अडियो सुन्नुहोस् :
युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलिसकेको छैन’
रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् ।
एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए ।
‘मेले जहिल्यै पनि भन्दै आइरहेको छु, जबसम्म हामी यहीँ छौँ, तबसम्म मारिउपोल युक्रेनकै नियन्त्रणमा रहनेछ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल जितेको दाबी गरेका थिए । मारिउपोलका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा रहेपनि एजोभस्तल औद्योगिक क्षेत्र भने अझै युक्रेनी फौजले रुसी आक्रमणको प्रतिकार गरिरहेको बताइएको छ ।
बिहीबार रक्षामन्त्री सर्गेई सोइगुसँगको भेटमा पुटिनले एजोभस्तलमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।
उनले सोइगुलाई एजोभस्तललाई ‘झिँगा समेत उम्किन नसक्नेगरी’ घेराबन्दीलाई अझ बलियो बनाउन निर्देशन दिएका थिए ।
मारिउपोलमा सामूहिक चिहानको पहिचान
युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा सामूहिक चिहानको पहिचान भएको छ । भू उपग्रहमार्फत् लिइएको तस्वीरहरूबाट मारिउपोलमा २ सयभन्दा धेरै चिहान फेला परेको हो ।
भूउपग्रहमार्फत् तस्वीर खिच्दै आएको अमेरिकी कम्पनी मक्सारले मारिउपोलमा सामूहिक चिहानको पहिचान गरेको बीबीसीले जनाएको छ ।
मारिउपोल शहरबाट २० किलोमिटरको दूरीमा रहेको मानहुस गाउँमा फेला परेको जनाइएको छ । चिहानका ८५ मिटर लामा चार पङ्क्तिको पहिचान गरिएको बीबीसीले जनाएको हो ।
मक्सारका अनुसार मार्च महिनाको अन्त्यबाट चिहान क्षेत्रको विस्तार भएको देखिएको छ । स्थानीय युक्रेनी अधिकारीहरूले रुसी फौजले सर्वसाधारणको हत्या गरी चिहानमा गाड्ने गरेको आरोप लगाउँदै आएका छन् ।
यसअघि मारिउपोल शहरको नगर परिषदले विज्ञप्ति जारी गर्दै शहरमा रुसी फौजले मानिसहरूको हत्या गरी गाड्ने गरेको आरोप लगाएको थियो ।
शहरका मेयर भादिम बोइचेन्कोका अनुसार शहरमा दशौँ हजार सर्वसाधारणको मारिएका छन् । यसबारे रुसी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।
युक्रेनलाई थप ८० करोड डलर सैन्य सहयोग गर्ने बाइडेनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।
यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण (ड्रोन) समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ ।
‘उनीहरू अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरूले युक्रेनलाई सहयोग गर्न ‘सकेजति चाँडो’ काम गरिरहेको समेत बताए ।
यो सहयोग युक्रेनलाई सहयोग गर्ने सम्बन्धी कोषबाट दिइने र यसका लागि कंग्रेससँग थप सहयोगका लागि प्रस्ताव गरिने समेत उनले बताए । ‘यो निर्णय भइरहेको छ । मैले रक्षा मन्त्रालयललाई प्रस्ताव अघि बढाउन भनेको छु ।’ उनले भने ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले युक्रेनलाई गरिने थप सहयोगबारे छिटोमा अर्को साता प्रक्रिया अघि बढाइने हाउसकी सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अमेरिकी कांग्रेसमा युक्रेनलाई सहयोग गर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट प्रतिनिधिहरू लगभग एकमत रहेको जनाइएको छ ।
यसबाहेक उनले रुससँग सम्बन्धित पानीजहाजलाई अमेरिकी बन्दरगाहहरूमा प्रवेश नदिइने योजना पनि घोषणा गरे । यसबाहेक उनको घोषणामा रुसी आक्रमणबाट विस्थापित एवम् शरणार्थी भएकाहरूलाई अमेरिकामा अस्थायी बसोबासका लागि पनि नयाँ कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
यसअघि गत साता पनि राष्ट्रपति बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको यस्तै सैनिक सहयोगको घोषणा गरेका थिए ।
युक्रेनी फौजद्वारा बेलायतमा तालिम सुरु
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।
‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले भने, ‘हामी यो युद्ध अझ नचर्कियोस भन्नेमा सतर्क छौँ तर अहिले पुटिनको सत्ताका कदमहरू यसलाई अझ चर्काउने किसिमका छन् ।’
गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।
यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।
युक्रेन सरकारका प्रतिनिधिमण्डलले केही समयअघि बेलायतको सलिसबरीको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई सैनिक सामग्री देखाइएको थियो भने युक्रेनलाई अझ बढी सहायता कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।
बेलायतले सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुलुकमा गाभेयता युक्रेनी फौजलाई तालिम दिँदै आएको छ ।
किम जोङ उनद्वारा मुन जाए इनलाई धन्यवाद ज्ञापन
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो ।
‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि किम जोङ उनले मुन जाए इनको प्रशंसा गर्नु भएको छ ।’ केसीएनएले जनाएको छ ।
केसीएनएले दुई नेताबीचको पत्राचारले ‘गहिरो विश्वासको अभिव्यक्ति’ को रुपमा चित्रित गरेको छ ।
मुन जाए इनले दक्षिण कोरियाली राष्ट्रपतिको पदबाट बिदा लिन तीन साता रहेका बेला दुई नेताबीच पत्राचार भएको खुलासा भएको हो ।
मुन जाए इनको स्थानमा उत्तरप्रति अनुदार विचार राख्ने युन सुक इयोलले चाँडै दक्षिण कोरियाको नयाँ राष्ट्रपति जिम्मेवारी सम्हाल्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
किम जोङ उनले पत्राचार गरेको मुन जाए इनको कार्यालयले पनि पुष्टि गरेको जनाइएको छ । मुनले गत बुधबार उत्तर कोरियाली सर्वोच्च नेतालाई पत्र पठाएको जनाइएको छ ।
उक्त पत्रमा राष्ट्रपति मुनले सन् २०१८ मा भएको शिखर वार्ताका आधारमा कोरियाली एकताका लागि तयार रहेको प्रतिबद्धता प्रकट गरेको जनाएका थिए ।
पत्रमा मुनले वार्ताका माध्यमबाट ‘आक्रामक युग’ को अन्य हुनुपर्ने र अन्तर कोरियाली वार्ता अर्को प्रशासनको जिम्मेवारी रहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ ।
बिहीबार किमले मुनलाई जवाफी पत्र पठाएको र उक्त पत्रमा उनीहरूबीच भएको ‘ऐतिहासिक’ सम्मेलनहरूबाट जनताले ‘भविष्यको आशा’ गरेको बताए ।
उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किम दक्षिण कोरियामा रहेका बेला दुई नेताबीच पत्राचार भएको हो ।
युक्रेनमा ६० अर्ब डलरको भौतिक क्षति भएको विश्व बैंकको भनाइ
युक्रेनमा जारी रुसी आक्रमणका कारण ६० अर्ब डलर जतिको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।
यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनलाई सहयोगबारे आयोजना गरिएको उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए । ‘यी सबलाई पुन निर्माण गर्न त्यसपछि हामीलाई खर्बौ डलर लाग्नेछ ।’ उनले भने ।
उनले विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरूबाट अलग गर्नुपर्ने बताए । उनले सबै मुलुकहरूले ‘रुससँगको सम्बन्ध तोड्न तत्काल तयार रहनुपर्ने’ समेत बताए ।
यसबाहेक उनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका सबै मुलुकहरूले रुसी सम्पत्तिको जफत गरी युक्रेनको पुन निर्माणका लागि खर्च गर्न सहयोग गर्नुपर्ने बताएको रोयटर्सले जनाएको छ ।
मोदीद्वारा जोनसनको स्वागत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको थियो ।
‘यो भारत–बेलायत मित्रता र सबैभन्दा ठूलो र सबैभन्दा पुरानो दुई प्रजातन्त्र बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थियो जुन अहिले छ।’ जोनसनले भने ।
बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इण्डो प्यासिफिक सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन बिहीबार गुजरात पुगेका थिए ।
‘उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रो शानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन । मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईंको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो’ जोनसनले भने ।
यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मोदीले जम्मु कश्मीरको भ्रमण गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको जम्मु कश्मीरको भ्रमण गर्ने भएका छन् ।
भारत सरकारले सन् २०१९ मा जम्मु कश्मीरलाई सीमित स्वशासन दिने धारा ३७० खारेज गरेयता प्रधानमन्त्री मोदीले पहिलो पटक जम्मु कश्मीरको भ्रमण गर्न लागेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले आइतबार जम्मु कश्मीरमा एक सार्वजनिक समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
जम्मुको पाल्ली गाउँमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाद्वारा आयोजित कार्यक्रमलाई मोदीले सम्बोधन गर्न लागेको बताइएको छ ।
मोदीको भ्रमणअघि जम्मु कश्मीरको सुरक्षा व्यवस्था उच्च पारिएको एएफपीले जनाएको छ ।
तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध
अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ ।
बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरूलाई बिगारेको’ भन्दै टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।
यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
यद्यपि यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही खुलाइएको छैन ।गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरूमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जी र टिकटक अत्यन्त लोकप्रिय बन्दै गएको जनाइएको छ ।
प्रतिक्रिया