काठमाडौँ जस्ता मुख्य सहरको फेरिदो अवस्थाले राजधानीमै बस्ने विज्ञ, व्यक्तित्व र संरक्षणकर्मी चिन्तित हुन थालेका छन् । नेताहरू केवल भोटका लागि मनलाग्दी बोल्ने तर कार्यकाल सकिँदा केही नगरी बाहिरिने अवस्थाले पनि विज्ञहरूलाई चिन्तित तुल्याएको छ । ऐतिहासिक र कलाले सम्पन्न काठमाडौँको स्वरुप बिग्रदै जाँदा हरकोही चिन्तित हुनु पनि स्वभाविक हो । तर नयाँ नयाँ नेता र चुनावमा उठेका उम्मेदवारले कम्तीमा योजना पनि राम्ररी ल्याउन नसक्दा विज्ञहरू झन् चिन्तित छन्। यस्तै चिन्ता गर्नेमध्येका एक व्यक्तित्व हुन्, शिक्षाविद् केदारभक्त माथेमा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमा जापानका लागि पूर्व नेपाली राजदूत समेत हुन् । शिक्षाविद्का रुपमा परिचित माथेमा राजनीतिक, सांस्कृतिक र वातावरणको विषयमा पनि चिन्तन गर्ने व्यक्तित्व हुन् । काठमाडौँको विकास, राजनीतिक खिचातानी र सांस्कृतिक महत्वबारे राम्रो इतिहास बोकेका माथेमासँग खबरहबका लागि डा. तारालाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको बाल्यकाल कस्तो थियो ?
मेरो घर सानेपा हो । त्यहाँबाट बागमती तरेपछि ढुङ्गाले छापेको थियो । बाटोको दुवै छेउमा कल्की फूल फुल्दथ्यो । ठाउँठाउँमा पोखरी थिए । कमल फुलिरहेको हुन्थ्यो । टाङटुङ आवाज मन्दिरबाट आउथ्यो । सबै पैदल यात्री मात्र हुन्थे । त्यो बेलाको काठमाडौँ वास्तवमा स्वर्णभूमि जस्तै थियो ।
समयसँगै सबै परिवर्तन हुन्छ । तर यो परिवर्तन सन्तोषजनक भएन है ?
हामीले अरु देशहरूबाट धेरै कुराहरू सिक्नु पर्दछ । हामीले मोटर बाटो मात्र बनायौँ । मान्छेहरू हिड्ने र साइकल कुदाउने सडक बनाएनौँ । धेरै वर्ष पुराना रुखहरू काट्दा कसैले आवाज उठाएनन् । तर अरु देशमा भए नागरिकहरूले आवज उठाइ सक्थे ।
पश्चिमा विकासको मोडलहरू हाम्रा सहरमा धेरै प्रयोग भयो भन्न खोज्नु भएको ?
पुराना सोचाइहरूलाई त्याग्नु पर्दछ । मोटर हिड्ने बाटो सानो बनाएको छ । साइकल र फुटपाथ ठूलो बनाएको छ । पहिला आधा घण्टाको बाटो अफिस आउँदा ड्राइभ गर्दथे । अहिले अफिस भन्दा १० मिनेट नजिक बस्छन् । हिँडेर जाने र आउने अथवा साइक्लिङ गर्ने वातावरण नै छैन । किनकि मोटर बाइकले दुषित गरेको छ ।
बाल्यकालको साइकलसँगको अनुभव कस्तो छ ?
सबै भन्दा धनी मानिसहरूले मात्र साइकल चलाउँथे । त्यसकारण धेरै थिएन । मैंले साइकल सिक्दा ४० वर्षको थिएँ । त्यसबेला पनि सानेपाबाट ठमेलसम्म छोरालाई पछाडि राखेर हिँड्थे ।
त्यो बेलाको पैदल यात्रा कस्तो हुन्थ्यो ?
मैंले कृति कलेजमा पढाउन जाँदा सानेपाबाट हिँड्दै लगन, न्युरोड त्यहाँबाट माहाङकाल थान गएर पुगिन्थ्यो । गफ गर्दै ठाउँ ठाउँमा मन्दिर हुन्थ्यो । फर्किंदा पनि त्यसगरी फर्किन्थ्यो ।
कीर्तिपुरबाट दरबारमार्ग आइपुग्न कारमा झन्डै २ घण्टा लाग्छ । हिंडेर १ घण्टा लाग्छ । तर साइकलमा २० मनेट लाग्छ भने मान्छेहरू किन कार चढ्छन् ?
सरकारले साच्चै भन्ने हो भने जनताको सुविधाको बारेमा सोचेको छैन । खाली मोटर बाइक सिकौँ र पैसा कमाऔँ भन्ने मात्र सोचेको छ ।
हामी र हाम्रो नीति निमार्ताले यो कुरा बुझ्दैनन् ?
उहाँहरूले एकदमै ठिक बाटो राख्नु भएको छ । आज भन्दा २५ वर्ष अगाडि अर्थमन्त्रालयको प्रि–बजेट छलफलमा मैंले कुरा निकालेको थिएँ । तपाईंहरूले कार र मोटर बाइकहरूलाई मात्र प्रमोट गर्नुभयो । सार्वजनिक बसहरू राखेको भए सानो–सानो कार र मोटर बाइकहरूको आवश्यकता पर्दैनथ्यो । नीति निर्माणको तहमा बस्नेहरू धेरै हिँड्नु भएको छ । ठाउँठाउँ देख्नु भएको छ । तर काठमाडौँलाई बिर्गानु भयो ।
नेपालको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय जहाँ अहिले पनि ५ लाख बढी विद्यार्थी छन् । १६ हजार झन्डै अध्यापकहरु छन् । त्यति ठूलो संस्थाको उपकुलपति हुनुभयो । जुन नीति, निर्माता जन्माउने, प्रभाव पार्ने ठाउँ हो । प्राध्यापकहरू र उपकुलपतिहरूले पनि बाटो बिराउनु भएको हो ?
कुनै सम्पदा बिग्रिँदा होस् या बिगार्दा आवाज उठाउँदैन । त्यसैले हाम्रो प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नुपर्छ भन्ने विषय पढाउने कुरामानै हाम्रो एउटा पुस्तकमा मात्र सीमित भयो कि भन्ने लाग्छ ।
हामीले पढेका कुराहरूमा पछाडि पर्यौं कि, व्यवहारिक पढाइमा केन्द्रित भएनौँ कि भन्ने विषयमा पहिला पनि खिन्नता बोध भएको थियो कि अहिले मात्र ?
हामीले जे पढाए पनि आफ्नो देशसँग सम्बन्धित हुन पर्दछ । अरुलाई चिनाउनुको लागि पहिला त आफूलाई चिनाउन पर्दछ । त्यो नभएर कोर्ष बुकमा मात्र सीमित भएको हो कि ? जति छलफल हुन पर्ने हो त्यो भएन कि ? यसलाई मिलाउनको लागि परीक्षा प्रणालीलाई सच्याउनु पर्ने हो कि ? पढाएको कुराहरू सम्झेर लेख्ने प्रणाली छ । आफ्नो विचार पोख्न सक्ने र समस्यालाई सुल्झाउने कुरा भन्ने सिकाएनौँ ।
हिँडेर १५ मिनेटमा पुग्ने ठाउँ ३ घण्टा लगाएर कारमा चढेर जानु हुँदैन भन्ने कुरा बुझाउन के गर्नु पर्ला ?
जापानमा एकचोटी टोकियो मेट्रो पोलिसीको गभर्नरले हामीलाई बोलाएको थियो । त्यसको तल भनिएको थियो भने तपाईंहरूले सक्नुहुन्छ भने सार्वजनिक यातायात प्रयोग गर्नुहोला । हामी पहिलादेखि नै आयातमा निर्भर भयौँ । यसले सजिलैसँग मोटर कारहरू ल्यायो । त्यसमा हाम्रो बानी बस्यो । हामी भारत भन्दा पनि बिग्रियौँ ।
गौतम वुद्धले ‘सबैभन्दा बढी दुःख गर, दुःखमा नै वुद्धत्व प्राप्त ज्ञान प्राप्त हुन्छ’ भनेका छन् । हामी त्यतातिर मतलबै गर्दैनौं है ?
गाउँघरमा हुर्केका बच्चाहरूले धेरै जिम्मेवारीहरू बोकेर आएको हुन्छ । त्यो पनि शिक्षा हो । तर हामी कहाँ कक्षामा गएर बसेपछि मात्र हुन्छ भनिन्छ ।
उपल्लो ओहोदाका मान्छेहरूले साइकल चडेको याद छ ?
पहिला त साइकलभन्दा पनि साझा बसको प्रयोग गरिन्थ्यो । त्योभन्दा पनि धेरै त हिँडेर नै आवतजावत गर्ने गरिन्थ्यो ।
स्थानीय तहको चुनाव नजिक छ । भोट कसलाई दिने, कसरी दिने र कस्तो नेतालाई दिने ?
जसले पार्क बनाउँछ । रूख रोप्छ । हिँड्नलाई ठाउँ बनाउँछ । शान्तिपूर्ण सहर बनाउँछ । त्यस्तो मानिसलाई भोट दिनु पर्दछ ।
काठमाडौँजस्तो सहर प्रदुषणमुक्त, ध्वनीमुक्त, कार वा बाइकमुक्त बनाउन सकिएला त ?
माथिका मान्छेहरूको सहमति चाहियो । सार्वजनिक यातायात राम्रो आउनु पर्यो । त्यसको लागि राम्रो योजनाहरू हुनुपर्यो । सार्वजनिक यातायात राम्रो भयो भने मोटर, कारहरू कम हुन्छ । यो सम्भव छ । एउटा राम्रो नेता संकल्प लिएर बनाउँछु भनेर आयो भने सक्छ ।
उम्मेदवारहरू कस्तो विचार बोकेर भोट माग्न हिँडे हुन्थ्यो जस्तो लाग्छ ?
उहाँहरूले म भवन बनाउँछु भनेर होइन, बुढाबुढी हिँड्ने बाटो फटाफट बनाउँछु, रूख रोप्छु । सडकमा रहेका अशक्त/अपाङलाई व्यवस्थापन गर्छु । बाटोमा रहेका कुकुरहरूलाई नियन्त्रण गर्छु भनेर आइदिए हुन्थ्यो ।
प्रतिक्रिया