काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्ने भएका छन् ।
उनले सम्मेलनलाई काठमाडौँबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् । ‘प्रधानमन्त्रीज्यूले बुधबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भनिन् ।
शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।
शिखिर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका थिए । उनले बैठकलाई सम्बोधन गरेका थिए ।
बिमस्टेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरूबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।
लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आबद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोगसम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।
प्रतिक्रिया