सुन्तला बिक्रीबाट एउटै गाउँमा भित्रियो साढे दुई करोड « Khabarhub

सुन्तला बिक्रीबाट एउटै गाउँमा भित्रियो साढे दुई करोड


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यसवर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए ।

सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यसवर्ष रु. चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातायात खर्च घटाउँदा उनले रु. चार लाख बचत गरे । सुन्तला गाउँको रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ ।

खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइरहेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु. ६० देखि रु. ६५ सम्म पर्छ, पोखरा लगेपछि रु. १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भने,  “यसपटक गत वर्षभन्दा रु. एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाए ।

यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यसवर्ष बोटबाटै रु. दुई लाखको सुन्तला बिक्री गरेका छन् । उनले गतवर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिए ।

“गतवर्ष रु. साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यसवर्ष रु. तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा रु. दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भने ।

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यसवर्ष झण्डै रु. साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसी बताउँछन् ।

“सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन् ।” वडाध्यक्ष जिसीले भने, “बागलुङ नगरपालिकाबाट उब्जनी अनुदानबापत यो आर्थिक वर्षमा सिगानाका किसनाले रु. ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक रु. पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यसवर्ष रु. साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।”

खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

यसवर्ष रु. तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले रु. ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् ।

उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् । यसवर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका बिरुवा र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरणसमेत गरेको थियो ।

सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ । सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवद्र्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो ।

कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ५५ बजे

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता