काठमाडौँ– निकिता चाण्डकले सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् ।
सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्यो । मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गर्ने चर्चा भयो ।
तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो । त्यसपछि उनले डेब्यु गरिन् फिल्म ‘साङ्लो’ बाट ।
तर , डेब्यु फिल्ममै सफलता नपाएकी निकितालाई अर्को फिल्म पाउन मुस्किल भयो । अर्को फिल्मका लागि लामो समयसम्म पर्खाइमा रहेकी निकिता अन्तत: टेलिभिजन शो मा आउने भएकी छिन् । उनी ‘स्पिट्स भिल्ला’ नामक टेलिभिजन शो मा होस्ट बन्दैछिन् ।
त्यसो त निकिता अगाडिका मिस नेपालहरुको करियर पनि फिल्म वा टिभी होस्टमै देखिएको छ । त्यही बाटोमा निकिता पनि देखिएकी छिन् । तर, फिल्ममा निकिताको प्रयासले मूर्तरुप नआएपछि टेलिभिजनको बाटो रोजेकी हुन् । अब, हेरौँ फिल्ममा सफल नभएकी निकिताको करियर टिभीले कसरी अगाडि बढाउँछ ।
प्रतिक्रिया