभाएको छैन । प्रहरीले नै उजुरी लिन नमानेपछि न्याय माग्न कहाँ जाउ ?’

छोरीको उपचारमा लापरवाही गर्नेविरुद्ध उजुरी गर्न साह दम्पत्ति महानगरीय प्रहरी परिसर टेकुमा पनि धेरै दिन धाए । तर, टेकु परिसरले उजुरी लिन मानेन ।

‘टेकुमा अस्पतालविरुद्ध उजुरी दिन जाँदा डिएसपीले एसएसपीलाई सोध्नुपर्छ भने । जिल्ला प्रशासन कार्यलय काठमाडौं, सरकारी वकिलको कार्यलय सबै ठाउँमा धाइसके, कसैले उजुरी लिनै मान्दैन,’ आकृतिका बाबु रामप्रवेसले खबरहबलाई भने ।

आकृतिको मृत्यु भएको १० दिन भइसक्दा पनि रामप्रवेश र पिङ्कीले छोरीको मृत शरीर देख्नसम्म पनि पाएका छैनन् ।

‘चक्रपथको प्रहरीले कागजमा साइन गर्नु, छोरीको शव लैजानु भन्दै थर्काउँछ, अस्पतालले केही पनि कुरा गर्दैन,’ रामप्रवेशले भने, ‘छोरीको शव टिचिङ लगेको छ भन्ने सुनेका छौं, १० दिन भैसक्यो छोरीको शव पनि देख्न पाएको छैन ।’

यता महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले भने आकृतिको मृत्युका सम्बन्धमा उजुरी दिन आएको विषयमा कुनै जानकारी नभएको बताए ।

‘उहाँहरुको विषयमा महाराजगञ्जमा कुरा भइरहेको चाहिँ थाहा छ, तर टेकुमा उजुरी दिन आएको जानकारी मलाई छैन,’ डिएसपी बोगटीले खबरहबसँग भने, ‘कानूनसम्मत उजुरी आइसकेपछि प्रहरीले उजुरी दर्ता गर्नुपर्छ । म मुद्धा शाखामा यो घटनाको विषयमा अहिले नै जानकारी लिन्छु ।’

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : १६ बजे

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय