नेताका स्वार्थले मडारिएको अनिश्चितताको भुमरी | Khabarhub Khabarhub

नेताका स्वार्थले मडारिएको अनिश्चितताको भुमरी



प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला ‘अप्रिय’ निर्णय लिने तयारीमा रहेको समाचार आएको छ । देउवाले लिने अप्रिय निर्णय कस्तो हो ? यतिबेला देउवा अप्रिय निर्णय लिने बाध्यतामा किन छन् ? यी प्रश्नहरू अनुत्तरित छन् ।

गत शुक्रबार बाढीपहिरो निरीक्षणका लागि धनगढी पुगेका देउवाले प्रसङ्गबिनै एमसीसी सम्झौता संसदबाट पारित गर्नेमात्रै बताएनन्, एमसीसीबारे भइरहेको दुष्प्रचारप्रति आफू गम्भीर रहेको समेत बताए ।

‘एमसीसी पास गर्ने इच्छा भए पदबाट राजीनामा दिएर अर्को सत्ता समीकरण बनाउन’ सत्ताका साझेदारहरूले प्रधानमन्त्री देउवालाई चेतावनी दिइसकेका छन् । एमसीसीका लागि सहयोग चाहिने हो भने ‘अर्ली इलेक्सन’ का लागि तयार रहन प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवासँग शर्त राखेको छ ।

अर्ली इलेक्सनका विषयमा प्रधानमन्त्री देउवालाई मिडियाकर्मीले सोधेका थिए । देउवाले प्रष्ट जवाफ दिएनन्, सत्ता गठबन्धनमा सामेल दलहरूसँग सल्लाह गरेर निर्णय लिने बताए । सत्ता गठबन्धनका सहयोगी दलहरू न एमसीसीको पक्षमा छन्, न अर्ली इलेक्सनको ।

एमसीसी र अर्ली इलेक्सनका विषयमा तत्कालीन सत्तारूढ नेकपामा गम्भीर मतान्तर भएकै कारणले प्रधानमन्त्री पद देउवाको हात पुगेको हो। प्रचण्ड र माधव नेपाल एमसीसी पारित गर्ने वा अर्ली इलेक्सन गराउने पक्षमा हुन्थे भने ओलीले सत्ता छाड्नुपर्ने थिएन ।

प्रधानमन्त्री देउवाले ‘एमसीसी सम्झौता पारित गर्ने र अर्ली इलेक्सनका विषयमा सत्तासहयात्रीहरूसँग छलफल गर्ने’ बताउनुको तात्पर्य कम गम्भीर छैन । एमसीसी पारित गर्ने विषयमा सत्तासहयात्री दलहरूसँग सल्लाह नै नगरी प्रसङ्गबिनै बोल्न सक्ने प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनका विषयमा ‘सल्लाह गर्छु’ भन्नुको तात्पर्य गम्भीर मान्नुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका पारिवारिक सम्बन्धीसमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको विशेष दूतका रूपमा हरेक साताजसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु संयोगमात्रै होइन ।

सकेसम्म कोही पनि अप्रिय निर्णय गर्न चाहँदैन । अप्रिय निर्णय बाध्यताका उपज हुन् । बाध्यताको पनि आफ्नै सीमा हुन्छ, बाध्यताको प्रकार पनि एउटै हुँदैन ।

प्रधानमन्त्री देउवाले यतिबेला लिन खोजेको अप्रिय निर्णय नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुने सुनिश्चित नभएसम्म महाधिवेशन सार्दै जानुपर्ने उनको बाध्यताको उपज हो ।

आफ्नो पदलाई निरन्तरता दिने महत्वाकाङ्क्षाको पासोमा उनिँदा देउवाले यसअघि लोकतन्त्र नै धरापमा पर्ने अप्रिय निर्णय गरेका थिए । यस पटक पनि देउवा चरम महत्वाकाङ्क्षाका कारण उत्पन्न बाध्यताको पासोमा उनिँदै गएका छन् ।

सभापति पदको उम्मेदवार बनेपछि चुनाव जित्नै पर्ने वाध्यता देउवालाई छ । चुनाव जित्न ५० प्रतिशत भोट कटाउनुपर्छ । त्यो अवस्था देउवाको छैन । अधिवेशन भएका १३ जिल्ला र पालिका अधिवेशन भएका ५६ जिल्लाको परिणाम सभापति देउवाको महत्वाकाङ्क्षाका लागि सुखद छैन ।

छिमेकी मित्रराष्ट्र भारतले भ्रमणका लागि बोलाएको छैन । भारत भ्रमण गरेरमात्रै अरू मुलुकको भ्रमण गर्ने परम्परालाई निरन्तरता दिने देउवाको प्रयास सफल हुनसकेको छैन ।

अर्ली इलेक्सनमा प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता ओलीको स्वार्थ मिलेको छ । देउवाले चाँडै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गराए भने अचम्म मान्नुपर्ने छैन । प्रतिनिधिसभालाई असफल देखाउनमा र महाधिवेशन सार्नमा दुवैलाई लाभ हुनेछ ।

गएको तीन महिनामा प्रधानमन्त्री देउवाले भारत भ्रमणका लागि गरेको प्रयास सानो छैन । यो असफलताको परिणाम कांग्रेसको आसन्न चौधौँ महाधिवेशनसँग जोडिने आकलन देउवाको छ ।

यथास्थितिमा आफू पार्टी सभापति बन्न राष्ट्रिय परिस्थिति मात्रै होइन, अन्तर्राष्ट्रिय परिस्थिति समेत प्रतिकूल रहेको कुरा देउवालाई थाहा छ । यसै कारण उनी महाधिवेशन पर धकेल्ने रणनीतिमा छन् । यो रणनीतिका लागि अर्ली इलेक्सन बाहेक देउवाका लागि अर्को विकल्प छैन ।
अर्ली इलेक्सन घोषणा नगरी महाधिवेशन सार्नु देउवाका लागि झन खतरा हुनेछ । प्रतिनिधिसभाको कार्यकाल अझै १५ महिना बाँकी छ । यस अवधिमा देउवाको प्रधानमन्त्री पद फुत्किन पनि सक्छ ।

कृष्णप्रसाद भट्टराईजस्ता लोकप्रिय नेताको समेत १५ दिने पूर्वसूचनाका आधारमा प्रधानमन्त्री पद चट भएको नजीर छ । भट्टराईलाई पूर्वनिर्धारित फ्रान्स भ्रमण एक साता पछि सार्न र त्यो अवधिमा दिल्ली भ्रमण गर्न भारतले आग्रह गरेको थियो ।

समयमै नबोलाएको कारण देखाएर प्रधानमन्त्री भट्टराईले फ्रान्स भ्रमणबाट फर्केलगत्तै भारत जाने कार्यतालिका तय गरे तर फ्रान्स भ्रमणको समेत अवसर नपाई एकाएक राजीनामा दिनुपर्ने बाध्यतामा परे । उनलाई आफ्नै पार्टी नेपाली कांग्रेसले यस्तो बाध्यतामा पारेको थियो । सन्त नेता भट्टराईले आफ्नै पार्टीबाट एक साताको म्याद समेत नपाएको तीतो इतिहास छ ।

अर्ली इलेक्सनको घोषणा हुनु प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्न नपाउनु हो । प्रतिनिधिसभा नरहेपछि प्रधानमन्त्री परिवर्तनको खेल हुँदैन । अध्यादेशको औजार छँदैछ । यसो भएपछि यस अवधिमा हुने तीन वटा ठूला निर्वाचनका लागि पनि आफैँले टिकट बाँड्न पाइने भयो । यतिबेला देउवाले हेरेको दाउ यही हो ।

चौथो पटक निर्धारण गरिएको मितिमा पनि महाधिवेशन नहुने पक्का भइसकेको छ । आगामी मंसिर ९ देखि १३ सम्मका लागि तय गरिएको महाधिवेशनको मिति माघसम्म सार्ने प्रस्ताव लैजाने तयारीमा महामन्त्री पूर्णबहादुर खड्का थिए तर सभापति देउवाले एकाएक यो प्रस्ताव रोके ।

यसको अर्थ हो देउवा आमनिर्वाचन नभएसम्म महाधिवेशन गराउन चाहँदैनन् । आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेर तत्काल प्रतिनिधिसभा विघटन नगर्ने हो भने देउवाको प्रधानमन्त्री पद धरापमा पर्ने सम्भावना प्रधानन्यायाधीश प्रकरणले समेत उत्पन्न गराएको छ ।
प्रधानन्यायाधीश राणालाई पदमुक्त गराउन यतिबेला जुन हदको आन्दोलन सर्वोच्च अदालतका वहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र बारले उठाएका छन्; त्यसको नसा प्रधानमन्त्री देउवाको नाभीसम्म गाँसिएको छ ।

प्रधानन्यायाधीश राणाको पद जाने देउवाको रहने भन्ने नै हुँदैन । मन्त्रिपरिषदमा भागबण्डा खोजेवापत प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग उठेको हो । राणाले मन्त्रिपरिषदमा भाग खोजेको प्रमाणित हुन्छ भने प्रधानमन्त्री देउवाले भाग दिएको प्रमाणित हुन्छ । भाग माग्ने भन्दा भाग दिने बढी दोषी हुन्छ ।

अर्ली इलेक्सनका लागि देउवा र ओलीको स्वर्थ मिलेको छ । देउवा र ओलीले चाहँदैमा प्रतिनिधिसभा विघटन हुन सक्ला त भन्ने प्रश्न कम पेचिलो छैन । वैकल्पिक सरकार गठन हुने सम्भावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने र सरका गठनमा पार्टीको ह्वीप समेत नलाग्ने फैसला सर्वोच्च अदालतको गरिसकेको छ ।

मन्त्रिपरिषदको पछिल्लो विस्तारभन्दा एक साताअघि प्रधानन्यायाधीश राणाले सर्वजनिकरूपमै आफ्ना जेठान गजेन्द्र हमालको नाम लिँदै भनेका थिए– सांसद नहुँदैमा मन्त्री बनाउन नपाइने नजीर कहाँ छ ? गजेन्द्र हमालको योगदान शेरबहादुरको भन्दा कम छ र ?’

नभन्दै हमाल मन्त्री बनाइए । व्यापक विरोध भएपछि दुई दिन नबित्दै उनले राजीनामा दिए । नैतिकताको यो पासो प्रधानन्यायाधीश राणाको घाँटीमा लाग्छ भने देउवाको घाँटीमा नलाग्ने कुरै भएन । देउवा यति कुरा नबुझ्ने होइनन् ।

यता अध्यादेशमार्फत भएका संवैधानिक अङ्गका पदाधिकारी नियुक्ति प्रकरणमा पनि प्रधानन्यायाधीश राणाको घाँटीमा जुन पासो लागेको छ, त्यो पासो तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीको घाँटीमा पनि छ ।

यस अर्थमा अर्ली इलेक्सनका लागि देउवा र ओलीको स्वर्थ मिलेको छ । देउवा र ओलीले चाहँदैमा प्रतिनिधिसभा विघटन हुन सक्ला त भन्ने प्रश्न कम पेचिलो छैन । वैकल्पिक सरकार गठन हुने सम्भावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने र सरका गठनमा पार्टीको ह्वीप समेत नलाग्ने फैसला सर्वोच्च अदालतको गरिसकेको छ ।

देउवाले चाहेको अर्ली इलेक्सन पार्टीको महाधिवेशन पर धकेल्ने प्रयोजनका लागि हो भन्ने यर्थाथबाट कांग्रेसको इतर पक्ष अनभिज्ञ छैन ।
दुई साताअघिसम्म कांग्रेसको इतर पक्ष नै अर्ली इलेक्सनको पक्षमा थियो । महाधिवेशन सार्ने रणनीतिअन्तर्गत देउवाले त्यस्तो कदम चालेको रहस्य खुलेपछि इतर पक्ष एकाएक विपक्षमा उभिएको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा विघटनको सिफारिस गरे भने कांग्रेसको इतर पक्षका सांसदहरू नै पुनर्वहालीको निवेदन लिएर सर्वोच्च अदालत पुग्नेछन् । यस्तो अवस्थामा ओलीको साथ पाए पनि देउवासँग बहुमत हुनेछैन ।

एमालेका ९७ सांसदमध्ये भीम रावल लगायत १२ जना प्रतिनिधिसभा विघटनको पक्षमा हुनेछैनन् । कांग्रेसबाट पनि कम्तिमा २५ जना सांसदहरू विरोधमा हुनेछन् । देउवासँग बाँकी रहने ३५ र ओलीका ८६ ले १२१ मात्रै हुन्छ ।

यस अवस्थामा देश झन् अनिश्चितताको भुमरीमा पर्नसक्ने देखिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : २० बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम