क्यान्सर जितेर भलिबल खेलाडीबाट अन्तर्राष्ट्रिय रेफ्री | Khabarhub Khabarhub

क्यान्सर जितेर भलिबल खेलाडीबाट अन्तर्राष्ट्रिय रेफ्री



काठमाडौँ : भोजपुरकी चन्द्र बदना राईले ८ कक्षा पढ्दा–पढ्र्दै भलिबल खेल्न सुरु गरिन्। विरेन्सिल प्रतियोगितामा जिल्ला च्याम्पियन भएपछि भलिबलसँगको आत्मीयता झनै बढ्यो । मानसिकरूपले आनन्द प्राप्त गर्न राईले सुरु गरेको खेल उनको जीवनको महत्वपूर्ण पाटो बन्छ भन्ने कल्पना गरेकी थिइनन् ।

भोजपुरबाट सुरु भएको भलिबलको यात्राले राईलाई अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त महिला रेफ्रीका रूपमा विश्वमा चिनाएको छ । यद्यपि, खेलाडीदेखि राष्ट्रिय खेलाडी बन्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रामा भने राईले थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो ।

राईले भलिबल खेल्दा छोरीले खेल्नु पर्छ भन्ने त परै जाओस समाजले छोरा पनि खेलमा लागे बिग्रिन्छ भन्ने सोचाइ थियो । त्यो परिस्थितिमा एक छोरी मान्छे खेलाडीको रूपमा स्थापित हुनु सजिलो थिएन । महिला पुरुष दुवैको खेलमा लाग्नुलाई मुर्खता मानिन्थ्यो । यसकारण पनि खेलकुदमा सहभागी नै कम हुने गर्थ्यो ।

भलिबलसँग नजिकबाट भिजेकी चन्द्र बदना राईको भलिबल खेलाडीदेखि रेफ्रीसम्मको अनुभवः

भलिबलसँगको लगाव

म एसएलसीपछि काठमाडौँ आएँ । मैले भलिबल कता खेलाइन्छ, कता सिकाइन्छ भनेर खोज्न सुरु गरेँ । तर निराशामात्र हात पारेँ । भलिबल तालिम केन्द्र र खेल्ने वातावरण दुवै भेटिनँ । यसकारण थोरै ग्याप पनि भयो।

त्यसपश्चात कलेजस्तरीय भलिबल प्रतियोगितामा भने पुनः नजिकिने अवसर पाएँ । साथै राष्ट्रिय प्रतियोगितामा पनि संलग्नता बढ्दै गयो । समग्र रूपमा भलिबलसँगको आत्मियता पनि बढ्दै गयो ।

भलिबल रेफ्रीतर्फको यात्रा

गाँउठाँउको मान्छे भएपछि पहाडबाट काठमाडौँ आएपश्चात सामाजिक, आर्थिक जस्ता थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो । विंसं २०६२ मा जीवनको सङ्घर्ष जारी नै रहँदा म राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी थिएँ ।

त्यति बेला म साफ गेम्सको प्रारम्भिक चरणमा पनि छनोट भएको थिएँ । एकातिर खेलकुदको यात्रा अर्कातिर पारिवारिक र विद्यार्थी जीवन । जसका कारण तालिमलाई समय दिन असहज हुन थाल्यो । जसका कारण भलिबलसँगको फेरि टाढिनु पर्‍यो ।

भलिबलसँग टाढिनु परे पनि मनमा एउटा असन्तुष्टी र अपुरो भएको भावना भने बाँकी नै रह्यो । चटक्क भलिबलसँगको सम्बन्ध त तोडेँ तर धेरै दिन टाढा भने बस्न सकिनँ । आफू भित्रको खेलाडीलाई भने खेलसँग टाढा राख्न सकिनँ ।

आफ्नो अपूर्णताको भावको पूर्ति गर्न र भलिबलसँग नजिकिनु मैले रेफ्री पदलाई उपयुक्त माध्यम पाएँ । फलस्वरूप विंसं २०६९ मा पोखरामा आयोजना भएको राष्ट्रिय रेफ्री तालिममा सहभागीता जनाए । यसले राष्ट्रिय प्रतियोगितामा अफिसियएटिङ गर्ने ढोका खुल्यो । विस्तारै रेफ्रिङ गर्दैँ जाँदा अर्को अवसर आयो ।

विंसं २०७०–७१ मा थाइल्याण्डमा भएको ईन्टरनेशनल रेफ्री क्यान्डिडेटको तालिम मैले पास गरेँ । औपचारिक रूपमा तालिमको पूर्णताको लागि ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमा अफिसियेटिङ गर्नु आवश्यक थियो । जसको लागि मैले २०७५ मा श्रीलंकाको कोलम्बोमा भएको पुरुषको एसियन भलिबल च्याम्पियनसीपमा सहभागीता जनाएर यस तालिमलाई औपचारिक रूपमा पुरा गरेँ । गत वर्ष सर्टिफिकेट पाएसँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रीको यात्राको सुरुवात भयो ।

खेलाडी नभई रेफ्री भएर राष्ट्रिय खेलमा भाग लिँदाको क्षण

साथीहरू राष्ट्रिय टोलीमा नै खेलिरहेका बेला मैले अफिसिएटीङ गर्ने अवसर पनि पाएँ । त्यसबेला खेलाडीको रूपमा कोर्टमा नभई रेफ्रीको रूपमा उपस्थित थिएँ । सोही क्रममा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण ल्याउँदै थियो । नेपाली महिला खेलाडीले पनि भलिबलमा राम्रो योगदान पुर्‍याए तर समाज भने गुमनाम भएको, महिला भलिबलले उल्खनीय रूपमा फड्को नमारेको देख्दा रेफ्री बन्ने निर्णय ठीक रहेछ भन्ने लाग्यो । आफूले रेफ्रीको स्थानबाट भलिबलमा अबद्ध रहँदा अझैं केही गर्न सकिन्छ कि भन्ने पनि भयो ।

नयाँ भूमिका, नयाँ जिम्मेवारी । खेल्नु र खेलाउनुमा धेरै फरक हुने रहेछ । खेलाडी भएर प्रतियोगितामा भाग लिदाँ खेलमा कसरी राम्रो प्रदर्शन गर्ने कसरी टोलीलाई जिताउने भन्ने सोच हुन्थ्यो । रेफ्री भएर भाग लिँदा कसरी निष्पक्ष रूपमा परिणाम दिन सकिन्छ । व्यक्तिगत रूपले नसोचेर पदीय तरीकाले कसरी सोच्ने भन्ने विषयमा अग्रसर हुन थालेँ ।

नेपालमा रेफ्री बन्नको लागि योग्यता
नीतिगत रूपमा तोकिएर नै योग्यता भनेर टिपोट गरिएको छैन । मुलतः खेलको जानकारी भएको, साथै नियम र भलिबलसम्बन्धी आवश्यक जानकारी भएमा रेफ्री बन्नमा सहज हुन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी भए त झनै उत्तम हुन्छ तर सो नभए पनि रेफ्री बन्न सकिन्छ ।

नेपालमा र विश्वमा रेफ्री गर्दाको फरक
नियम त सबै ठाँउमा समान नै हुन्छ । तर नेपाल भने प्राविधिक र भौतिक रूपमा कमजोरी हुँदा सहजै रूपमा प्रतियोगिता संचालन गर्न कठिनाइ हुने गर्दछ । कहिले कभर्ड हलको अभावमा पनि सम्झौंताअनुरूप खेलाउन पर्दछ । रेफ्रीले नेपालमा सोचे बमोजिमको नतिजा दिन सहज छैन । यस्तै चुनौतीहरू प्रसस्तै हुने गर्छन् । विदेशमा राम्रो नतिजा भने कम संघर्षमा नै पनि निकाल्न सकिन्छ यद्यपि नेपालमा स्थिति चुनौतीपूर्ण छ ।

ओभेरियन क्यान्सरसँगको लडाईं
चुनौतीपूर्ण नै रह्यो । त्यसबेला सबै स्थितिमा मनोविज्ञान बलियो बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो सोचाईले महत्पूर्ण भूमिका खेल्यो । यो स्वास्थ्य अवस्थाले मेरो गतिलाई विस्तार त गर्‍यो तर मेरो मनोबललाई भने डगमगाउन सकेन । शारीरिक रूपले कमजोर बनायो, पेशागत रूपमा उतारचढाव त आयो तर यसले मलाई निराश बनाउन सकेन। यसलाई मैले मेरो जीवनको एउटा अनुभवको रूपमा नै लिएँ । कमजोरीको रूपमा लिइनँ ।

साथै समयमा नै यो रोग देखापरेकोले उपचार पनि समयमा नै भयो । विंसं २०७७ आसोज महिनामा क्यान्सर भएको कुरा थाहा पाएँ । कोभिड–१९ को अवस्थामा लकडाउन हुँदा भने शल्येक्रियाको निम्ति अलिक पर्खनु नै पर्‍यो । खोप सबैको लागि उपलब्ध भइसकेको थिएन । कोभिडले कस्तो रूप लिन्छ भन्ने पनि कसैलाई थाहा थिएन । तसर्थ शल्यक्रियाको लागि भने मंसिर २१ सम्म कुर्नु पर्‍यो । तर, खेलाडी पनि भएकोले आफूभित्रको फाइटिङ स्पिरिटले मलाई रिकभर हुनु र खेलकुदमा पुनःआगमनको लागि निकै सहयोग गर्‍यो ।

यस्तै, आर्थिक रूपले समस्या त भयो । मध्यमवर्गीय परिवार भएकोले संचय गर्छु भन्दा पनि गर्न नसक्ने स्थिति हुने गर्छ । साथीभाइले र विभिन्न संघसंस्थाको सहयोगले नै आर्थिक संकटको सामना गर्न मद्दत गर्‍यो । पैंसा कमाउन नसके पनि मान्छे भने कमाएको रहेछु जस्तो लाग्यो । आफ्नो क्षमता अनुरूप सहयोगी हातका कारणले नै गर्दा आज म स्वस्थ छु, खुसी छु ।

नेपालमा भलिबल रेफ्रीको अवस्था

एकदम्मै नाजुक स्थिति छ । जुन सुकै संस्थाको विकासको लागि निति, रणनीति वा कार्ययोजनाको आवश्यकता पर्दछ । यो भन्दैमा हाम्रो नेपाल भलिबल संघ राम्रो छैन भन्न खोजेको पनि होइन । तर हाम्रो धरातल कस्तो छ भने परापूर्वक कालदेखि जसरी चल्दै आएको छ त्यसरी नै अगाडि बढिरहेकोजस्तो छ । समयले माग गरेअनुसारको वैज्ञानिक विधिलाई भने अझै अपनाउन बाँकी नै छ । वैज्ञानिक विधिको लागि केही टोली अगाडि बढे पनि विश्वस्त ढाँचा अझैं बन्न सकेको छैन । फलस्वरूप यसको असर रेफ्रीमा पनि देखिन्छ ।

रेफ्रीले व्यक्तिगत लगानीमा अन्तर्राष्ट्रिय प्रशिक्षणहरू गरिरहेका छौं । यो एकदम्मै दुःखद कुरा हो । विदेशी फेडेरेसनले राष्ट्रिय लगानीमा तालिम प्रदान गर्नेलगायतको अन्य खर्चसमेत प्रदान गर्ने गर्दछन् । जबकि हामीले डलरमा तिरेर तालिम लिन्छौँ । अर्को समस्या भनेको नेपालले अफिसियल प्रतियोगितामा थोरै भाग लिने भएकोले करिब ४ रेफ्री अन्तर्राष्ट्रिय तालिम पूर्ण गर्नु अझैं पर्खाईंमा छन् । अन्तर्राष्ट्रिय रेफ्री बन्नलाई यस्तो चुनौतीको सामाना गर्नु परिरहेको अवस्था छ । जसमा आर्थिक रूपले धेरैलाई पिरोल्ने गरेको छ ।

कसैले सहयोग गर्दिन्छ अनि अवस्थामा सुधार आउँछ भनेर बस्नुभन्दा यसको लागि हामी आफैँ अग्रसर हुनु पर्छ । सुरुवात हामीबाट नै हुनुपर्छ । सबैले सबै क्षेत्रबाट हुन्छ कि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट आर्थिक सहयोगको व्यवस्थाको लागि पनि पहल गर्न सकिन्छ । विभिन्न आर्थिक उत्पाक्त्वा बढाउने कार्यक्रमको पनि थालनी गर्नुपर्दछ ।

नेपालमा महिला भलिबल रेफ्रीको संख्या
महिला हुँदै नहुनु भएको होइन । नेपालमा महिला र पुरुष गरी करिब १ सय ३० जना राष्ट्रिय रेफ्रीहरू छन् । जसमध्ये करिब ३–४ जना महिला रेफ्री मात्र सक्रिय छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त महिला रेफ्री भने म मात्र छु । कति महिला रेफ्री खेल्दै पनि हुनुहुन्छ । कति महिला घरायसी जीवन व्यतित गरिरहेका छन् । जति महिला सहभागीतामा वृद्धि हुन्छ भनेर सोचिएको थियो त्यस्तो भने भएको छैन ।

यसको पछाडि थुप्रै कारण रहेका छन् । अब नेपालमा महिलाको अवस्था पुरुषको भन्दा धेरै फरक हुन्छ । प्राय महिला नेपालमा शैक्षिक र आर्थिक रूपमा सबल भइसकेका छैनन् । कतिले बुबा, कतिले दाइहरूको आर्थिक सहयोगमा पढिरहेका छन् । कति भने श्रीमानमा पनि आर्थिक रूपले निर्भर हुन्छन् । यसले महिलाको व्यक्तिगत निर्णय लिने पाटोमा पनि असर गर्दछ । महिला आत्मनिर्भर हुनुमा पनि समस्या आउने गर्दछ ।

साथै समाजमा भित्री रूपमा अझै पनि महिला शोषित छन् । अझै पनि महिलाको निर्णयको क्षमतामा पनि प्रश्न उठाउने गरेको पाइन्छ । कति ठाँउमा महिला रेफ्रीले धेरै आलोचना पनि खेप्नुपर्छ । तर, आलोचनालाई शिक्षाको पाटोको रूपमा नलिँदा पनि महिला रेफ्रीको सहभागीतामा असर परेको छ ।

महिलालाई अझैं पनि टीमवर्कमा समान रूपमा समर्थन गरेको पाईदैन । तर, विस्तारै परिवर्तन भने आउँदै छ । नयाँ शिक्षित बहिनीहरू पनि सहभागीतामा विस्तारै वृद्धि हुँदैछ । यसले भविष्यमा महिला रेफ्रीको अवस्थामा पनि सुधार हुने आशा गर्न सकिन्छ ।

नयाँ पुस्ताका महिला रेफ्री
तालिम मात्र प्राप्त गरेर हुँदैन । तालिमपश्चात आत्मविश्वास पनि उच्च हुनुपर्छ । यो मेरो क्षेत्र हो । यसमा मलाई गर्नु छ भनेर अगाडि आउनु हुन्छ। यो छिटो निर्णय गर्ने कुरा हो । कसैसँग सल्लाह गरेर गर्ने कुरा होइन । सबैले याद गर्ने पेशा हो । धेरै आलोचना सुन्नु पर्छ । प्रत्यक्ष रूपमा हुने नहुने कुरा सुन्नु पर्छ ।

यस्तो सुन्नु पर्छ भनेर डराउने व्यवहार पनि देख्ने गरिन्छ । साथै प्राय जुनियर रेफ्री अलिक लजालु स्वाभावका हुने गर्दछन् । अभिव्यक्ति नदिने स्वभावका पनि हुन्छन् । तर, यस्तो स्थितिमा आफूलाई बलियो बनाएर अगाडि आउनु पर्दछ ।

यस्तो वातावरणमा लड्ने जुध्ने गर्नुपर्छ तर अत्याधिक महिला रेफ्री प्रारम्भिक चरणमा भाग्ने गर्छन् । यो भाग्ने कारणले समस्या आउँछ । नयाँ तालिम लिएका महिलालाई के भन्छु भने अफिसियएटीङमा आउने समस्याको निराकरन गर्न म सधैँ तपाईंहरूसँग नै हुन्छ । एउटा राम्रो टीमवर्कको लागि सधैं अगाडि बढ्नुस ।

अवस्थामा सुधार पक्कै आउँछ । साथै, नेपाल भलिबल संघले विभिन्न कोटाहरू प्रदान गर्ने गर्छ। संघसँग सम्पर्कमा आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीको तालिमको बारेमा परामार्श लिएर पनि संख्या बढाउन सकिन्छ । (कुराकानीमा आधारित)

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : २३ बजे

भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं– भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि