ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो | Khabarhub Khabarhub

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो । बढ्दो ओमिक्रोन भाइरसका कारण सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ गतेदेखि पुनः रात्रिकालिन व्यवसाय सञ्चालनमा खुला गरिँदा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा कोरोनाको सङ्क्रमणदर कम र रात्रिकालीन व्यवसाय सुरु भएसँगै ठमेलमा पर्यटकीय गतिविधि बढेको बताउछन् । ‘ठमेलका गल्लीहरुमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ’, उनी भन्छन् ।

यहाँ ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । ठमेलमा कोरोनाकै बीचमा सञ्चालनमा आएको चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् ।

‘एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्’, उनी भन्छन् । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका सचिव बसन्त लामा पछिल्लो समय बौद्ध क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । ‘शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ, विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेका छन्’, उनी भन्छन् । कोरोनाको तेस्रो लहरका कारण बन्द रहेको बौद्धनाथ क्षेत्रभित्रको मण्डला परिसर भने हालसम्म पनि नखोलिएको सचिव लामा बताउँछन् ।

कोरोनाको समय अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष निलहरि बाँस्तोला कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जिवन दिनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउँछन् । ‘विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्छ’, उनी भन्छन् ।

नेपाल पर्यटन बोर्डका अधिकृत कविन्द्र भट्ट जनवरीमा मात्र हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल भित्रिएको बताउँछन् । ‘कोरोनाको तेस्रो लहर तीव्र गतिमा बढिरहेको बेला एक महिनामा झण्डै १७ हजार पर्यटक भित्रिनु नेपालको पर्यटन उद्योगका लागि खुशीको कुरो हो’, उनी भन्छन् । गतवर्ष उक्त महिनामा नेपालमा जम्मा आठ हजार ८७४ विदेशी पर्यटक भित्रिएका थिए ।

बोर्डका अनुसार जनवरीमा भित्रिनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । उक्त महिना भारतबाट तीन हजार ९१६, बङ्गलादेशबाट एक हजार २३१, युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० तथा अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनन्जय रेग्मी पछिल्लो समय नेपालमा विदेशी पर्यटक आउने क्रम बढेको बताउँछन् । ‘कोरोनाबाट थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ, अब विस्तारै पर्यटकीय गतिविधि बढ्दै जान्छ’, उनी भन्छन् ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको सिईओ रेग्मीको भनाइ छ । झण्डै दुई वर्षदेखि थला परेको नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउनका लागि नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

बोर्डका सिईओ रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको उल्लेख गर्दै बोर्डले भारतीय पर्यटक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउँछन् । विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहज रुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ०० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते