टेनिसमा राडुकानुको चामत्कारिक जितले देखाएको बाटो | Khabarhub Khabarhub

टेनिसमा राडुकानुको चामत्कारिक जितले देखाएको बाटो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिटिस टेनिस स्टार १८ वर्षीया अम्मा राडुकानुले युएस ओपन जितेपछि २५ लाख अमेरिकी डलर पुरस्कार पाइन् । अब उनले कति प्रायोजक पाउने हुन् त्यो अनिश्चित नै छ ।

उनको यो सफलता एउटा संयोगमात्र हुनेछ वा अर्को युगको शुरूवात हुनेछ भन्ने पनि निश्चित छैन । जसरी ९० को दशकको शुरूमै मोनिका सेलेस र ९० कै दशकको अन्त्यमा सेरेना विलियम्सले नयाँ युगको शुरूवात गरेका थिए त्यसरी नै अब राडुकानु युग शुरू हुन सक्नेछ ।

खेलकुदमा पाएको सफलतासँगै बजारमा चासो बढ्छ, राडुुकानुप्रति चासो बढेको छ । संसारका ठूला कम्पनीहरूको ध्यान उनीतर्फ मोडिएको छ । उनको यो सफलतासँगै आर्जित रकमको आधारमा आगामी दिन कस्तो होला भन्ने अनुमान पनि हुन थालेको छ ।

लन्डनस्थित ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रमुख जोनाथन सालिटले अर्को वर्ष राडुकानुले सय मिलियन अमेरिकी डलरभन्दा बढी कमाइ गर्ने अनुमान गरेका छन् । सालिटले नेतृत्व गरेको संस्थामा दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता मुक्केबाज निकोला एडम्स लगायत छन् । संसारका ठूला ब्रान्डहरू राडुकानुको पछि सालिटको दाबी छ । उनी भन्छन्, ‘यसरी पछि लाग्नेमा फेसन, गरगहना, कस्मेटिक, स्किन केयर र हेयर केयरसँग सम्बन्धित हुनेछन् ।’

राडुकानुले शनिबार क्यानडाली खेलाडी लेलाह फर्नान्डेजलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेकी हुन् । उनको सफलताको समाचार न्यु योर्क टाइम्स र दि गार्जियनले मुख पृष्ठमा छापेका थिए ।

रोमानियाली बाबु र चिनियाँ आमाकी सन्तान राडुकानु क्यानडामा जन्मिएकी थिइन् । उनी दुई वर्षको उमेरमा बेलायत पुगिन् । अहिले उनलाई प्रायोजन गरिरहेका नाइक र विल्सनका अतिरिक्त क्यानडा, रोमानिया, बेलायत र चिनियाँ कम्पनी स्वतः उनीप्रति आकर्षित हुनेछन् । इन्टरनेसनल मार्केटिङ पार्टनरका कार्यकारी प्रमुख एलिसन स्टेवार्ट राडुकानुलाई आफ्नो ब्रान्डमा आबद्ध गराउन चाहनेको भिड लागेको बताउँछन् ।

राडुकानुले अर्को वर्ष विम्बल्डन जितिन् र फर्मलाई दश वर्ष कायम राख्न सकिन् भने उनी संसारकै पहिलो बिलियन डलरकी महिला स्पोर्ट्स पर्सन हुनेछिन् । यसले उनलाई धनी खेलाडीहरू गल्फका टाइगर उड्स, बास्केटबल लिजेन्ड माइकल जोर्डन र टेनिस स्टार रोजर फेडेरेरको समकक्षमा पु¥याउनेछ ।

गत महिना फोब्र्सले सार्वजनिक गरेको रिपोर्टअनुसार फेडेरर बिलियन डलर कमाउने छैटौँ खेलाडी हुन् । सन् २०२१ मा मात्र उनले पुरस्कार र प्रायोजक गरी ९ करोड ६० लाख अमेरिकी डलर कमाए । दोस्रो स्थानमा रहेकी जापानकी नाओमी ओसाकाले ६ करोड १० लाख डलर कमाइन्, सेरेना विलियम्सले ४ करोड १८ लाख मिलियन डलर कमाइन् । फोब्र्सका अनुसार ओसाका अहिलेसम्म सबैभन्दा धेरै कमाउने महिला खेलाडी हुन् ।

टेनिसमा धेरै कमाइ अफ कोर्ट नै हुने गर्छ । पुरस्कार रकमभन्दा धेरै गुना बढी कमाइ प्रायोजक र मार्केटिङबाट हुन्छ । राडुकानु पनि यस पथमा जाने प्रशस्त आधार रहेको मत जानिफकारहरूको छ ।

युरोरिया स्पोर्ट्स उद्योगका प्रोफेसर सिमोन चाडविकका अनुसार राडुकानुले फेडेररलाई भेट्न धेरै वर्ष कुर्नुपर्छ । ओसाकालाई भने केही वर्षमै भेट्ने चाडविकको ठहर छ । अब एक ग्रान्डस्लाम जितिन् भने राडुकानुले एक मिलियन अमेरिकी डलरभन्दा बढी कमाउने अनुमान चाडविकको छ । उनका अनुसार यो वर्ष टेनिस खेलाडीप्रति व्यावसायिक क्षेत्रको चासो धेरै छ । यसमा महिलाहरू भने अझै पनि पछि छन् ।

यूएस ओपनको सफलतापछिका केही प्रतियोगितामा विजय हात पारे बजारमा राडुकानुको मूल्य एकाएक बढ्ने अनुमान चाडविकको छ । संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीन मामाघर भएका कारण चिनियाँ बजारमा आफ्नो उत्पादनको माग बढ्ने आशाका साथ थुप्रै कम्पनी उनीप्रति आकर्षित भएका छन् ।

चिनियाँ कम्पनीहरू घरेलु बजारमा राडुकानुको उपस्थितिमा आफ्नो ब्रान्डले फड्को मार्ने आशाका साथ उनीसँग सम्झौता गर्न हतारिएका छन् । मोबाइल ब्रान्ड र डिजिटल क्षेत्र अझ बढी आतुर छन् ।

तीन महिनाअघिसम्म राडुकानु टेनिस फ्यानका लागि धेरै परिचित नाम होइन । विश्व बरीयता क्रमको ३५० भन्दा बाहिर रहेकी यिनले एउटामात्र व्यावसायिक प्रतियोगिता खेलेकी थिइन् । दोस्रो व्यावसायिक प्रतियोगिता खेल्दै ग्रान्डस्लाम विजेता बन्नु टेनिस इतिहासमै दुर्लभ हो ।

राडुकानुको जित यति सनसनीपूर्ण रह्यो कि १० खेलमा एउटा पनि सेटमा पराजित भइनन् । अन्तिम चरणको प्रतियोगिता अघि छनोट चरणमा पनि उनले तीन खेल खेलेकी थिइन् ।

यी किशोरीले गत सातामात्र १९ वर्षमा प्रवेश गरेकी अर्की खेलाडी लेलाह फर्नान्डेजलाई फाइनलमा सोझो सेटमा हराएकी हुन् ।

यस पटकको यूएस ओपनमा सेरेना विलियम्स, रोजर फोडेरर र राफेल नाडाल सहभागी भएनन् । यी तीन जनाको अनुपस्थितिमा कुनै ठूलो प्रतियोगिता भएको १९९७ पछि यो पहिलो थियो । साबिक विजेता डोमिनिक थिम पनि सहभागी थिएनन् । यसकारण धेरै युवा खेलाडीलाई अवसर पनि थियो ।

टेनिसको इतिहासमा पहिला पनि युवा खेलाडीको एकाएक उदय नभएको होइन । सन् ९० को दशकमा जेनिफर क्याप्रियाटी १४ वर्षको उमेरमै ग्रान्डस्लामको सेमिफाइनलमा प्रवेश गरेकी थिइन् तर पहिलो ग्रान्डस्लाम जित्न एक दशकभन्दा बढी समय कुर्नु प¥यो ।

सन् १९९९ को यूएस ओपनमा मार्टिना हिङ्गिजलाई हराएर टेनिसको दुनियाँमा सेरेना विलियम्सको उदय भएको थियो । सन् १९९० मा मोनिका सेलेसले फ्रेन्च ओपन जितेको समयमा कसैले यो सफलताको अनुमान पनि गरेका थिएनन् । यसपछि भने टेनिसमा परिपक्व खेलाडीकै प्रभाव रह्यो ।

बाइस वर्षपछि एकै पटक यो वर्ष यूएस ओपनमा दुई टिनएजर फाइनलमा प्रवेश गरे । उनीहरूको यो सफलता अलिक फरक शैलीको थियो । फाइनल प्रवेश गर्ने दुवै खेलाडी यूएस ओपनअघि परिचित थिएनन् ।

यूएस ओपन शुरू हुँदा पनि राडुकानु विश्व बरीयतामा १५०औँ स्थानमा थिइन् । मुख्य प्रतियोगिता खेल्नुअघि उनले छनोट पार गर्नुपर्ने थियो । सेमिफाइनल प्रवेश नै उनको एउटा कीर्तिमान थियो । ओपन एराको खेलमा क्वालिफायर सेमिफाइनल प्रवेश गर्ने दोस्रो खेलाडीको रूपमा उनको कीर्तिमान बन्यो । सबैभन्दा आश्चर्य त यसअघि उनले कुनै पनि प्रतियोगिता जितेकी थिइनन् ।

फाइनल प्रवेश गरेपछि नै सन् २००४ मा मारिया सारापोभा विम्बल्डनको फाइनलमा प्रवेश गरेयता ग्रान्डस्लाम फाइनल प्रवेश गर्ने कान्छो खेलाडीको रूपमा राडुकानुले कीर्तिमान कायम गरिन् । सन् १९७७ मा भर्जिनिया वाडेले विम्बल्डन जितेयता ग्रान्डस्लाम जित्ने पहिलो बेलायतीको रूपमा पनि राडुकानुले कीर्तिमान बनाइन् ।

उपाधिको दौरान २०औँ बरीयताभित्रका दुई खेलाडीलाई उनले पराजित गरिन् । यसमा १८आँै बरीयताकी मारिया सकारी र १२आँै बरीयताकी बेलिन्डा बेनकिक थिए । राडुकानका हरेक सफलताले उनी स्वयंलाई आश्चर्यमा पार्दै लगेको थियो । उनले पछिल्लो सफलतामा आफैँलाई विश्वास गर्न कठिन भएको बताएकी छन् ।

यो वर्ष खेलकुदमा आप्रवासी पारिवारिक पृष्ठभूमिका खेलाडीको प्रभाव धेरै रह्यो । टोकियोमा भएको ओलम्पिकको महिला जिम्न्यास्टिक र एथलेटिक्सको आठ सय मिटर दौडका उपाधि विजेता विशेष चर्चामा थिए । जिम्न्यास्टिकको स्वर्ण पदक विजेता सुनी ली लाओसबाट आएका हमोङ समुदायका आमाबाबुकी सन्तान थिइन् ।

एथलेटिक्सकी नयाँ स्टार एथिङ मु सुडानी आप्रवासीकी सन्तान थिइन् । परन्तु यो आप्रवासी पृष्ठभूमिले उनीहरूको बजारमा प्रभाव पारेन । सुडान र लाओस विश्व बजारमा अर्थपूर्ण क्षेत्र होइनन् ।

राडुकानुको हकमा बेलायत, चीन र क्यानडाका बजारमा जुनसुकै ब्रान्डको प्रभाव पर्ने व्यापक सम्भावना छ ।

संसारका धेरै आम्दानी गर्ने महिला खेलाडीको सूचीमा ओसाकाका अतिरिक्त फुटबलमा क्यानडाकी क्रिस्चियन सिन्कलियर, गल्फमा स्विडेनकी अन्ना सोरेन्सटन, बास्केटबलमा एनबीए स्टार सुई वर्ड लगायतका खेलाडी लामो समयदेखि चर्चामा छन् । पौडीमा अमेरिकी केटी लेडेकीको चर्चा छ ।

ठूला प्रतियोगितामा कम उमेरमा प्राप्त सफलता, आप्रवासी पृष्ठभूमि र ठूला बजार भएका देशमा पारिवारिक साइनोका कारण राडुकानुले चाँडै विश्व खेलकुदमा पहिलो बिलेलियर महिला खेल व्यक्तित्व स्थापित गर्ने अनुमान छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : १५ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर (झापा)– जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको

वीरगञ्जमा कर्फ्यू

काठमाडौं– वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ । वीरगञ्जको छप्कैया

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौं- काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ