आरआरआर : विद्रोहको कथामा मित्रताको सेटअप | Khabarhub Khabarhub

आरआरआर : विद्रोहको कथामा मित्रताको सेटअप



‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ सिनेमा ‘आरआरआर’ शुक्रबार रिलिज भयो ।

राजमौली निर्देशित भएकै कारण लामो समयदेखि प्रतीक्षित फिल्म आफैँमा चाहिँ कस्तो छ  ? यो जिज्ञासा धेरैलाई थियो/छ । तीन घण्टा भन्दा लामो फिल्मले अहिले मिश्रित प्रतिक्रिया पाइरहेको छ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले । पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए। जसका कारण फ्यान झनै उत्साहित बनेका छन्।

बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे। यो स्वाभाविक पनि हो ।

फिल्मको कथा यस्तो छ

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो । सामान्य र अन्य फिल्ममा समेत देखिएको कथामा निर्देशक राजामौलीको प्रस्तुतिले सिठ्ठी र ताली बजाउने प्रशस्त ठाउँ दिएका छन् ।

ब्रिटिस विरुद्ध विद्रोहको कथालाई निर्देशकले मित्रताको भावनात्मक सम्बन्धमा अगाडी बढाएका छन् । फिल्मको मूल कथासँगै सहायक रुपमा देखाइएको मित्रताको पटकथाले दर्शक बाधिन्छन् । विद्रोहको कथालाई निर्देशक राजामौलीले गरेको प्याकेजिङ, गज्जबका एक्सन दृश्य र सेट पिस तयार गरेकोले दर्शकले समय बिताएको पत्तै पाउँदैनन् ।

हिन्दी फिल्ममा डेब्यु गरेका जुनिएर एन्टीआर र दोस्रो पटक हिन्दी फिल्ममा देखिएका राम चरणको अभिनयले दर्शकलाई निराश बनाउँदैन । हिन्दी भाषामा यी अभिनेताले आफ्नो भूमिकालाई जीवन्त राख्न सफल भएका छन् । केमियो भूमिकामा अजय देवगन र छोटो भूमिकामा आलिया भट्टको उपस्थिति पनि बलियो छ ।

सन् १९२० को समय अनि भारतमा अंग्रेजको राज फिल्ममा देखाइएको छ । फिल्मको सुरुवातमै एक आदिवासी मल्लि नाम गरेकी बालिकाले ब्रिटिस अफिसर स्कोटकी पत्नी लेडी स्कोटकको नेल पेन्ट गर्दै गीत गुनगुनाउँदै गरेको दृश्य छ । लेडी स्कोटलाई मल्लिको कला मन परेपछि उनलाई त्यहाँबाट बन्धक बनाएर जबरजस्ती महल लगिन्छ । त्यहाँका रक्षक भीम (जुनिएर एन्टीआर) लाई उक्त बच्ची मल्लिलाई छोडाएर घर फर्काउने दायित्व आउँछ ।

वेन्कटा रामा राजु (अजय देवगन) ब्रिटिसविरुद्ध लडिरहेका छन् । आफ्नो छुटै सेना बनाइरहेका छन् । उनी ब्रिटिस विरुद्ध लडाई लड्न चाहन्छन तर उनिसँग हतियार हुँदैन । आफ्ना मान्छेलाई सैनिकको रुपमा तयार गरिरहेका वेन्कटाको बस्तीमा एक दिन अचानक हमला हुन्छ। व्रिटिशले गोली चलेको थाहा पाएपछि त्यहाँ अट्याक गरेका हुन्छन् । त्यहाँ वेन्कटाको पत्नी र छोरा मारिन्छन् तर रामा राजु जिउँदै हुन्छ। वेन्कटाको लडाई लड्ने सपना र हरेक योद्धालाई हतियार दिने वाचा रामा राजुको दायित्व बन्छ ।

राम चरण (अल्लुरी सीतारामा राजु) एक ब्रिटिस अफिसर हुन् । उनको आफ्नै उदेश्य छ । उनलाई अफिसरको माथिल्लो तहमा पुग्नु छ । यसको लागि उनी जे गर्न पनि तयार छन् । उनको इन्ट्रो सिनमै उनी स्ट्राइक गरिरहेका हजारौंको भिडमा एक्लै पुग्छन् र ब्रिटिस अफिसरले पक्राउ गर्नु भनेको आन्दोलनकारीलाई पक्राउ गर्छन् । यद्यपि उनले आफूभन्दा माथिको अफिसरलाई रिझाउन सक्दैनन् र बढुवा हुँदैन ।

मल्लिलाई लिन उनका रक्षक आउने खबर थाहा पाएपछि ब्रिटिस अधिकारीहरूको एक भेलामा लेडी स्कोटले बढुवाको अफर सबैलाई दिन्छिन् । मल्लिलाई बचाउन आउनेको पहिचान पत्ता लगाएर उसलाई जिउँदै समात्ने काम त्यहाँ सुम्पिन्छ । आफ्नो उदेश्य प्राप्तिका लागि रामा राजु अगाडी बढ्छन् । हिन्दोस्तानी भएकै कारण उनी सजिलै इन्डिपेन्डेड एक्टिभिस्टहरुको वैठकमा पुग्छन् । त्यहाँ उनले आदिवासीका रक्षकसँग भेट्ने तारतम्य मिलाउँछन् । त्यहाँ भीमकै समूहका एक सदाय लक्षुसँग उनको भेट हुन्छ ।

यद्यपि लक्षुलाई रामा राजु ब्रिटिस पुलिस भएको थाहा भएपछि भाग्छन् र भीमकै सल्लाह अनुसार केही समय अन्डरग्राउण्ड हुने तय हुन्छ ।  त्यहीँ समयमा रेल्वेको दुर्घटनाका कारण खोलामा फसिरहेका एक युवालाई बचाउने दायित्व भीमलाई आउँछ । भीम झैँ उक्त बच्चालाई बचाउने तत्परता रामा राजुले पनि देखाउँछन् । त्यहीँ क्रममा भेट हुन्छ, भीम र रामा राजुको । यी दुईको त्यो भेट कतिबेला गहिरो मित्रतामा परिणत हुन्छ ? थाहै हुँदैन । यी दुई भाइ–भाइ बन्छन् ।

उदेश्य फरक हुन्छ । भीमलाई ब्रिटिसको महलमा पसेर आफ्नो मल्लिलाई घर फर्काउनु छ भने रामा राजुलाई भीमलाई पक्रिएर बढुवा लिनु छ तर यी दुई नै बेखबर छन् । किनकि एकअर्कासँग आफ्नो परिचय लुकाएका छन् । भीम एक मुसलमान अख्तर बनेका छन् भने रामा राजु सामान्य मान्छे । तर दुवै आफ्नो उदेश्यमा अडिग छन् ।

त्यहीँ बीचमा भेट हुन्छ, जेनिफरसँग । एक आदिवासीलाई ब्रिटिस अफिसरले दमन गरिरहदा त्यसो नगर्न भनदै अफिसरलाई रोकेकै कारण जेनिफर उर्फ जेनीले भीमको मन जितिसकेकी हुन्छिन् । यद्यपि उनलाई कसरी नजिकिने भन्ने आइडिया नै हुन्न । त्यहाँ सहयोग गर्छन्, रामा राजुले । उनले भीमलाई जेनीसँग नजिक बनाउन सहयोग गर्छन् । जसको मदतले भीम महल भित्र मात्र पुग्दैनन् । मल्लीलाई पनि भेट्छन् र घर फर्काउने वाचा गर्छन् तर उनको ठुलो रोकावट नै बन्न पुग्छन् रामा राजु ।

भीम समूहका सदस्य लक्षु पक्राउ परेपछि रामा राजुले समूहको बारेमा पत्ता लगाउने अनेक प्रयास गर्छन् । तर , सक्दैनन् । एक दिन लक्षुले रामा राजुलाई सर्प प्रहार गरेर घाइते बनाउँछन् । त्यो समयमा उनको ज्यान बचाउछन् भीमले । त्यहीँ बेला भीमनै आदिवासीको रक्षक रहेको सत्य रामा राजुले थाहा पाउँछन् । त्यसपछि हुन्छ दुई मित्रको युद्ध । ब्रिटिस महललाई तहसनहस बनाएर मल्लिलाई छुटाउनै लाग्दा रामा राजुले भीमलाई रोक्छन्।

मल्लिको ज्यानलाई खतरा भएपछि भीमले आत्मसमर्पण गर्छन् । त्यसपछि के हुन्छ ? यो जिज्ञासा हुनु स्वाभाविक नै हो। यसका लागि फिल्म हेर्न हलसम्मै पुग्नु पर्छ । कथा त ब्रिटिस ज्यादतीविरुद्ध विद्रोहको हो तर निर्देशक राजामौलीले यसलाई मित्रताको पटकथामा ढालेका छन् ।

फिल्मलाई स्वादिलो बनाउन उनले कुनै कसर बाँकी राखेका छैनन् । जुनिएर एन्टीआर र राम चरण आफैले हिन्दीमा स्वरांकन गरेका छन् । उनीहरुले हिन्दी भाषामै पनि आफ्नो पात्रालाई जीवित राख्न सफल भएका छन् । उनीहरुले बोल्ने संवाद र देखिने हाउँभाउ मिलेको छ । हिन्दी भाषामा न्याय गरेका छन् । फिल्मको सेट सिनेम्याटोग्राफी, भिएफएक्स, एक्सन लगायतका प्राविधिक पक्ष बलिया छन् ।

निर्देशकले १९२० को समय क्रियट त गरेका छन् नै । साथै , त्यसलाई जीवन्त पनि बनाएका छन् । फिल्मको सुरुवातबाटै देखाइने हरेक सिनलाई निर्देशकले जस्टिफाई गरेका छन् । यो उनको बलियो पक्ष हो । तीन घण्टा लामो फिल्म हेरिरहँदा उनले कुनै पनि सिनलाई खेर जान दिएका छैनन् ।

निर्देशक राजामौलीले फिल्मको पात्रालाई दर्शकसँग भावनात्मक रुपमा जोड्न सफल भएका छन् । पीडित र सामान्य मानिसको संघर्ष , मित्रता र अधिकार प्राप्तिका लागि लडाइको कथालाई पस्किँदै गर्दा उनले सरल र सहज बाटो तय गरेका छन् । उनले दर्शकले सजिलै बुझ्ने किसिमको आफ्नो शैलीको पटकथा बुनेका छन् । जसले गर्दा सय वर्ष पुरानो कथा पनि रोचक ढङ्गले अगाडी बढ्छ ।

यद्यपि तीन घण्टाको समयमा केही दृश्य क्लिसे लाग्नु स्वाभाविक हो । सबै दृश्यमा उनले लजिक दिएका छैनन् । हिरो भन्नासाथ हाम्रो मानसपटलमा छाउने बलियो , चतुर र पोजेटिभ स्वभाव फिल्मका नायकमा पनि पाइन्छ ।

केके सेन्थिल कुमारको सिनेम्याटोग्राफी तारिफको हकदार छ । उनको सिन टेकिङ सुन्दरता थपेको छ । साबू सिरिलको प्रोडक्सन डिजाइनले सन् १९२० को समयमा दर्शकलाई पुर्याउन सफल भएको छ ।  केभी विज्येन्द्र प्रसादको कथालाई निर्देशक राजामौलीले पटकथामा ढालेका छन् भने डायलगमा साइ माधवसँग सहकार्य गरेका छन् । एमएम क्रीमको संगीतले फिल्ममा सुगन्ध थपेको छ ।

यो फिल्म निर्देशक राजामौलीको अहिलेसम्मकै उत्कृष्ट होइन । किनभने उनले एउटा झिँगालाई समेत हिरो बनाएर ‘मख्खी’ जस्तो फिल्म बनाएर आफ्नो क्रियटिभ माइन्डको बारेमा बताइसकेका छन् । बाहुबली जस्तो फिल्म मार्फत उनले साउथको फिल्मलाई विश्व बजारमा पुर्‍याई सकेका छन् । एक सय करोडमा बन्ने गरेको फिल्महरु अब साउथमा तीन सय करोडको हाराहारीमा बन्ने थालेका छन् ।

यसपटक निर्देशक राजामौलीले कथा त पुरानै रोजेका छन् तर प्रस्तुतीकरण नयाँ छ । उनले प्राविधिक रुपमा फिल्मलाई अब्बल बनाउने प्रयास गरेका छन् । बलिउडका फिल्ममा देखिसकिएको इन्डियनहरुको ब्रिटिस विरुद्धको विद्रोहलाई उनले यसपटक फरक प्रस्तुतीकरण मार्फत भनेका छन् । उनले आफ्नो कथा र पात्रलाई हलसम्म फिल्म हेर्न आउने दर्शकसँग जोड्न सफल भएका छन् । उनबाट मगाधिरा, मख्खी, बाहुबली जस्ता नयाँ कन्सेप्टका फिल्मको प्रतीक्षा गरिरहेका दर्शकलाई यसले केही खल्लो बनाउन सक्ला तर एउटा मनोरञ्जनात्मक फिल्म हेर्ने पर्खाइमा रहेका दर्शकलाई यसले निराश बनाउँदैन ।

फिल्म हेरिरहने दर्शकसँगै फिल्म कस्तो बन्ने गरेको छ ? भन्ने दर्शकलाई ‘आरआरआर’ हेर्न लायक फिल्म बनेको छ। किनकि यो प्राविधिक रुपमा बलियो भिजुअल ट्रीट हो। किनकि फिल्म लार्जर देन लाइफ छ । हिन्दी भाषी दर्शकका लागि यो एउटा अनुभव पनि हो। फिल्ममा कमजोरी नभएका होइनन् तर सबल पक्षले त्यसलाई ढाकेको छ । निर्देशक राजामौलीले यसपटक विषय पुरानै रोजेता पनि प्रस्तुतीकरण भने नयाँ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ०० बजे

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा