दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

स्थानीय निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गरिने
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणनास्थलमा सीसीटीभी जडान गर्ने भएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिए । उनले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिए । त्यस्तै प्रवक्ता पौडेलले सबै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताए । त्यस्तै उनले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गरे । 

निर्वाचन आचारसंहिता पालना गर्न दलहरू गम्भीर हुनुपर्छः प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रमा उनले सवै दलहरूसंग छलफल गरेर बिज्ञलाई राखेर आचारसंहिता बनाएको भन्दै यसको पालना गर्न स्वयं राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताए । लोकतन्त्रको रक्षा र शासकीय स्वरूपको निष्पक्षताका लागि सवै मिलेर निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।

तीन वटै तहको निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति
सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए । प्रतिवेदनका आधारमा नै प्रदेश, जिल्ला र स्थानीय तहस्तर हुने तालमेलका विषयमा आवश्यक निर्णय गरिने कार्कीले बताए । 

चुनावमा गठबन्धन दल एकताबद्ध भएर बढ्ने प्रधानमन्त्री देउवाको भनाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन दल एकतावद्ध भएर बढ्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २४ औँ वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट पारे । गठबन्धनमा रहेको सबै दलको सहयोगमा आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्ने धारणा राखे । आफूहरू सबै अप्ठ्याराहरूलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने उनको भनाई छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरे । 

जुम्ला खस सभ्यताको इतिहास होः एमाले अध्यक्ष ओली 
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताएका छन् । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए  । जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने उनले बताए । उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको उल्लेख गरे । 

एमालेले बनायो पार्टीको आर्थिक स्रोत बलियो बनाउन लेवि संकलनको नयाँ नियम 
नेकपा एमालेले पार्टीको आर्थिक स्रोत बलियो बनाउन लेवि संकलनको नयाँ नियम बनाएको छ । पार्टीभित्र उच्च आय भएका ५ हजार जनाले पार्टीलाई मासिक ५ हजार दिनुपर्ने नियम बनाएर अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको हो । २०७५ जेठ ३ गते माओवादीसँग एकीकरणपश्चात एमालेको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको केन्द्रीय आर्थिक व्यवस्थापन विनियम २०६७ निस्क्रिय बनेको थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमाले पुनः क्रियाशील भयो । त्यसपश्चात् कोष व्यवस्थापनमा रहेको अस्तव्यस्ततालाई दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरिएको एमालेले जनाएको छ । 

अतिक्रमण रोक्न आफू प्रतिबद्ध छुः पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरूमा भएको अतिक्रमण रोक्न आफु प्रतिवद्ध रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको समेत जिकिर गरे । उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा आफू खरो रूपमा उत्रिएको धारणा राखे । राम्रो काम गरेकाले नागरिकको साथ र सहयोग पाइरहेको भन्दै सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट नदिने बताए । 

एआईजी सिफारिसमा असन्तुष्ट डीआईजीहरूद्वारा सर्वोच्चमा रिट दायर
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदनमा बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले हिँजो साँझ सदर गरेको थियो । 

एमसीसी लागू हुन दिदैनौँः विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गरेका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखे । नेपालबाट साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाइ छ । उनले नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीवादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे ।

१४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आउँदो आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ । मन्त्रालय अनुसार यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरूले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।

बहुविवाहको उजुरी नलिने प्रहरी र सरकारी वकिलविरुद्ध मुद्दा दायर
भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध अदालतमा रिट दर्ता भएको छ । गत मंसिर १३ गते आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याइ राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मंसिर २ को बिहे दर्ताको कागज बनाएपछि हिमालय राईले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल), महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र त्यहाँका सह–न्यायाधिवक्ता गंगाप्रसाद पोखरेललाई मुद्दामा विपक्षी बनाइएको छ । 

पर्सामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते
पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् । 

२४ अंक घटेको सेयर बजारमा ३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो
बिहीबार सेयर बजार परिसूचक नेप्से करिब २४ अंक घटेको छ । २३.९५ अंक घटेपछि परिसूचक २५४४ अंकमा कायम भएको छ । आज १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो । व्यापार बाहेकका सबै उपसमूह घटेका छन् । आज बैंकिङ ६, होटल तथा पर्यटन ७९, विकास बैंक १०३, जलविद्युत ५६, फाइनान्स ५७, निर्जीवन बीमा ३९, उत्पादन २७, अन्य २६ र माइक्रोफाइनान्स ४५ र जीवन बीमा उपसमूह १७९ अंक घटेपनि तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्दा इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ ।

१ करोड २० लाखको समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा
वीरगञ्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । अवैध रुपमा हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरू लोड गरेर काठमाडौंतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक गर्दा प्रज्ञापनपत्र देखाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।ट्रकसहित सामानको मूल्य १ करोड २० लाख मूल्यांकन गरिएको प्रहरीले जनाएको छ । 

स्कुल हिँडेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु
सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट आज साइकलमा स्कुल जाँदै गरेकी १७ वर्षीया छात्रा सुमित्रा परियारको क्रेनको ठक्करबाट घटना स्थलमै मृत्यु भएको हो । घटनापछि स्थानीय आक्रोशित भएका थिए । आक्रोशित स्थानीयको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा आज बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् । ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्या र बम प्रहारमा संलग्न पटेल पक्राउ
पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा करिब २० वर्ष कैद सजाय तोकिएका फरार एक जनालाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २१ पटेलनगर निवासी ४० वर्षीय रवीन्द्र पटेललाई आज जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकबाट पक्राउ गरेको हो । पर्साको महुवन निवासी ४५ वर्षीय कुचन साहलाई २०६४ भदौ ९ मा गोली हानी हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले २०७१ असार १७ गते पटेललाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो । त्यसैबेला देखि पटेल फरार रहेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ९ : ५८ बजे

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक