दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निर्वाचन आयोगको निर्णयप्रति अनेरास्ववियुको आपत्ति
निर्वाचन आयोगको निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्वार बनाउनुपर्ने बाध्यकारी व्यवस्था संशोधन गरेको थियो । उक्त निर्णयप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।

नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल 
आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल हुने भएको छ । आज थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै आजै एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । यसैबीच एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने आधार रहेको भन्दै औचित्य र आवश्यकता आधारमा मात्र तालमेल हुनुपर्ने बताइन् ।

नेकपा एमाले मस्यौदा कार्यदलले भोलि घोषणापत्रलाई अन्तिम रूप दिने
नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा आज बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः भोलि अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रुपमा छलफल भएको उनले बताए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो । घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिवद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षमः ओली
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए । यस्तै ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे । 

नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा मन्त्रीबाट हटाउन खोजियोः मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको दाबी गरेका छन् । आज १७ औं फेवा नव वर्ष महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री आलेले विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको दाबी गरे । यस्तै उनले नारायणहिटी र पशुपति धर्मशालाको दुइटा मुद्दा सरकारले जितिसके पनि आफूले सहयोग नपाएको गुनासो गरे । वडाको मुचुल्का बनाउन जाँदा प्रहरी प्रशासन समयमा नपुग्ने भन्दै आलेले मेरै मन्त्रालयका कर्मचारी पनि को कहाँ मिलेका छन् थाहै नभएको उल्लेख गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त 
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बुझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजाले शाहले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता व्यक्त गरे । नेपालीको घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

राष्ट्रिय जनमोर्चाले गर्‍यो स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक
राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ नारा दिएर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ ।गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसी नियुक्त
सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआईजी केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर गत सोमबार बिदा भएका थिए । केसीले आगामी वैशाख १८ सम्म १९ दिनका लागि  सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन् । सो पछि ३० वर्षे सेवा अवधिका कारण केसीले पनि अवकाश पाउनेछन् ।

वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस
वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए । मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उहाँ तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमालेले एमालेमा नवप्रवेशी नेताहरूलाई धमाधम पालिका प्रमुखहरूमा उम्मेदवार बनाएको छ । 

गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।अख्तियारले गोदावरी नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालीन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध ७४ लाख ४१ हजार रुपैयाँ बिगो सहित माग दाबीसहित मुद्दा दायर गरेको हो ।

ओखलढुंगामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
ओखलढुंगामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा आज बिहान जिप दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा १७ च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरी कर्मचारीको मृत्यु भएको हो । बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् ।

करारमा नियुक्त भएका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप निर्देशन दिएको छ । आज स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो ।कोरोनाको उपचारका लागि स्वीकृत दरबन्दी अनुसार पदरिक्त भएमा जनशक्ति व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरूको एक चौथाई अर्थात २५ प्रतिशत सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने सचिवस्तरको निर्णय भएको मन्त्रालयले जनाएको छ । 

दक्षिण सुडान र बेलिजसँग जोडियो नेपालको कूटनीतिक सम्बन्ध
नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् । । उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । 

लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेमा आज हरियाली 
लगातार ओरालो लागेको शेयर बजार परिसुचक नेप्सेमा आज हरियाली छाएको छ । नेप्से आज ३० दशमलव २४ अकंले बढेर २ हजार ४ सय १४ दशमलव १५ विन्दुमा पुगेको हो । कारोबार रकममा पनि आज सुधार आएको छ । कुल ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर आज १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १ सय ४ रुपैयाँमा कारोबार भएको छ  । आज सबै समुहको शेयर बढेको छ । आज नेस्डो समृद्धिको शेयर मूल्य १० प्रतिशतले र आरएमडीसीको शेयर झण्डै ९ प्रतिशतले वृद्धि भएको छ  । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक कारोबार रकमका आधारमा क्रमश अगाडि रहेका छन् । 

रुकुम पश्चिममा एक महिलाको निसास्सिएर मृत्यु
रुकुम पश्चिममा एक महिलाको निसास्सिएर मृत्यु भएको छ ।मुसीकोट नगरपालिकामा ६, को कानेबाङमा ६० वर्षीया पम्फा बोहराको आगो बालेर सुतेकोले धुँवामा निसास्सिएर आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । यता अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नमुना कुमाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । मंगलसेन नगरपालिका–६ का ५२ वर्षिय वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । 

थप १९ जनामा कोरोना संक्रमण, ४९ जना निको
पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । आज ४९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५२० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : २५ बजे

पृथ्वी जयन्तीमा राप्रपाको र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला – जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ

आलु खेतीमा व्यस्त किसान (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुन्दर नदी