सरानाको ‘मन्तर मोहनी’मा अभिनयको टुनामुना | Khabarhub Khabarhub

सरानाको ‘मन्तर मोहनी’मा अभिनयको टुनामुना



काठमाडौं। नेपाली चलचित्र र संगीत श्रव्य-दृश्यमा मिथकीय रुपकको प्रयोग कमै हुने गरेको छ। हलिउड र बलिउडमा झैं हामीकहाँ पौराणिक कथा, किंवदन्ती, अनौठा पात्र र बिम्बमा आधारित चलचित्र कमै बन्ने गरेका छन्।

हालै सार्वजनिक एउटा म्युजिक भिडियोले भने यतिबेला धेरैको ध्यान आकर्षित गरिरहेको छ। नेपाली कला क्षेत्रका लिभिङ लिजेन्ड (जीवित किंवदन्ती) मदन कृष्ण श्रेष्ठ र हरिंवंश आचार्यको अभिनय रहेको गीत ‘मन्तर मोहनी’मा मिथकीय बिम्बको कलात्मक प्रयोग गरिएको छ।

मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठको स्वरमा सजिएको ‘मन्तर मोहनी’मा मह जोडीलाई जादुगरको भूमिकामा प्रस्तुत गरिएको छ। भिडियो कौतुहल जगाउने खालको छ। कुनै अनौठो रुपरंगमा शालिक झैं उभिएका मह जोडीलाई किनमेल गर्न बजार आएकी सरनाले छुनासाथ टुना मुना र मन्तर मोहनीको बहार सुरु हुन्छ।

मन्तर मोहनीको प्रभावले गायिका एकाएक सामान्य गृहणीबाट भर्खरकी परीजस्ती देखिन्छिन् र झुम्दै गाउन थाल्छिन्। भिडियोमा आकर्षक दृश्य देखिन्छन्। टुनामुनाकै प्रतापले अभिनेता पुष्प खडका पनि दृश्यमा आउँछन्। अब सराना र पुष्पको आकर्षक अभिनय र नृत्यले दर्शकमा मनोविनोद छर्न थाल्छ।

कालातितको कुनै सदाबहार संगीतको धुनझैं लाग्ने कालीप्रसाद बाँस्कोटाको मौलिक संगीतको मिठाससँगै सरनाको स्वरले श्रोतालाई लठ्ठै बनाउँछ। सौन्दर्यको बहारसँगै भिडियोमा अनौठो प्रयोग गरिएको छ।

हलिउडका हरर चलचित्रमा झैं सरना र पुष्प एकाएक डरलाग्दा ‘भ्याम्पायर’जस्ता पनि देखिन्छन्। टुनामुनामा यस्तो शक्ति हुन्छ, जसले मानिसलाई आकर्षक बनाउनसक्छ, भयानक ‘भ्याम्पायर’ पनि। मानिसभित्र सौन्दर्य र कुरुपता दुबै हुन्छ, बस हामीले चुन्ने भनेको सौन्दर्य हो।

‘मन्तर मोहनी’ले हाल प्रदर्शनमा आइरहेका एकै खालका पटयारलाग्दा म्युजिक भिडियोभन्दा भिन्न स्वाद पस्किएको छ। गायिका सरनाको अभिनय उत्तिकै बेजोड छ। सम्भवत दर्शकले उनको अभिनय र सौन्दर्यको यस्तो बान्की पहिलोपटक देखेका हुनसक्छन्।

निर्देशक सराना
यो भिडियोको निर्देशन पनि सराना आफैले गरेकी हुन्, जसले उनमा निर्देशकीय क्षमता पनि प्रखर देखिन्छ। सानैदेखि मह जोडीको आशिर्वाद र स्नेहमा हुर्किएकी सरानाका लागि चलचित्र र नाटकमा अभिनय गरेर कपाल फुलाइसकेका मह जोडीलाई निर्देशन गर्नु कम चुनौतीपूर्ण थिएन। तर, अभिनय र संगीतकै माहौलमा हुर्किएकी कलाकारले यो चुनौती सफलताका साथ छिचोलेको भिडियो हेर्दा नै थाहा हुन्छ।

सरानाको गीत स्रोताले सुन्न नपाएको धेरै भएको थियो। अचेल उनी गायनमा पुरानै जोश र माझिएको स्वरका साथ छाइरहेकी छन्। कोरोना महामारी यता सराना श्रेष्ठ नेपालमै छिन्। यो समयमा उनले यमन श्रेष्ठको संगीतमा चार÷पाँच वटा म्युजिक भिडियोमा काम गरिसकेकी छन्। कालीप्रसाद बाँस्कोटाको संगीतमा उनले गाएको यो पहिलो गीत हो, ‘मन्तर मोहनी’।

सांगीतमा सन्तान र अभिभावक
१६ वर्ष कटेपछि सन्तान पनि साथीजस्ता हुन्छन्। यो भनाइ ठयाक्कै चरीतार्थ भएको छ, मदनकृष्ण र सराना पिता र पुत्रीबीच। अचेल कलाकार पिता मदनकृष्ण श्रेष्ठसँगै सराना पनि विभिन्न कार्यक्रममा एकसाथ देखिएका छन्।

मदनकृष्ण अचेल गायनमा उत्तिकै भिडेका छन्। केही समयअघि ‘फुलबुट्टे सारी’ गाएका उनले थुप्रै गीत गाइसके। छोरा यमन श्रेष्ठ त सांगीतिक रियालीटी शोदेखि हास्य प्रहसन अनि सांगीतका आयाममा भिजेकै छन्। अब दमदार कमब्याक भइसकेको छ, छोरी सरानाको। यसरी मदनकृष्णको सिंगो परिवार यतिबेला कलाका बहुआयाममा व्यस्त र मस्त छ, दर्शक श्रोतामा टुनामुना छरिरहेकै छ।

गायनको आरोह अवरोह
पाँच वर्षको उमेरदेखि सरानाले गाउन थालेकी हुन्। पहिला उनले जिंगल, महसञ्चारले निर्माण गर्ने सामग्री र बालगीतमा स्वर दिइन्। मनोरञ्जन क्षेत्रमा अहिले झैं संभावना नदेखेर होला, उनले पढाइमा आफूलाई बढी केन्द्रित गरिन् र अमेरिका गइन्। तैपनि कला क्षेत्रप्रतिको लगाव कहिल्यै कम भएन।

केही वर्षअघि सरानाले बुवाको शब्द र आफ्नै स्वरमा ‘पहिलो दिन’ बोलको गीत गाएकी थिइन्। केही महिनाअघि सरानाकै शब्द र यमन श्रेष्ठको संगीतमा मदनकृष्णले गायिका इन्दिरा जोशीसँग ‘ह्याप्पी हार्ट’ बोलको गाए। यद्यपि, मदनकृष्णको ‘पानी छाया’ बोलको गीत अहिले पनि उत्तिकै हिट छ, जुन उनले छोरी सरानासँगै गाएका थिए।

सरानाको सानैदेखि संगीतमा अभिरुची थियो। हजुरबुवाको गीतमण्डली थियो, जो मन्दिरमा गायन र बाद्यबादन गर्थे। बुबा मदनकृष्णको बहुमुखी प्रतिभाले सरानालाई सानैदेखि प्रभावित पारिहाल्यो। बुबा अभिनय पनि गर्ने, गाउन पनि उत्तिकै पोख्त। बुवाले गाएको ‘अर्बौं मान्छेहरूमा’, ‘खोलावारि खोलापारि पीपलु र बर’जस्ता गीत अहिले पनि उत्तिकै सुनिन्छन्।

परिवारको यही माहौलमा सरानाले पाँच वर्षकै उमेरमा रेडियो जिंगल गाएकी थिइन्। ‘आज एउटा मुसा घरमा फसेछ’ बोलको बालगीत पनि गाइन्। मह सञ्चार, बीबीसी र युनिसेफका कार्यक्रममा स्वर दिइन्। विस्तारै चलचित्रका गीत गाउन थालिन्।

चलचित्र ‘मिस्टर रामकृष्णे’को ‘किसुनजी किसुनजी’ बोलको गीत चर्चामा आयो। त्यतिबेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई सत्तामा थिए। यो गीत विवादमा आएपछि प्रशारणमा बन्देज नै लगाइयो।

यसैगरी उनले मह सञ्चारको पहिलो चलचित्र ‘फिलिम’मा ‘दैव हरे के गर्नु’ बोलको बेदनामय गीत गाइन्। यसको पनि भावुक प्रसङ्ग छ। यो गीत गाउँदा सुरुमा उनले ‘फिलिङ’ दिन सकेकी थिइनन्। घरमा बुवा मदनकृष्णले ‘म मरेको ठान, बुवा आमा कोही छैनन् भन्ने सोचेर गाउ’ भने। नभन्दै यही भावले गाएर उनले यो गीतमा भावनाको प्राण भरिन्।

सरानाको गायनमा शास्त्रीयपन पाउन सकिन्छ। डोरेमीमा केही समय लिएको शास्त्रीय संगीतको ज्ञानले पनि उनलाई सघायो। तैपनि उनको स्वरको मिठास चाहिँ जन्मजात हो।

तन्नेरीवयमा अमेरिका पुगिन्। कर्पोरेट फाइनान्समा स्नातकोत्तर गरेपछि विश्व बैंकमा जागिर पनि पाइन्। करिअर राम्रै चलिरहेकै थियो। यसैबीच आमा बिरामी भएपछि उनी नेपाल फर्किने सोच बनाइन्। विश्व बैंकबाट राजीनामा दिएर नेपाल फर्कने तयारी गरेकै बेला २०७२ को महाभूकम्प गयो।

बुवा आमाकै सल्लाहमा उनी नेपाल फर्किने कार्यक्रम स्थगित भयो। फेरि जागिरै जिवनमै फर्किइन्। नेपाल फर्किने योजनासँगै आमाको क्यान्सरबाट निधन भयो, बुवा पनि पार्किन्सनको बिरामी भए। त्यसपछि उनी नेपाल आइन्।

सत्र वर्षको अन्तरालपछि २०७६ साल माघमा सरानाले बुवासँग मिलेर ‘पानी छायाँ’ गाइन्। राजेन्द्र थापाका शब्द र राजनराज सिवाकोटीको संगीतमा रहेको यो गीतमा पहिलो पटक बाबु छोरीको युगल स्वर सुनियो।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा मदनकृष्णले भनेका थिए, ‘छोरीसँग गीत गाउँन पाउँदा निकै खुसी लागेको छ। सत्र वर्षपछि छोरीले गायनलाई अगाडि बढाएकोमा खुसी छु।’

‘पानी छायाँ’बाट कमब्याक गरेकी सराना अचेल नेपाली दर्शक श्रोतामाझ संगीतको ‘मन्तर मोहनी’ छरीरहेकी छिन्। दर्शक श्रोता पनि उनको टुनामुनामा लठ्ठै परेका छन्।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ११ : २६ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज