मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण पिसाब संक्रमण हो । पिसाब संक्रमण यौन अंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ ।
अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ । महिलामा नै किन धेरै पिसाबको संक्रमण हुन्छ ? संक्रमणबाट बच्न के-के कुरामा ध्यान दिनुपर्छ भनेर मेडीसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर विनय राज भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
महिलामा हुने पिसाबको संक्रमणलाई कसरी बुझ्ने ?
सामान्य भाषामा भन्दा पिसाबमा किटाणु हुनु भन्ने बुझिन्छ । पिसाबमा इन्फेक्सन पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । किनभने पिसाबको नली (युरेथ्रा) महिलामा छोटो हुन्छ । पुरुषमा त्यसको लम्बाई १८ सेन्टिमिटर हुन्छ भने महिलामा जम्मा चार सेन्टिमिटर हुन्छ ।
पिसाब थैली र पिसाब बाहिर आउने नलीको ग्याप थोरै हुनाले इन्फेकसन हुने सम्भावना धेरै हुन्छ । अर्काे भनेको पिसाब फेर्ने जुन ठाउँ छ र योनीको बाहिरी भागसँगै रहने हुनेले योनीको इन्फेक्सन र पिसाबको इन्फेक्सन एउटाले अर्काेलाई गराउने हुन्छ । त्यसले गर्दा पनि महिलामा पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ ।
अविवाहितमा भन्दा विवाहितमा धेरै हुन्छ भनिन्छ, यो कसरी हुन्छ ?
हाम्रो अनुभव तथा विभिन्न अनुसन्धानले पनि त्यही देखाएको छ । महिनावारी हुने समयमा ब्लडसँगै किटाणु आउने हुने पनि हुन्छ । त्यस्तै धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । राम्रो बाथरुमको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा इन्फेक्सन धेरै हुन सक्छ । विवाहित महिला यौन रिलेसनमा हुने भएकाले इन्फेक्सन आउने सम्भावना धेरै हुन्छ ।
कस्तो लक्षण देखा प-यो भने इन्फेक्सन भयो भनेर थाहा पाउन सकिन्छ ?
एउटा लक्षण देखिने हुन्छ भने अर्को नदेखिने हुन्छ । लक्षण यस्तो हुन्छ:
तल्लो पेट दुख्ने,
पिसाब फेरेपछि दुख्ने वा पोल्ने,
पिसाब गरेर आएपछि फेरि जान मन लाग्ने,
आधा-आधा घण्टामा पिसाब फेर्न जान मन लाग्ने, तर थोपा-थोपा आउने,
कहिले कहिं पिसाबमा रगत देखा पर्ने,
राती तीन चार पटक पिसाब गर्न मन लाग्यो भने पिसाबमा इन्फेक्सन भयो भनेर शंका गर्नुपर्छ ।
तल्लो पेट दुख्ने भन्नु भयो, यो जति बेला नि दुख्ने हो कि के हो ?
पिसाब फेर्न लागेको बेलामा कटक्क पेट दुख्ने हुन्छ । कसै कसैलाई पिसाब फेर्नु भन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ । कसैलाई पिसाब फेरेपछि दुख्ने पनि हुन्छ । यदि धेरै नै इन्फेक्सन भएको छ भने दुखि राख्ने पनि हुनसक्छ ।
इन्फेक्सन एक व्यक्तिबाट अर्काेमा सर्छ कि सर्दैन ?
अरु रोग जस्तो सर्ने रोग त होइन । तर सफा पानी प्रयोग गरिएन भने, त्यो पानी इनफेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ भने, बाथरुम सफा भएन भने माध्यम बन्न सक्छ र सर्छ ।
समयमा नै उपचार गरिएन भने कस्तो असर गर्छ ?
सबै किटाणुले लक्षण देखाउँछ भन्ने हुँदैन । लक्षण देखाएन भने शरीरले रोगसँग लड्ने क्षमता छ भन्ने बुझिन्छ । तर लक्षण देखाएर पनि उपचार गरेनौँ भने अरु समस्या निम्त्याउँछ । सबैभन्दा पहिला पिसाबमा भएको इन्फेक्सन सर्दै गएर मिर्गौलमा गएर असर गर्छ । यसलाई पाइलोनेफ्राइटिस भनिन्छ ।
हनहनी ज्वरो आउने, कोख दुख्ने हुन्छ । त्यसबाट रगतमा जान सक्छ, त्यसलाई युरो सेप्सिज भन्छौँ, त्यसले शरीरभरी ज्वरो फैलाउन सक्छ ।
पिसाब थैली र युरेथ्राको ठाउँमा मात्रै किटाणु सीमित भयो भने महिना महिनामा समस्या दोहोरिन सक्छ । मिर्गाैलाले काम नगर्ने हुन्छ । पाठेघरको छेउ छेउमा र ट्युबमा फैलिने डर हुन्छ ।
कस्ता व्यक्ति यसको धेरै जोखिममा पर्ने सम्भावना हुन्छ ?
धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्ति,
गर्भवती महिला,
सुगर भएका महिला,
एचआईभी तथा लगातार भाइरल इन्फेक्सन भएको महिला,
एन्टिबायोटिक धेरै लिनुपर्ने अवस्थामा,
सरसफाइमा ध्यान नदिने, धेरै दिनसम्म एउटै भित्री कपडा प्रयोग गर्ने,
मिर्गौला, पिसाब नली तथा पिसाब थैलीमा पत्थरी भएको छ भने यो समस्या हुन सक्छ ।
यस्तो खालको समस्या नहोस् भनेर कसरी बच्न सकिन्छ ?
सबैभन्दा पहिला हाइजिन मेन्टेन गर्नुपर्छ । पिसाब धेरै समयसम्म रोक्नु हुँदैन । डेढ दुई घण्टाको फरकमा पिसाब गर्नुपर्छ ।
पानी प्रशस्त पिउनु पर्छ । तर एकै पटक धेरै पिउनु हुँदैन । ५,६ लिटर एकैपटक पिउँदा मिर्गौलालाई भार पर्छ र झनै असर गर्छ । एकैपटक होइन कि समय समयमा तीन लिटर पानी एक दिनमा पिउने । एकपटकमा २ सय ५० एमएल मात्रै पिउने ।
आफूले प्रयोग गर्ने बाथरुम सधैँ सफा हनुपर्छ । महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्नु पर्छ । पिसाबमा केहि समस्या हुने बित्तिकै अस्पताल जानु पर्छ ।
प्रतिक्रिया