३ ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनी 'एप्पल' | Khabarhub Khabarhub

३ ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनी ‘एप्पल’


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्याउलाई एउटा पौष्टिक, गुनिलो र उपयोगी फलको दर्जा दिइन्छ । स्याउ मन नपराउनेहरुले पनि एप्पल मन पराएको दृष्टान्त तपाईं आफ्नो वरिपरिको परिवेशमा गज्जबले हेर्न पाउनुहुन्छ । हो, यसका लागि तपाईंसँग फुर्सद, स्याउ र एप्पलका विविध स्वरुपको ज्ञान भने हुनुपर्छ ।

अहिले फेरि एप्पलकै विश्वव्यापी चर्चा चुलिएको छ । कारण हो एप्पल पहिलो हुनु । एप्पल पहिलो हुन पुगेको यो पहिलोपटक होइन । आदम र इभ भन्ने कुनै जन्तुले एप्पलको लोभ संवरण गर्न नसकेर तपाईं र मैले आजका दिनसम्म दुःख पाइरहेका छौँ ।

मेरो कुरामा विश्वास नलागे भर्खरैका दिनमा एक बोरा चामल अथवा अन्य कुनै अपेक्षा पूरा भएर किश्चियन भई पल्टेको कुनै पनि धर्मबेचुवासँग सोधी हेर्नुस् । उसले बाइबलमा वर्णित यो प्रसंग बेली विस्तारसँग बुझाइदिन्छ ।

स्याउ अथवा एप्पलको महिमा यहीबाट शुरू भयो । इभले सर्पेन्टको कुरामा लागेर स्याउ नदारेको भए हामी सबै स्वर्गमै हुने थियौँ (Genesis 3:1-6) ।

एउटा स्याउले कतिसम्म गरेको  रहेछ ! ख्वै त्यो परमात्मा भन्ने पनि कतिसम्मको क्रूर र निर्दयी रहेछ जाबो एउटा स्याउ खाएको सजा आफ्नो राज्यबाटै निष्कासन ! क्षमा गर्नु होला यो चरित्र त गब्बर सिंहभन्दा पनि जालिम भएन र ?  कथा जस्तोसुकै र जेसुकै होस्, स्याउको महिमा भने प्रष्ट हुन्छ ।

एप्पल एकपटक चर्चाको केन्द्रमा न्यूटन महाशयका टाउकोमा खस्नाले पुनः आएको थियो । पश्चिमाहरुलाई पहिलोपटक थाहा हुन आयो, पृथ्वीमा त्यस्तो कुनै शक्ति छ जसले गर्दा सबै वस्तु पृथ्वीतिर तानिन्छन् ।

गुरुत्वाकर्षणदेखि प्रिन्सिपिया हुँदै (Philosophic Naturalis Principia Mathematica ) क्लासिकल मेकेनिक्सको अवधारणा प्रस्तुत गरेर न्यूटन एक प्रकारले ‘फादर अफ  वेस्टर्न साइन्स’ नै बन्न पुगे । स्याउले न्यूटनलाई अमर नै पारिदियो । तर स्याउ खसेर जन्मिएको गुरुत्वाकर्षण भएर पनि के हो भन्ने, किन हो भन्ने कुरा अझै पनि आशंकाको घेरामा आइरहन्छ ।

२१ औं शताब्दी अर्थात् मेरो र तपाईंको समयमा पनि एप्पलले चमत्कार गरेको छ । एप्पल दुनियाँको पहिलो ३ ट्रिलियन डलर इकोनोमी बनेको छ । खबर मभन्दा पहिला नै तपाईंहरुले थाहा पाइसक्नुभएको होला ।  एप्पल नाम गरेको एउटा अमेरिकन कम्पनी मानव इतिहासमा पहिलो पटक ३ ट्रिलियनको चलखेल गर्ने हैसियतमा पुगेको छ ।

यस समाचारले यदि तपाईंलाई ‘कुछ कुछ होता है जस्तो’ भएन भने शायद तपाईंलाई ३ ट्रिलियनको महत्व नै थाहा छैन । अमेरिकन स्केलमा ट्रिलियन भनेको हाम्रो एक हजार अर्ब बराबरी हो ।

३ ट्रिलियन अर्थात् ३० खर्बलाई एकपटक डलरमा रूपान्तरित गरी हेर्नुस् । अहिले अमेरिकन डलर १ बराबरी झण्डै ११८ नेपाली रुपैयाँ हुन्छ । ३० गुणा ११८ बराबर ३ हजार ५४० खर्ब हुन आउँछ । हेरौँ त कति जति हुन आउँछ ३ खर्ब डलर ?

सन् २०२१ मा अमेरिकाको कुल कुल ग्राहस्थ उत्पादन (जीडीपी) २०.४९  ट्रिलियन डलर  रहेको छ । चीन १३.४  ट्रिलियन डलरले अमेरिकालाई पछ्याइरहेको छ । ४.९७  ट्रिलियन डलरले जापान विश्वको तेस्रो अर्थतन्त्र बनेको छ । जर्मनी ४.०० ट्रिलियनको जीडीपीले चौथो नम्बरमा छ ।

मार्केट क्यापिटलको आधारमा विश्वका यी चारवटा देशपछि एप्पल कम्पनी उभिन आइपुगेको छ ।

यूके २.८३ ट्रिलियन, फ्रान्स २.७८  ट्रिलियन, भारत २.७२ ट्रिलियन, इटाली  २.०७ ट्रिलियन, ब्राजिल १ .८७ ट्रिलियन,क्यानाडा १.७१ ट्रिलियन डलरको अर्थ व्यवस्था लिएर एप्पल कम्पनीभन्दा पछि परेका छन् ।

एक जनवरी २०२२ अर्थात् वर्षको पहिलो दिन आइफोन बनाउने एप्पल कम्पनीको शेयर मूल्य १८२.८८ डलर पुगेर समग्र मानवताको इतिहासमा कुनै प्राइभेट कम्पनीले पहिलोपटक ३ ट्रिलियन डलरको मार्केट क्याप छोएको थियो ।

विश्वको कुल अर्थ व्यवस्था (सबै देशको जीडीपी ) ९१.९८ ट्रिलियन डलर रहेको छ । यसमा एप्पल कम्पनीले ३ प्रतिशतभन्दा बढी दाबेदारी राख्छ ।

एप्पल कम्पनीले १ ट्रिलियन डलरको भ्यालु सन् २०१८ मा हासिल गरेको थियो । अगस्त २०२० मा कम्पनीले २ ट्रिलियनको लक्ष्मण रेखा पार गर्‍यो । सन् २०१९ को अन्त्यदेखि विश्व कोभिड–१९ को चपेटामा  आएर  बाच्नलाई संघर्ष गर्ने स्तरमा खस्यो भने एप्पल कम्पनीको उर्ध्वयात्रा जारी नै रह्यो । अगस्त २०२० देखि १६ महिनाको अवधिमा उसले ३ ट्रिलियनको मुकाम हासिल गर्‍यो ।

यो लेख्दै गर्दा एप्पल कम्पनीको शेयर खस्केर १७४.९२ डलरमा आइपुगेर यसको मार्केट क्याप २.८६९ ट्रिलियनमा आएको छ ।  तर, अझै पनि कम्पनी शीर्षमै स्थापित छ । अर्को कम्पनी माइक्रोसफ्ट २.३७५ ट्रिलियन डलरले दोस्रो, तेल उत्पादक कम्पनी साउदी अरामको १.९०३ ट्रिलियनले तेस्रो, गूगल अल्फाबेट १.८२७ ट्रिलियनले चौथो, अमेजन १.६६७ ट्रिलियनले पाँचौ  र टेस्ला १.०९२ ट्रिलियन मार्केट क्यापले छैठौ नम्बरमा रहेका छन् ।

यिनका अतिरिक्त अन्य कुनै पनि कम्पनी ट्रिलियनको आँकडामा छैनन् । फेसबुक भने ९०१.७६ अर्बका साथ ट्रिलियनर बन्ने दौडमा छ ।

स्याउ भनौँ अथवा एप्पल साधारण कुरा होइन रहेछ । अनादि कालदेखि नै यसको महिमा रही आएकोमा २१ शताब्दीमा पुनः एप्पलले आफ्नो वर्चस्व गाथा प्रमाणित गरेको छ ।

विश्वका ६ वटा कम्पनीले आफुलाई ट्रिलियनर भनाउने सामर्थ्य राखे पनि व्यक्तिगत रूपमा यो श्रेय मानवताको इतिहासमा आजसम्म कसैलाई प्राप्त भएको छैन ।

टेस्ला, स्टारलिंक, स्पेसएक्स, न्यूरालिंक आदि कम्पनीका मालिक एलन मस्क २७८ अर्ब डलरको सम्पतिका साथ उभिए पनि ट्रिलियनर हुनुभन्दा धेरै पछाडि रहेका छन् । उनले ट्रिलियनर हुन अझै ७०२ अर्ब डलर जोड्नु पर्छ ।

अमेजन, स्पेस कम्पनी ब्लू ओरिजिन आदिका मालिक जेफ बोजेस १९० अर्ब डलर लिएर दोस्रो धनी कहलिएका छन् । फ्रेन्च उद्योगपति बर्नार्ड अर्नोल्ट १८५ अर्ब डलर, माइक्रोसफ्टका बिल गेट्स १३५ अर्ब डलर, गूगलका ल्यारी पेज १२३ अर्ब डलर, फेसबुकका मार्क जुकरबर्ग १२१ अर्ब डलर सबैको सम्पति जोड्दा मात्रै १ ट्रिलियन पुग्छ ।

गुगलकै अर्का मालिक सर्जे ब्रिन ११८ अर्ब डलर, माइक्रोसफ्टका अर्का व्यक्ति स्टीभ बाल्मर ११३ अर्ब डलर,वारेन बफेट ११३ अर्ब डलर, र अर्का अमेरिकन ल्यारी एलिसन १०७ अर्ब डलर बाहेक अन्य कसैसँग १०० अर्ब डलर सम्पति पुगेको छैन । भारतीय उद्योगपति मुकेश अम्बानी ९३ अर्ब डलर लिएर विश्वको १२ औँ नम्बरको धनीमा पर्छन् । विश्वमा पहिलो ट्रिलियनरको उपाधि कसले पाउँछ यो समयकै गर्भमा लुकेको छ । तर, यति भने स्पष्ट भइसकेको छ अब पृथ्वीमै व्यापार गरेर ट्रिलियनर हुन मुश्किल हुनेछ ।

स्पेस माइनिंग, स्पेस टूरिज्म, ऐस्टेरोयड उत्खनन, अन्य ग्रह उपग्रहको यात्रा तथा दोहन गर्नेले नै यो श्रेय हासिल गर्ने प्रतिस्पर्धा प्रारम्भ भइसकेको छ ।

सन् २०२१ मा जसरी विभिन्न अरबपतिले अन्तरिक्षलाई महत्व दिएर गतिविधि गरे त्यसले आउने एक दशकभित्र नै अन्तरिक्ष उद्योगका अनेकौँ शाखा प्रशाखा विस्तारित हुने पद चिन्ह देखापरेका छन् ।

पृथ्वीमा भने ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स), ऊर्जाको दीर्घ वैकल्पिक स्रोत, ‘स्टेम सेल थेरपी’ र मानव अंग उत्पादन, ‘भर्चुअल रियालिटी’ क्षेत्रका इन्टरप्रेनरले बाजी मार्छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : ३३ बजे

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली

अफगानिस्तानमा बस दुर्घटना, ५२ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई

पहिलो पटक ओजन तहमा सुधार, वैज्ञानिकहरू खुसी

काठमाडाैं– पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य